s

राहात हैन श्रम वितरण

गोपाल शर्मा

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका ५ की चन्द्रकला विक राहात माग्न उपमहानगरपालिकाका पुगिन् । पहिलो चरणको राहात पाइसकेकी उनले घरमा खाना सकिएपछि पुन राहातका लागि नगरमा पुगेकी थिइन् । उनलाई उपमहानगरपालिकाले राहात हैन श्रम गर्ने ठाउँ सिकाएर पठाइदियो । 

उनी राहातको सट्टामा श्रममा गइन् । पहिले जस्तै काम पाएपछि उनले राहात माग्नु पर्ने अवस्था आएन । तुलसीपुर ६ की निर्माण मजदुर पुस्प क्षेत्री पनि राहात माग्न वडा कार्यालय पुगे । वडाका जनप्रतिनिधिले राहात नदिने बरु काम खोजिदिने भन्दै काममा पठाइदिए । उनी पनि नियमित रुपमा अहिले श्रम गरिरहेका छन् । दुबै जनाले राहातले २-४ छाक टार्न मात्रै सहज भएको अवस्थामा काम नै पाइएपछि अभावको समस्या हटेको बताए । उनीहरुले नियमित काम पाउँदा आफूहरु खुसी भएको सुनाए । दाङमा यति बेला राहात बन्द गरेर राहातलाई श्रमसंग जोडेपछि धेरै श्रमिकहरु काममा जुटेका छन् । 

पहिलो चरणमा नगरभित्रका गरीब, विपन्न र श्रमिकहरुलाई राहात वितरण गरेपछि तुलसीपुरले राहातको साटो श्रम दिएर पारीश्रमिक दिन थालेको छ । राहातको चाप अत्यधिक बढन थाले पछि त्यसको व्यवस्थापन र दीर्घकालीन समस्या समाधानको लागि राहातको साटो श्रम दिन लागिएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । 

उनले तुलसीपुर उपमहानगरपालिकका कार्यपालिका बैठकले राहातको सट्टा श्रम दिने तथा त्यसका लागि सबै निर्माणको काम सुरु गर्ने निर्णय गरेको बताए । 'राहात अल्पकालीन हुन्छ। सुरक्षित भएर श्रम गर्ने वातावरण भए पनि त्यो दीर्घकालिन हुन्छ भनेर यो नीति ल्याएका हौँ । अहिले बास्तविक विपन्न, श्रमिक, गरीबले काम गरेर खाने वातावरण बनेको छ', उनले भने, 'असक्त, वृद्धहरुलाई भने नगरले आवश्यकता अनुसार राहात दिइरहेका छौं।' तुलसीपुरले यो निर्णय गरेसँगै जिल्लाभरी नै अहिले निर्माणका काम सुरु भएको छ  । 

अहिले जिल्लामा अलपत्र परेका विकास निर्माणको काम सुरु भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण जिल्लामा चैत ११ देखिनै विकास निर्माणका काम ठप्प थियो । अहिले भने लकडाउन कायम रहेकै अबस्थामा विकास निर्माणको काम सुरु भएको हो । केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले गौरव र अन्य विकासे योजनाको काम सुरु गर्ने निर्णयसँगै रोकिएको विकास निर्माणको काम सुरु भएका छन् । राष्ट्रिय गौरवका आयोजनासँगै सडक, सिँचाइलगायतका अत्यावश्यक विकास निर्माणका कामहरू सुरु गर्ने सर्वदलीय निर्णयानुसार जिल्लामा विकास निर्माणको काम अघि बढाइएको प्रमुख अधिकारी गोविन्द रिजालले बताए ।

दाङमा पर्ने मदन भण्डारी लोकमार्ग, घोराही (तुलसीपुर सडकखण्डको विस्तार, देउखुरीको लमही–कोइलावास सडकखण्डसँगै अन्य विकास निर्माणको कामलाई अघि बढाइने भएको छ । प्राय सबै स्थानीय तहहरूले पनि आफ्नो पालिकाहरूको विकास निर्माणको कामलाई अघि बढाएका छन् । 

तुलसीपुर–अमिलिया सडकखण्ड, देउखुरीमा पूर्व (पश्चिम राजमार्गअन्तर्गत लमहीदेखि शिवखोलासम्म सडकको मर्मतको काम, दंगीशरणको बैबाङ र घोराहीको सेवारखोलामा पक्की पुल निर्माणको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए । सडक र पुल निर्माणको कामका लागि प्रशासन कार्यालयबाट पास लिएर विकास निर्माणको कामलाई सुरु गरिएको उनले बताए । ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण दाङमा करिब एक महिना काम बन्द भएको थियो,’ प्रमुख शाक्यले भने, ‘एक महिना काम रोकिँदा सबैजसो योजनाका काम प्रभावित भएका थिए, अहिले पुन सुरु गरेका छौं ।’

निर्माणको काममा गएका मजदुरहरूलाई कोरोना भाइरसबाट बच्नका लागि मास्क, पञ्जासँगै स्यानीटाइजर प्रयोग गर्दै सम्बन्धित ठाउँमै बस्ने गरी काममा लगाइएको छ । रोकिएका विकास निर्माणका आयोजनाहरू सुरु गर्न निर्माण कम्पनीहरूलाई खबर गरेको पूर्वाधार विकास कार्यालय दाङका निमित्त प्रमुख बासुदेव भण्डारीले जानकारी दिए । उनका अनुसार पूर्वाधार कार्यालयअन्तर्गत ७० बढी आयोजना निर्माणका क्रममा अलपत्र छन् ।

Published on: 30 April 2020 | Annapurna Post

Link

Back to list

;