s

राहदानी फिर्ता गर्न निर्देशन

होम कार्की

फिर्ता नगर्नेलाई प्रतिकामदार दुई हजार रियाल जरिवाना लगाउने

साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी फिर्ता गर्न एक महिनाको समय तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकामदार दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ ।

साउदीको श्रम कानुनअनुसार कामदारको राहदानी रोजगारदाता कम्पनी (स्पोन्सर) ले राख्न पाउँदैन । साउदीस्थित नेपाली दूतावासमा कम्पनीले राहदानी जफत गरेको र आफूहरू घर फिर्न नसकेको भन्दै दैनिक ४० भन्दा बढी उजुरी पर्ने गरेको छ । कम्पनीले साउदी पुगेलगत्तै विमानस्थलबाटै राहदानी र उनीहरूका रोजगार करारपत्र समेत राखिदिने गरेको छ । 

‘साउदी आएदेखि मेरो राहदानी साथमा छैन,’ हेटौंडा–६, चौघडाका यतिराज ढुंगानाले कान्तिपुरलाई भने, ‘करार सकिएको ६ महिना नाघिसक्यो । न मलाई राहदानी दिन्छ, न घर फिर्न नै दिएको छ ।’ उनी फजल इन्टरनेसनल म्यानपावर (७०९) बाट फायद अल दोसरी कम्पनीमा ठूलो गाडी चलाउन पुगेका थिए । साउदी सरकारले गत जुलाईमा आप्रवासी कामदारको राहदानी फिर्ता गर्नुपर्ने निर्णय गरे पनि कार्यान्वयनमा आएको थिएन । गत बुधबार नेपालबाट साउदी पुगेको संसदीय अध्ययन टोलीसमक्ष साउदीका श्रममन्त्रीले कामदारको राहदानी जफत गर्ने कार्य गैरकानुनी भएको भन्दै आफूहरूले त्यस्ता कम्पनीलाई कारबाही गर्ने बताएका थिए । 

साउदीले गैरकानुनी हैसियत भएका कामदारलाई ९० दिनको आममाफी दिएको सन्दर्भमा यो नीति लिएको हो । रोजगार करारपत्र सकिएर पनि घर फिर्न नपाएका, परिचय पत्र (अकामा) नबनाएका र भिसा सकिएर घर फिर्न नपाएकाहरूसमेत आममाफीको समयमा स्वदेश फिर्न पाउनेछन् । साउदीको स्थानीय स्तरमा भएको अध्यामगन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेका कामदारसँग राहदानी भएमा सिधै स्वदेश फिर्न पाइने सुविधा छ । साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले गैरकानुनी हैसियत भएका कामदारका झन्डै ५ सय राहदानी मात्रै परराष्ट्र मन्त्रालयमार्फत दूतावासमा प्राप्त भएको छ । 

साउदीको श्रम मन्त्रालयका प्रवक्ता खालिद अबा अल–खैलले कामदार र रोजगारदाताबीचको दुईपक्षीय करारपत्रअनुसार कामदारका अधिकार रक्षा गर्न लागेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । नेपाली कामदारहरूले कम्पनीले कागजमा हस्ताक्षर गराई राहदानी लिने गरेको बताएका छन् ।

Published on: 28 March 2017 | Kantipur

Back to list

;