s

राहदानी विभागले सच्यायो नियम, अब कपालमा जुत्ताको पालिस लगाउनु नपर्ने

पासपोर्ट बनाउँदा कपाल कालो नै बनाउनु पर्ने मान्यता राहदानी विभागले सच्याएको छ । अन्तर्राष्ट्रिय प्रचलन बाहिर गएर राहदानी विभागका कर्मचारीले कपालको रंग अप्राकृतिक बनाएको भन्दै कालो पार्न दबाब दिइरहेको समाचार सार्वजनिक भएपछि विभागले त्रुटी सुधारेको जनाएको छ ।
 
कपाल रंगाएको र प्राकृतिक नदेखिएको भन्दै विभाग परिसरभित्रै कपाल कालो पार्न जुत्ताको पालिस लगाउने गरेको समाचार फोटोसहित(हास्यास्पद नियम : पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस) अन्नपूर्णमा प्रकाशित भएपछि विभाग सचेत भएको हो । ‘विभागले कपालको रङसम्बन्धमा सेवाग्राहीलाई सुझाव नदिन र कुनै पनि किसिमको रङ विभाग परिसरभित्र उपलब्ध नगराउन कर्मचारी तथा सम्बन्धित सुरक्षाकर्मीलाई निर्देशन गरिएको बेहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराउँछौं’, विभागले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
विज्ञप्तिमा ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा प्रचलित नेपाल कानुनमा समेत कपालको रङबारे स्पष्ट उल्लेख नभएकाले यस्तो सुझाव नदिन निर्देशन दिइएको हो ।’ अन्य कार्यालयभन्दा राहदानी विभागको सेवा प्रवाह चुस्त रहे पनि केही समययता काममा लापरवाही भइरहेको र कर्मचारी सर्वसाधारणका कामप्रति जिम्मेवार नभएपछि यस्तो स्थिति उत्पन्न भएको थियो ।
 
अन्नपूर्णलगायत केही राष्ट्रिय दैनिकमा ‘हास्यास्पद नियम : पासपोर्ट बनाउन कपालमा जुत्ताको कालो पालिस’ शीर्षकमा प्रकाशित समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विभागले आफ्नो गल्ती सच्याएको विज्ञप्तिमा उल्लेख गरेको छ । विभागले पासपोर्टको विश्वसनीयता र गुणस्तर आईकाओको मापदण्डबमोजिम तुल्याउने प्रयास गर्दै आएको पनि जनाएको छ ।
 
राहदानीवाहकको विदेश यात्रा झन्झटमुक्त राख्न उल्लिखित मापदण्ड, प्रचलित राहदानी नियमावली तथा व्यावहारिक पक्षमा ध्यान दिई तस्बिरमा व्यक्तिको प्राकृतिक स्वरूप देखियोस् भनी अप्राकृतिक रङ लगाएर कपाल रातो भएका सेवाग्राहीलाई कर्मचारीले प्राकृतिक रङको केशसहितको तस्बिर खिच्न सुझाव दिएको हुनसक्ने धारणा पनि विभागले राखेको छ ।
 
‘अनिवार्य कालो लगाउन बाध्य पारिएको सत्य होइन, विदेश यात्राका क्रममा आइपर्नसक्ने सम्भावित झन्झट न्यूनीकरण गर्ने स्वच्छ उद्देश्यबाट मात्र उक्त अनुरोध गर्ने गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ । विभाग परिसरभित्र रहेको नेपाल प्रहरीले कालो पालिस सेवाग्राहीको अनुरोधमा नै उपलब्ध गराएको बुझिएको भन्दै यस्ता घटनाबारे फरक फरक समाचार आएको भन्दै विभागले दुःख पनि व्यक्त गरेको छ ।
 
Published: 25 December 2018 | Annapurna Post

Back to list

;