s

राहतका लागि मजदुर भेला

राजन गाउँले 

सिन्धुली : कमलामाई नगरपालिका ५ मधुटारमा शनिबार तीन सय भन्दा बढी व्यक्ति एकैपटक भेला भए। उनीहरुमा कोरोना भाईरस (कोभिड १९) र लकडाउनको कुनै त्रास थिएन। उनीहरु सोही वडाका मजदुर तथा विपन्न हुन्।

लामो समयसम्म लकडाउन हुँदा हातमुख जोड्नै समस्या भएपछि तनावमा रहेका मजदुर राहतका लागि वडा कार्यालयमा भेला भए। उनीहरुले तछाडमछाड गर्न थालेपछि वडाध्यक्ष पूर्णबहादुर खड्का, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वडाका कर्मचारीलाई भीड व्यवस्थित गर्न हम्मेहम्मे पर्‍यो। थर्मलगनले ज्वरो जाँच गर्दै कम्तिमा तीन फिटको दुरी कायम गर्नेगरी लाइनमा बस्न निर्देशन दिइयो। तर, राहत नपाइने हो की भन्ने चिन्ताले तछाडमछाड कम भएन।

बालबच्चालाई बिहान बेलुका खुवाउन समस्या भएपछि राहत बुझ्न आएको कमलामाई नगरपालिका ५ अहालेका सुमन गिरीले सुनाए। ‘राहतका लागि आधा घण्टादेखि लाईन बस्नु परेका छ’, उनले भने, ‘घरमा खाने अन्नको गेडो छैन। भिडभाडमा कोरोना सर्ने डर भएपनि भोको पेटका लागि यस्तो जोखिम मोल्नु परेको छ।’ लकडाउनका कारण समस्या भएको बेला राहत पाउँदा निक्कै खुसी लागेको राहत बुझेर घरतर्फ लागेकी सोही वडाकी गंगामाया भुजेलले बताइन्। ‘ श्रीमान र म दुबै जना मिस्त्री काम गर्थेम्। दुई महिना हुन लाग्यो काम नगरेको, अलीअली जोहो गरेको सबै खानेकुरा पनि सकियो। वडाले राहत दिएपछि केही दिनका लागि भने ढुक्क भयो’, उनले भनिन्।

घरबाहिर गएर काम गर्न नपाउदा परिवारलाई खाद्यान्न किनेर खुवाउनै मुस्किल भएपछि सरकारी राहत लिन आएकी सोही वडाकी शोभा विकले बताइन्। उनीसँगै भेटिएकी सुनिता तामाङको पनि गुनासो उस्तै छ। वडाले दिएको २० केजी चामल सहितको राहत बुझेकी मैयाँ तामाङ भने राहत थोरै भएको गुनासो गर्छिन्। परिवारमा १२ जना सदस्य भएकाले यति चामलले दुई दिन पनि खान नपुग्ने भन्दै उनले गुनासो गरिन्।

तर उक्त वडा वडाध्यक्ष पूर्णबहादुर खड्का भने नगरले निर्धारण गरेको मापदण्डका आधारमा राहत वितरण गरिएको बताउँछन्। उनका अनुसार वडामा ७ सय ४३ जना मजदुर र विपन्न परिवारलाई राहत वितरण गरिएको छ। सो वडाले यसअघि पहिलो चरणमा १ सय ३३ जना मजदुरलाई राहत उपलब्ध गराएको थियो। उता वडा नंं. ६ मा पनि मजदुर र विपन्नलाई राहत वितरण भइरहेको वडाध्यक्ष उज्ज्वलकुमार थापाले जानकारी दिए। ‘वडाका १ हजार ८५ जना मजदुर र विपन्नलाई दोस्रो चरणको खाद्यान्न राहत वितरण गरिएको छ’, उनले भने।

Published on: 17 May 2020 | Annapurna Post

Link

Back to list

;