s

राहत वितरण नहुँदा विपन्न परिवार भोकभोकै

राजेन्द्र कार्की 

जाजरकोट : कोरोना त्रासका कारण लकडाउन गरिएको डेढ महिना बितिसक्दा पनि राहत वितरण हुन नसकेपछि जाजरकोटको भेरी नगरपालिकाका विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार समस्यामा परेका छन् । खानेकुरा नहुँदा उनीहरुको चुल्हो बल्न छाडेको छ । धेरै परिवार भोकभोकै परेका छन् ।

नगरपालिकाले असंगठित श्रमिक तथा विपन्न परिवारको सूची तयार गर्न नसक्दा राहत वितरण हुन नसकेको हो । नगरपालिकाले समस्यामा परेका परिवारको लगत संकलन गरी नगरपालिकामा पेश गर्न वडा समितिलाई जिम्मा दिएको थियो ।

तर वडा समितिले राहत वितरण गर्ने सूचीमा वास्तविक पीडित छान्नुको साटो आफ्ना मतदातालाई छनौट गरेपछि राहत वितरण हुन नसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका १३ वटा वडाबाट आठ हजार चार सय ९० परिवारको सिफारिस आएको थियो । वडाबाट सिफारिस आएका नाममा नगरकार्यपालिकाको बैठकमा छलफल हुँदा वास्तविक पीडितभन्दा अन्य व्यक्तिहरुको धेरै सूची आएपछि नगरपालिका तत्काल राहत वितरण नगर्ने निर्णयमा पुगेको प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले बताए ।

उनका अनुसार वडा समितिलाई पुनः तीन दिनभित्र नेपाल सरकारले जारी गरेको राहत वितरण कार्यविधि २०७६ अनुसार वास्तविक समस्या परेका नागरिकको सूची तयार गरी पेश गर्ने कार्यपालिकाले गत १० वैशाखमा निर्देशन गरेको थियो ।

तर, दुई साता बितिसक्दा पनि हालसम्म ११ वटा वडाले मात्र वितरण पठाएका छन् । अझै वडा नम्बर १ र ८ ले विपन्न परिवारको सूची नबुझाउँदा राहत वितरण हुन नसकेको घर्तीले बताए । पछिल्लो पटक ११ वटा वडाले करिब एक हजार तीन सय विपन्न तथा मजदुरको नाम सिफारिस गरेका छन् । 'बाँकी दुई वटा वडाको विवरण आउने वित्तिकै राहत वितरण गर्छौं उनले भने, ताकेता गरिरहेका छौं, उनले भने, 'वडाले समयमा नाम नपठाउँदा केही विपन्न परिवारको विचल्ली भएको हामीले पनि महसुस गरेका छौं। छिटै राहत वितरण गर्छौ।'

राहत सामग्री व्यवस्थापनका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ पठाएको छ । नगरपालिकाले छुट्याएको २७ लाख गरेर जम्मा ४७ लाख रुपैयाँ भएपनि समयमा राहत वितरण हुन नसक्दा विपन्न परिवार समस्यामा परेका हुन् ।

दैनिक ज्याला मजदुरी गरी गुजरा चलाउँदै आएका परिवार काममा निस्कन पाएका छैनन् । जसका कारण उनीहरुको चुल्हो समेत बल्न छोडेको छ । तर खाद्यान्न व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकारले समयमा राहत नबाँड्दा विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार निकै समस्यामा परेका छन् ।

लकडाउनका कारण आफू निकै समस्यामा परेको भेरी नगरपालिका ४ रत्नबहादुर खड्काले बताए । पाँचजनाको परिवारलाई छाक टार्न निकै समस्या परिरहेको उनको भनाई छ । 'घरमा न खाने अन्न छ । न किनेर खानलाई पैसा छ । काम गर्न नपाएको डेढ महिना भयो रोगले भन्दा भोकले मरियलाजस्तो भो,' उनले भने ।'

राहत नपाउँदा विपन्न र मजदुरलाई गुजरा चलाउन निकै समस्या परिरहेको छ । 'नगर सरकारले राहत दिने भनेको सुनेका थियौं तर अहिलेसम्म पाएका छैनौ के खाएर बाँच्ने हो हामी त साह्रै समस्यामा पर्यौ,' भेरी नगरपालिका ४ का सर्वजीत सार्कीले पीडा सुनाउँदै भने, 'आधा पेट खाएर जेनतेन गुजरा चलाइरहेका थियौं, त्यही पनि सकियो, अब के खाएर बाँच्ने हो । रोगको भन्दा भोगको चिन्ता छ।'

Published on: 4 May 2020 | Annapurna Post

Link

Back to list

;