s

राहदानी रोकिएका मजदुर नेता कसरी पुगे कोपनहेगन ?

अनियमितताको आरोपमा कालो सूचीमा परेका एक मजदुर नेता बिनारोकटोक डेनमार्कको राजधानी पुगेका छन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम लिएर नतिरेपछि कालो सूचीमा परेका तत्कालीन माओवादीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का केन्द्रीय अध्यक्ष गणेश रेग्मी शनिबार कोपनहेगन पुगेका हुन्।

देशबाहिर जान नपाउने गरी युवा तथा खेलकुद मन्त्रालयले उनको राहदानी रोक्का गर्न कात्तिक २६ गते परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो। परराष्ट्र र गृह मन्त्रालयको समन्वय नहुँदा कालो सूचीका रेग्मीले त्रिवि अध्यागमनबाट सहजै प्रस्थान अनुमति पाएका हुन्। अध्यागमन विभागले रेग्मीलाई रोक्नु वा उनको राहदानी रोक्का गरिएको कुनै निकायले पत्राचार नगरेको दाबी गरेको छ।

तर रेग्मी कोपनहेगन गए÷नगएको रेकर्ड त्रिवि अध्यागमनसँग छैन। उनी गत असारमा मात्र विदेश गएको रेर्कड अध्यागमनमा छ। अध्यागमनको इमी सफ्टवयेरमा रेग्मी नेपालबाट बाहिरिएको रेकर्ड नदेखिएको त्रिवि अध्यागमनका एक कर्मचारीले बताए।

उनी अन्य पार्टीका ट्रेड युनियनका नेतासँगै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयुसी)को सम्मेलनमा भाग लिन अन्टुफका तर्फबाट कोपनहेगन गएका हुन्। अन्टुफबाट ७ जना छानिए पनि खर्च जुटाउन नसकेपछि अरु जान सकेनन्। उनी नेपाल टे«ड युनियन महासंघ जीफन्टका अध्यक्ष विनोद श्रेष्ठ, नेताहरू रमेश बढाललगायतसँगै कोपनहेगन पुगेका हुन्। उनी सहितका मजदुर नेता कोपनहेगन पुगेको तस्बिर नेकपा केन्द्रीय सदस्यसमेत रहेका जीफन्ट अध्यक्ष श्रेष्ठको सामाजिक सञ्जालमा छ।

रेग्मी अध्यक्ष रहेको मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्थाले ०६८ सालमा बेरोजगार युवालाई स्वरोजगार बनाउन ४ वर्षमा भुक्तानी गर्ने सर्तमा कोषबाट ५ करोड ऋण लिएका थिए। उक्त सहकारी टे«ड युनियन महासंघकै छाताअन्तर्गत गठन गरिएको थियो। उनले पेट्रोल पम्प, सहकारी पसल, गाई फार्मलगायतमा लगानी गर्ने भन्दै बेग्लाबेग्लै ८ समूह बनाएका थिए।

स्वरोजगार कोषले बारम्बार ऋण तिर्न ताकेता गर्दा पनि नतिरेपछि सहकारीका रेग्मीलगायत जनक शर्मा, प्रकाश श्रेष्ठ, सोमबहादुर तामाङ, विष्णु थापा र राजाराम ठकुरीलाई युवा तथा खेलकुद मन्त्रालयले कालो सूचीमा राखेको हो।

रेग्मी कसरी पुगे कोपनहेगन ? अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले रेग्मीलाई कालो सूचीमा राखेको पत्र आउनुअघि नै उनी उडेको बताए। ‘हामीलाई रेग्मीलाई रोक्नु भन्ने कुनै निकायको पत्र आएको छैन, उनी त्यसभन्दा अघि नै उडेका हुन सक्छन्’, उनले भने।

‘रेग्मी कोपनहेगन गएको सुनेपछि हामीले रेकर्ड हेर्‍यौं’, त्रिवि अध्यागमनका एक अधिकृतले भने, ‘उहाँ नेपालबाट बाहिरिएको कुनै रेकर्ड देखिँदैन।’ अध्यागमनले प्रयोग गरिरहेको इमी सफ्टवेयरले सबै यात्रुको प्रस्थान र आगमनको रेकर्ड राख्छ। रेग्मीले ०९०९४६९३ नम्बरको राहदानी प्रयोग गर्दै आएका छन्।  कोषले रकम तिर्न ताकेता गरेपछि उनले पेरिसडाँडास्थित पार्टी कार्यालय अगाडिको २१ आना जग्गा बेच्ने प्रयास गरेका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उक्त जग्गा बेचबिखन गर्न दिएनन्। पार्टी एकीकरणपछि अहिले उक्त जग्गा नेकपाको नाममा छ। मजदुरको विकासमा लगानी गर्न लिएको रकम दुरूपयोग भएकोबारे छानबिन गर्न अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीको संयोजकत्वमा समिति बनेको थियो। छानबिन समितिले कोषबाट जसले लिएको हो उसैले तिर्नुपर्ने प्रतिवेदन दिएको थियो।

Published: 4 December 2018 | Annapurna Post

Back to list

;