s

राहदानी दुरुपयोग रोक्न सफ्टवेयर

किर्ते राहदानीमा खाडी मुलुकमा पटक पटक विदेशी नागरिक पक्राउ परेपछि सरकारले त्यसलाई रोक्न सफ्टवेयर प्रणाली लागू गरेको छ । वैदेशिक रोजगार विभागले हस्तलिखित राहदानीको दुरुपयोग रोक्न ११ दिनदेखि सफ्टवेयर प्रणाली लागू गरेको हो । यसले म्यानपावर कम्पनीबाट हुने राहदानीको दुरुपयोग पूर्ण रूपमा रोक्ने विभागको विश्वास छ । नेपालमा राजदूतावास नभएको कुवेत र साउदी अरब जस्ता देशमा वैदेशिक रोजगारीमा जान चाहने नेपालीको राहदानीमा प्रवेशाज्ञा छाप -भिसा) लगाउन म्यानपावर कम्पनीले राहदानी संकलन गरी बंगलादेश लैजान्छन् । त्यसका लागि म्यानपावर कम्पनीहरूले विभागमा निवेदन दिन्छन् । बंगलादेशस्थित कुवेत र साउदी अरबको दूतावासले नेपाली श्रमिकको राहदानीमा भिसा लगाउँछ ।

सफ्टवेयर प्रणाली लागू नहुँदासम्म म्यानपावर कम्पनीहरूले 'भिसाको प्रक्रियामा पासपोर्ट दूतावासमै रहेको' भन्दै बंगलादेश र भारत लगिएका कतिपय राहदानी फिर्ता ल्याउने गरेका थिएनन् । सफ्टवेयर प्रणाली नहुँदासम्म फिर्ता नआएका राहदानीको तथ्यांक विभागसँग हुँदैनथ्यो । त्यस्ता राहदानी किर्ते गरी विदेशी नागरिक खाडी मुलुक पुगेको हुन सक्ने अनुमानका आधारमा विभागले सफ्टवेयर प्रणाली विकास गरेको हो । 'म्यानपावर कम्पनीले भिसा लगाउन अन्य देशमा लगेको राहदानीको विवरण अद्यावधिक राख्न सफ्टवेयर विकास गरी लागू गरेका हौं,' विभागका एक उच्च अधिकारीले भने, 'यसबाट कुन म्यानपावर कम्पनीले कसको नाममा रहेको कुन नम्बरको कति राहदानी भिसा हान्न विदेश लगे, त्यसमध्ये कतिमा भिसा लाग्यो, कतिमा लागेन र भिसा नलागेका सबै राहदानीको अवस्था के छ भन्ने पत्ता लाग्छ ।' ती अधिकारीका अनुसार सफ्टवेयर प्रणालीमा राहदानीको तथ्यांक समावेश भइसकेपछि त्यही राहदानीबाट वैदेशिक रोजगारीमा जान विभागबाट अन्तिम स्वीकृति लाग्दैन । सफ्टवेयरले भिसा लागेको वा भिसा अस्वीकृत भएको अन्तिम टुंगो लागेपछि मात्र राहदानी 'अनलक' गर्छ । 'अनलक' नभएसम्म त्यही राहदानीबाट वैदेशिक रोजगारीमा जान अन्तिम स्वीकृति लाग्दैन । सफ्टवेयरले 'अटोमेटिक' रूपमा यो काम गर्छ । 'राहदानी प्रक्रियामा रहेको भनेर झुक्याउन पनि मिल्दैन,' उनले भने, 'किनभने हामीले प्रक्रियामा रहेको पुष्टि हुने कागजात भिसा लगाउने सम्बन्धित देशको दूतावासबाट ल्याउनैपर्ने बनाएका छौं ।' विभागका महानिर्देशक विनोद केसीले भने सुरक्षाका हिसावले संवेदनशील भएकाले मात्र राहदानीमा सफ्टवेयर प्रणाली लागू गरेको बताए । 'राहदानी सुरक्षाका हिसावले संवेदनशील कागजात हो,' उनले भने, 'यस्तो कागजात दुरुपयोग भई सुरक्षा संवेदनशीलतामा आघात नपुगोस् भन्ने हिसाबले मात्र सफ्टवेयर बनाएका हौं ।'खासगरी खाडी मुलुकमा नेपाली राहदानी किर्ते गरी बंगलादेशी र भारतीय मूलका नागरिक वैदेशिक रोजगारीमा जाने गरेको फेला परेपछि विभागले यस्तो कदम चालेको हो ।

कुवेतमा बंगलादेशी नागरिक वैदेशिक रोजगारीका लागि अयोग्य भएपछि उनीहरूले हस्तलिखित नेपाली राहदानी लिएको पटक पटक खुलेको छ । करिब १ वर्षअघि पनि नेपाली राहदानी किर्ते गरी कुवेत पुगेका ३६ बंगलादेशी नागरिक पक्राउ परेका थिए । बंगलादेशमा हस्तलिखित राहदानी ३ लाख रुपैयाँसम्ममा खरिद बिक्री भएको खुलेको थियो । त्यस्तै मलेसियामा सुरक्षा गार्डका लागि मलेसियाकै नागरिकबाहेक नेपाली नागरिकलाई मात्र योग्य मानिन्छ । हस्तलिखित राहदानी किर्ते गरी धेरै विदेशी मलेसिया पनि पुगेको हुन सक्ने विभागका केही उच्च अधिकारीहरूको अनुमान छ । सफ्टवेयर सञ्चालन गर्न सम्बन्धित अधिकृतलाई 'पासवर्ड' दिइएको छ । त्यसबाट कुनै अधिकृतले नियतवश फिर्ता नभएका राहदानी रुजु नगरी 'अनलक' गरे त्यसको विवरण पनि सफ्टवेयरमा सुरक्षित रहन्छ । त्यस्तो राहदानी दुरुपयोग भए अनलक गर्ने अधिकारी कारबाहीको भागी बन्छ । 'सेवाग्राहीले एउटै कामका लागि कोठा कोठा चाहार्नु नपरोस् । सबै काम एउटै कोठाबाट सकियोस् र सम्बन्धित अधिकारी जिम्मेवार बनून भनेर यस्तो व्यवस्था गरिएको हो,' केसीले भने ।

Published on: 3 May 2013 | Kantipur

Back to list

;