s

राहदानीको जानकारी एसएमएसबाट

जिल्ला प्रशासन कार्यालय पर्वतले एसएमएसबाटै राहदानी बनेको जानकारी सेवाग्राहीलाई पठाउन शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले धौलागिरी अञ्चलमै पहिलो पटक राहदानीको बिबरण एसएमएसबाटै दिने ब्यवस्था आइतबार देखि शुरु गरेको हो । 

जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाका अनुसार राहदानी बनेर आएपछि दुईवटा म्यासेज पठाउने ब्यवस्था मिलाइएको छ । र राहदानी बनेकाको मोबाइलमा राहदानी लिन आउन जानकारी पठाइन्छ भने फारम फिर्ता भएकालाई राहदानीको प्रक्रिया पुनः शुरु गर्न अनुरोध गरेको म्यासेज पुग्छ । यसले राहदानी बनेकाले लिन र प्रक्रिया पूरा नभएकाले बनाउन समयमै जानकारी पाउने शाखाका नायब सुब्बा नारायणप्रसाद पौडेलले जानकारी दिए । आइतबार म्यासेज पठाएपछि १५ जनाले त्यसकै आधारमा राहदानी लगिसकेको पौडेलले जानकारी दिए । 

राहदानीको फारम बुझाएपछि आउने टुंगो नहुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका थिए । सेवाग्राहीको सुविधाका लागि एसएमएस पठाउन थालिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञावलीले बताए । आइतबार यता तीन सय ९३ जनालाई एसएमएसबाट जानकारी पठाइएको छ । एनसेल र अन्य मोबाइलका नेटवर्कमा भने एसएमएस डेलिभरी नहुने समस्या देखिएको छ । गृह मन्त्रालयले तयार पारेको सफ्टवयरले नेपाल टेलिकमको नेटर्वकमामात्रै काम गर्दा यस्तो समस्या भएको हो ।  यसमा सुधार गरी सबै कम्पनीका मोबाइलमा सुबिधा दिन गृह मन्त्रालयमा अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईले बताए । 

published on: 3 December 2014 | Annapurna post

Back to list

;