s

राहदानीले बढायो राजस्व

माया अधिकारी

पर्वतमा नागरिकताको प्रमाणपत्र लिने भन्दा राहदानी लिनेको संख्या दोब्बर भएको छ । यसले राजस्व संकलन पनि वृद्धि भएको छ । रोजगारी र अध्ययनका लागि युवाको बढ्दो बिदेसिने क्रमले नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या बढेको हो ।
 
जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०७१/७२ मा आठ हजार सात सय ४६ जनाले राहदानी लिएका छन् । तीमध्ये तीन हजार नौ सय ६१ जनाले द्रुत सेवामार्फत र चार हजार सात सय ८५ जनाले जिल्लाबाटै राहदानी लिएका हुन् ।
 
गत आवमा राहदानीबाट मात्रै दुई करोड ४५ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी चूडाराज भट्टराईले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७०/७१ को तुलनामा भने २०७१/७२ मा राहदानी लिनेको संख्या घटेको छ । अघिल्लो आर्थिक वर्ष नौ हजार ६९ जनाले राहदानी लिएका थिए ।
 
आर्थिक वर्ष २०७१/७२ मा पर्वतमा जम्मा चार हजार तीन सय ८७ जनाले नागरिकता लिएका छन् । यीमध्ये नागरिकताको प्रतिलिपि लिने तीन हजार तीन सय, अंगीकृत नागरिकता लिने ११, कर्मचारी परिवारको नागरिकता लिने चारजना छन् ।
 
अघिल्लो आर्थिक वर्षमा चार हजार एक सय ९१ जनाले नागरिकता लिएका थिए । पर्वतमा अहिलेसम्म एक लाख २३ हजार चार सय ६ जनाले नागरिकता प्रमाणपत्र लिएको जिल्ला प्रशासनको तथ्यांकमा उल्लेख छ ।
 
यस्तै द्वन्द्वपीडितका लागि ६ करोड ३४ लाख ८४ हजार रुपैयाँ राहत वितरण गरिएको छ । तीन हजार पाँच सय ४२ पूर्ण र सात हजार सात सय ३५ आंशिक क्षति भएका परिवारलाई राहत वितरण गरिएको हो । त्यस्तै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाबाट आर्थिक वर्ष २०७१/७२ मा दुई लाख ७५ हजार एक सय ५६ रुपैयाँ राजस्व संकलन भएको छ ।
 
समग्रमा आर्थिक वर्ष २०७१/७२ मा जिल्ला प्रशासन कार्यालय पर्वतबाट दुई करोड ५२ लाख १३ हजार आठ सय ५६ रुपैयाँ राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
 
गत आर्थिक वर्षमा दुई करोड ५३ लाख १३ हजार पाँच सय ३० रुपैयाँ संकलन भएको थियो । अघिल्लो वर्षभन्दा राहदानी लिनेको संख्या केही घटेकाले राजस्वमा पनि कमी आएको प्रजिअ तिवारीले जानकारी दिए । प्रशासनले दुई सय ३४ वटा विभिन्न प्रकृतिका व्यवसायको पनि अनुगमन गरेको छ ।


Published on: 27 July 2015 | Annapurna Post
 

Back to list

;