s

राहत नबाँडेको भन्दै खाद्यान्नसहित पुराना कपडा संकलन

मणिलाल विश्वकर्मा

 

लकडाउनले अतिविपन्न, दैनिक ज्यालादारी र असहायहरूलाई अप्ठ्यारो परेका वेला राहत नबाँडेको भन्दै सिराहाको सुखीपुर– ८ का स्थानीय युवाले बजार क्षेत्रमा पुराना कपडासहित दाल चामल संकलन गरी नगरपालिका कार्यालयनजिकै लगेर छोडेका छन् । 

सुखीपुर– ८ को बजार क्षेत्रका युवाहरूले नगरले राहत बाँड्न बेवास्ता गरेको भन्दै विरोधस्वरूप आइतबार चामल, दाल, पुराना कपडा र केही रकम उठाएर नगर कार्यालयनजिकै छोडेर गएका हुन् । नगरप्रमुखलाई बुझाउने तयारी भए पनि नगर प्रहरीले मूल ढोकाबाट भित्र प्रवेश नदिएपछि कार्यालयको पर्खालको पूर्व–दक्षिण कुनामा छोडेर गएको कार्यालय सुरक्षामा खटिएका एक प्रहरीले बताए । 

सुखीपुर– ८ का वडाध्यक्ष हरिवंश महतोले राहत वितरणसम्बन्धी कार्यविधिअनुसार नगरले राहत नबाँडेकाले समस्या भएको बताए । ‘लक्षित परिवारको पहिचान गर्ने वेला दिने भनिएको राहत सामग्रीसमेत नदिने भनिएपछि समस्या भएको छ,’ उनले भने, ‘जनतालाई जवाफ दिन सकेको छैन ?’ 

सूची नै नआएकाले अप्ठ्यारो : नगरप्रमुख

नगरपालिकामा पछिल्लो २५ पुसदेखि प्रमुख प्रशासकीय नहुँदा दैनिक प्रशासन र आर्थिक कारोबारको काम प्रभावित भएको बताए । काम प्रभावित भए पनि कोरोनाको महामारी सुरु भएपछि उधारोमै साबुन, मास्क, डिस्इन्फेक्सनका लागि औषधि खरिद गरेर छर्किएको नगरप्रमुख रामऔतार यादवले बताए । 

‘आर्थिक कारोबार नभए पनि नगर क्षेत्रका १० वडाका लागि उधारोमा मास्क र साबुन गरिद गरी हरेक घरमा एक थान साबुन र चार थानका दरले मास्क बाँड्यौँ,’ नगरप्रमुख यादवले भने, ‘११ चैतमा वडाध्यक्षहसहित कार्यपालिकाको बैठक राखेर तोकेको मापदण्डअनुसार हरेक वडामा समिति गठन गरी थालिएको नामावली संकलन शनिबारसम्म आउने क्रम जारी थियो ।’ 

नगरप्रमुख यादवका अनुसार २ वैशाखमा नगर कार्यपालिकाको बैठकबाट राहतका लागि हरेक वार्डलाई पाँच लाख रुपैयाँ पर्नेगरी ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । ‘विनियोजित रकमबाट चामल, दाल, खानेतेल र नुन दिने योजना थियो, तर स्थानीय व्यापारीले दाल प्रतिकिलो एक सय १५ रुपैयाँ लिने तर बिल भने एक सय छ रुपैयाँको मात्र दिन्छु भनेपछि अन्य ठाउँमा पनि खोज्यौँ, भेटिएन,’ उनले भने, ‘तेल पनि नपाइएपछि तत्काललाई चामल र नुन मात्र दिने योजना छ ।’ 

राहत सामग्रीको प्रकार घटेपछि पहिचान गरिएकालाई प्रतिपरिवार २० देखि ४० किलोसम्म चामल र नुन आवश्यकताअनुसार दिइरहेको उनले जानकारी दिए । त्यसका लागि सात सय ५० क्विन्टल चामल खरिद गरिसकेको र करिब पाँच हजार परिवारलाई पुग्ने गरी जोहो गरेको उनले बताए । नगरको १ देखि १० नं. वडासम्म चार हजार ३४ परिवारको नामावली आएको उल्लेख गर्दै नगरप्रमुख यादवले त्यसमा पनि केही थपघट हुन सक्ने बताए । 

नगरप्रमुख यादवले प्रदेश सभा सदस्य सुनिता रामसहित ८ नं. का वडाध्यक्ष महतो, बिपी भनिने भुवन यादव, बिन्देश्वर पंजियार, ज्ञानकुमार साहलगायतले नगरमा लक्षित परिवारको नामावली नै प्राप्त नभएको अवस्थामा ६ वैशाखको राति स्थानीय विपन्न बस्तीमा गएर नगरपालिकामा राहत बाँड्दै छ भन्ने भ्रम फैलाएको आरोप लगाए । उनीहरूको उक्साहटमा ७ वैशाखमा करिब डेढ सयजना स्थानीयलाई ल्याएर नगरपालिकामा ढुंगामुढा गर्न लगाएको नगरप्रमुख यादवको दाबी छ । 

ढुंगामुढा हुँदा करिब पाँच लाख रुपैयाँबराबरको क्षति भएको कार्यपालिका सदस्यसमेत रहेका ४ नं. वडाध्यक्ष रामलोभित यादवले बताए । वडाध्यक्ष यादवका अनुसार ढुंगामुढा हुँदा नगरप्रमुख, उपप्रमुखको कार्यकक्षको झ्यालको सिसा फुट्नुका साथै नगर कार्यालय परिसरमा राखिएका आधा दर्जन बढी मोटरसाइकलमा क्षति पुगेको थियो । नगरको विद्युतीय सूचना पाटी, तीन थान एसी तोडफोड भएको उनले बताए ।

Published on: 26 April 2020 | Nayapatrika

Link

Back to list

;