s

राहदानी बनाउने आधा विद्यार्थी

झापामा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्यामा कमी आएको छ । तर, विदेश अध्ययनका लागि जाने भन्दै राहदानी बनाउनेको संख्या भने बढेको छ ।

पढ्नका लागि युरोप, अस्ट्रेलिया र अमेरिका जाने भन्दै राहदानी बनाउनेको संख्या बढ्न थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहदानी फाँटका प्रशासकीय अधिकृत दीननाथ लम्सालका अनुसार गत आर्थिक वर्ष राहदानी बनाउनेको संख्या तुलनात्मक रूपमा कमी भए पनि अध्ययनमा जाने भन्नेको संख्या भने उच्च रह्यो । गत आवमा १८ हजार ८ सय ८५ जनाको राहदानी सिफारिस गरिएको लम्सालको भनाइ छ । यसमा ५० प्रतिशत विद्यार्थी नै रहेको प्रशासकीय प्रमुख चुडाराज भट्टराईको भनाइ छ ।

चालू आवको साउन मध्यसम्म दु्रत सेवामा ७६ जना विद्यार्थीले राहदानीका लागि सिफारिस लगेको जनाइएको छ । सिफारिस लिएर काठमाडौंबाट राहदानी बनाई अध्ययनसँगै काम गर्न जाने सिफारिस लिन आउने संख्या बढेको हो । राहदानी बनाउनेमा १० जोड दुई अध्ययनरत विद्यार्थी बढी छन् । राहदानी बनाउने अधिकांश १८ देखि २२ वर्षका छन् ।

आव २०७३÷७४ भन्दा २०७४÷७५ मा १ हजार २ सय ७१ कमले राहदानी बनाएको तथ्यांक छ । आव २०७३÷७४ मा २० हजार १ सय ५६ जनाले राहदानी बनाएका थिए ।

अध्ययनसँगै कामका लागि विदेश जाने तयारीमा रहेका बिर्तामोडका उत्सव गिरीले भने, ‘नेपालको शिक्षाले खासै उपलब्धि होलाजस्तो लागेन, विदेशमा लिएको शिक्षा भनेपछि फरक रूपमा हेरिँदो रहेछ । त्यसैले उच्च शिक्षाका लागि अस्ट्रेलिया जान लागेको छ ।’

दमक र गौरीगन्जमा इलाका प्रशासन कार्यालय सञ्चालन गरी राहदानीको सिफारिस गरिएको लम्सालले सुनाए । उनका अनुसार गत आव दमकबाट ८ हजार ३ सय नौ र गौरीगन्जबाट ३ हजार १ सय २९ जनालाई राहदानी सिफारिस गरिएको थियो । जिल्ला प्रशासन कार्यालयबाट ३८ हजार ५ सय ८२ जनाले नागरिकता पाएका छन् ।

Published on: 18 August 2018 | Annapurna Post

Back to list

;