s

राहतको सट्टा रोजगारी

खगेन्द्र अधिकारी   

ताप्लेजुङ,- लकडाउनका कारण रोजगारी गुमेर छाक टार्न समस्या भएका परिवारलाई विभिन्न स्थानीय तहले राहत वितरण गरिरहेका बेला ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले भने राहतको सट्टा रोजगारी दिएको छ ।

रोजगारविहीन भई राहत पाउन आवेदन दिएका गाउँपालिकाभरिका सात सय ३३ जनालाई गाउँपालिकाले रोजगारी दिएर त्यसबापत दैनिक श्रममूल्य वितरण गरिरहेको हो । सातवटा वडा रहेको सिदिङ्वा गाउँपालिकाका प्रत्येक वडामा रोजगार श्रममूल्यबापत प्रति वडा तीन लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार कुल २१ लाख रुपैयाँको बजेटबाट गााउँपालिकाभित्र ६ वटा योजना छानिएका छन् । लकडाउनका कारण रोजगारी गुमेका सदस्यले तिनै योजनामा श्रम खर्चन्छन् र श्रममूल्य लिने गर्छन् । लकडाउनका कारण रोजगारविहीन परिवारले रोजगारी पनि पाउने, गाउँपालिकाभित्रका पूर्वाधारका काम पनि सञ्चालन हुने र रोजगारी गुमेको नाममा अनधिकृत सदस्यबाट राहतको दुरुपयोग हुने सम्भावना पनि नहुने हुँदा गाउँपालिकाले यस्तो नीति अवलम्बन गरेको प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले बताए । 

प्रभावित परिवारले श्रम खर्चिएबापत पाउने श्रममूल्य वितरणले उनीहरूको पौरख र पसिनाको मिहिनेत देखिने भएकाले गाउँपालिका राहतको सट्टा रोजगारी दिने निष्कर्षमा पुगेको गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताए । ‘विकास निर्माणका काम पनि हुने र श्रमका आधारमा मूल्य वितरण हुँदा श्रमिकलाई पनि आत्मनिर्भर महसुस हुने देखेर हामीले यस्तो निर्णय गरेका हौं,’ उनले भने । प्रमुख प्रशासकीय अधिकृत लिङ्देनका अनुसार कालिखोला र साब्लाखुबाट समान एक सय १०– एक सय १० जना, सादेवाबाट दुई सय ३० जना, आङ्खोपबाट ६६ जना, लिम्बूदिनबाट ७० जना, मेहेलेबाट ६० जना र  सुरुम्खिमबाट ८७ जनाले रोजगारी गुमेको भन्दै राहतका लागि आवेदन दिएका थिए । सोही आधारमा उनीहरूलाई नजिक र पायक पर्ने स्थानमा भौतिक दूरीसमेत कायम हुने गरी रोजगारीमा लगाइएको लिङ्देनले बताए । 

गाउँपालिकाका विभिन्न वडामा जाने गोरेटो र घोरेटो निर्माणका लागि १२ लाख ४५ हजार रुपैयाँ बजेट छ । त्यहाँ चार सय ६९ जना श्रमिक कार्यरत छन् । यस्तै कुलो मर्मतका लागि विनियोजित ७५ हजार रुपैयाँमा ६३ जना, एक लाख ५० हजार रुपैयाँ बजेट भएको आर्यघाट जाने बाटो मर्मतका लागि ५५ जना, ३० हजार बजेट रहेको सडकको पानी कटाउने तथा ढुंगा फुटाउने कार्यका लागि २० जना, तीन लाख बजेट रहेको खेलमैदान निर्माण तथा विस्तार कार्यका लागि ६६ जना र तीन लाख रुपैयाँ नै बजेट रहेको सडकको नाली निर्माण, ग्राभेल र सोलिङ कार्यका लागि ६० जना श्रमिक कार्यरत रहेको गाउँपालिकाले जनाएको छ । रोकिएका विकास निर्माणका काम पनि हुने र रोजगारी गुमेका परिवारले राहतबापत श्रममूल्य पनि पाउने भएकाले गाउँपालिकाको यस्तो योजना प्रभावकारी पाइएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । यसले राहतमा आश्रित परिवारको परनिर्भरता हटाएको भन्दै मादेनले सिदिङ्वा गाउँपालिकाको अभियान अन्यत्र पनि विस्तार हुन आवश्यक रहेको बताए ।

Published on: 9 May 2020 | Nagarik

Link

Back to list

;