s

राहदानी विभागलाई परराष्ट्रमन्त्रीको निर्देशन- ‘ई–पासपोर्टको योजना बनाउनु’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ई–पासपोर्टका लागि योजना बनाउन राहदानी विभागलाई निर्देशन दिएका छन् । उनले हाल जारी भइरहेको मेसिन रिडेबल पासपोर्टलाई थप सुरक्षित र सहज बनाउन विभागका महानिर्देशक रामकाजी खडकालाई निर्देशन दिएका हुन् । 
 
राहदानी विभाग र कन्सुलर सेवा विभागको मंगलबार स्थलगत अध्ययनपछि आयोजित कार्यक्रममा ज्ञवालीले जिल्ला र दूतावासहरूबाट पासपोर्ट वितरणमा ढिलाइ हुन नदिन पनि आग्रह गरे । उनले परराष्ट्र मातहत रहेका राहदानी विभाग र कन्सुलर सेवा विभाग जनताले सरकार चियाउने आँखीझ्याल भएकाले गुनासारहित कार्यान्वयनका लागि निर्देशन दिए । गलत व्यक्तिको हातमा यस्ता संवेदनशील निकायको कार्यसम्पादन परेमा देशकै छविमा आँच आउने हुनाले राहदानीको तथ्यांक सुरक्षामा विशेष ध्यान दिन उनले निर्देशन दिए ।
 
‘राष्ट्रप्रति प्रश्न उठ्न नसक्ने गरी तथ्यांक सुरक्षित गर्न र हयाकरको चुनौतीलाई चिर्दै प्राविधिक पाटोमा ध्यान दिनसमेत आवश्यक छ,’ उनले भने, ‘कन्सुलर विभाग पश्चिम एसियाली मुलुकमा काम गर्ने नेपालीको समस्या सुल्झाउने स्थान हो । यसको प्रभावकारिता पनि उत्तिकै आवश्यक छ ।’ उनले सेवाग्राहीलाई खुसी नबनाएसम्म सन्तुष्टि नहुने हुनाले हृदयदेखि नै आफूहरू जनताको सेवक भन्ने मान्यताबाट काम गर्न सबैको ध्यानाकर्षण गराए ।
 
राहदानी विभाग र कन्सुलर सेवा विभागका लागि त्रिपुरेश्वरमा अत्याधुनिक भवन बन्न थालेपछि कन्सुलर विभाग पनि राहदानी विभागकै परिसरमा दुई साताअघि सरेको हो । राहदानी विभागका महानिर्देशक खडकाले ई–पासपोर्टको तयारीबारे जानकारी दिए । कन्सुलर विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले पनि कन्सुलर सेवाको पछिल्लो कार्यसम्पादन र कार्यालय सारेपछिको व्यवस्थापनबारे जानकारी दिएका थिए । कार्यक्रममा परराष्ट्रका अन्य अधिकारी पनि सहभागी थिए।
 
Published on: 16 May 2018 | Kantipur

Back to list

;