s

राजदूतको गैरकूटनीतिक क्रियाकलाप

होम कार्की

वैदेशिक रोजगारका लागि प्रमुख गन्तव्य मानिएको कतारस्थित नेपाली दूतावास कुनै समय चार लाख नेपालीका लागि दरिलो अभिभावकको रूपमा दर्ज भएको थियो । विदेशस्थित कूटनीतिक नियोगमध्ये कम जनशक्तिले उच्च चापलाई आडभरोसा दिँदा कतार दूतावासको चहलपहलले ठग, दलाल र बदमासी गर्ने म्यानपावर व्यवसायीको सातो लिएको थियो । वैदेशिक रोजगारभित्र देखिएको 'मानवतस्करको प्रथा' रोक्न सरकारलाई दूतावासले एउटा 'प्रेसर'मा राखेको थियो । खाडीमै नमुना दूतावासको रूपमा देखिएको त्यसको नेतृत्व गरेका प्राध्यापक डा.सूर्यनाथ मिश्रले दु्ई देश बीचको सम्बन्धलाई थप सुदृढ त बनाए नै, स्थानीय सरकारी संयन्त्रसँग कुशल समन्वय गरी दुःखी, पीडित नेपालीको उद्धार प्रक्रियामा खेलेको भूमिका अहिले पनि कतारमा श्रमिकमाझ चर्चा  गरिन्छ ।

कूटनीटिक जगत, अन्तर्राष्ट्रिय सम्बन्ध र बदलिँदो विश्व परिवेश, पदीय जिम्मेवारी र कर्तव्यबोध गर्न नसक्ने व्यक्तिलाई राजदूत बनाइँदा कस्तो हविगत हुन्छ भन्ने विषय फेरि यहीं कतारस्थित नेपाली नियोगले प्रमाणित गरिदिएको छ । यतिखेर अर्थशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा अर्थशास्त्रमा विद्यावारिधि गरेको प्रमाणपत्र पेस गरेकी डा. मायाकुमारी शर्मा कतारका लागि नेपाली राजदूत छन् । एमाओवादीले आफ्नो पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेको चितवनस्थित कृषि विकास बैंककी 'पानी बढुवा' शाखा अधिकृत शर्मालाई राजदूत बनाएर पठाएदेखि नै विवादको चर्चामा आइरहेकी छन् । हुन त उनी संसदीय सुनवाइमा आफ्नै विश्वविद्यालय -कुमाउ गढवाल) को नामको स्पेलिङ बायोडाटामा फरक-फरक लेखेर चर्चामा आएकी थिइन् । तर कतारमा भने पदीय दायित्व निर्वाह गर्न नसक्नुका साथै गैरकूटनीटिक क्रियाकलापबाट बढी विवादमा छन् । परिणामस्वरुप आफैले सिफारिस गरेको राजदूत शर्मालाई एमाओवादीले राजीनामा गराई फिर्ता बोलाउने निर्णय गर्नुपर्‍यो ।

९ मई २०१२ मा कतार आएकी शर्माको सुरुदेखिकै क्रियाकलाप श्रमिक मैत्री हुन नसक्दा उनैलाई सिफारिस गर्ने एमाओवादीको कतारस्थित संगठन जनप्रगतिशील मञ्चले तीन महिनाअघि नै शर्माको क्रियाकलापले पार्टीको छविमा आँच आएको र जति राजदूतको भूमिकामा बस्दै गयो, त्यति नै पार्टीलाई क्षति पुग्ने भनेर फिर्ताको लागि निर्णय गर्न पार्टी हेडक्वाटरलाई सिफारिस गरेको थियो । राजदूतले न यहाँ कतार सरकारसँग दरिलो सम्बन्ध राख्न सकिन्, नत यहाँको नेपाली समाजलाई विश्वासमा लिन सकिन् । उनको व्यवहारले एमाओवादीकै स्थानीय कार्यकर्तालाई सुरक्षा थ्रेट महसुुुस गराइदिएको स्थिति बन्यो । हालैमात्र राजदूत शर्माले निजी सचिव शालिग्राम पोखरेललाई गैरकानुनी हैसियतमा काममा लगाइरहेको सार्वजनिक भयो । स्थानीय कम्पनीबाट भिसाको प्रबन्ध गरिदिएर आफैले निजी सचिवका लागि कतार ल्याएकी पोखरेललाई गैरकानुनी स्थितिमा राखिराख्नु र यसको तनावले स्वास्थ्यमा असर परेपछि पोखरेल आफै स्वदेश फर्किर्र्एपछि शर्मालाई अर्को धब्बा लाग्न पुग्यो । अझ तत्कालीन निजी सचिवले 'शर्माको निकै गैरजिम्मेवार र पत्याउन नसकिने दुई गम्भीर' आरोप लगाएर फर्के । 'राजदूत शर्माले एमाओवादी कतारका सल्लाहकार राजु डुम्रेलाई उनको कोठामा मदिरा खाइरहेका बेला समूहमा पक्राउ गर्न स्थानीय नेपाली सीआईडीसँग योजना बन्नुभएको छ', पोखेरलले भने, 'अझ उनीहरूलाई सकभर एकदम धेरै वर्ष जेल हुनेे मुद्दा लगाउन सकिने खोजीमा राजदूत हुनुहुन्छ ।' 

आफू राजदूत निवासमा परराष्ट्र मन्त्रालयलाई पठाइसकेको स्पष्टीकरणलाई मिलाउन गएको बेला राजदूत र एकजना सीआईडीको लागि  काम गर्ने नेपालीबीच भइरहेको टेलिफोन वार्ता प्रत्यक्ष सुुनेको पोखरेल बताउँछन् । 'उहाँहरूबीच यस विषयमा १७ मिनेट टेलिफोन वार्ता भयो । मोबाइल लाउडस्पिकरमा भएकाले उताको आवाज पनि सुन्ने मौका मिल्यो', उनले भने, 'यतिसम्म तल गिरेर काम गर्नुभयो ।'

यस अघि पनि जनप्रगतिशील मञ्चको बैठक कतारको स्थानीय पार्क मुन्ताजामा बसिरहेका बेला एकजना नेपालीले एकजना प्रहरी लिएर गएको थियो । त्यतिखेर प्रहरीले सोधपुछ गरेको थियो । त्यो पनि राजदूतकै योजनामा भएको शालिग्रामको दाबी छ । 'उताबाट त्यही नेपालीले २० वटा गाडी लिएर जाउँ त भनेर सोधिरहेको थियो । त्यतिखेर राजदूतले एउटा प्रहरी भए उनीहरू भागिहाल्छन् भनेर जवाफ दिनुभयो', उनले भने । यद्यपि राजदूत शर्माले दुबै घटना अस्वीकार गरेकी छन् । 'मैले त्यसरी टेलिफोन गरेको छैन । मुन्ताजा घटना विलकुलै गलत कुरा हो । मेरो स्थानीय सीआईडीसँग त्यस्तो कुनै सम्बन्ध छैन । त्यसरी स्थानीय सीआईडीसँग कुरा गरेर पठाउन मिल्दा पनि मिल्दैन', राजदूत शर्माले भनिन्, 'मेरो चरित्रहत्या गर्न किन लागिराख्नु हुन्छ ?' आफ्नै निजी सचिवले लगाएका यी दुई गम्भीर आरोपको छानबिन हुन जरुरी छ ।

राजदूतबाट श्रमिक र उसलाई विरोध गर्नेहरू पनि असुरक्षित छन् । राजदूतको काम श्रमिक मैत्री नभई दलाल मैत्री भएको भन्दै एउटा लेख लेख्ने र विशुद्ध साहित्यिक कार्यक्रममा मात्रै सहभागी हुने दीपेन्द्र -दीपक भेटवाल) लाई एकदमै झुठो आरोप लगाई 'डिपोर्ट' गर्न खोजेर पदीय दुरुपयोग गर्न खोजिन् । 'नेपालीलाई राजनीति गर्न उक्साउने, गालीगलौज तथा धम्कीपूर्ण वाक्यांशहरू लेख्ने र अन्यलाई लेख्न उक्साउने, नेपालीहरू कार्यरत कम्पनीहरूमा विभिन्न माग राखी हड्ताल, बन्द गर्न लगाउने तथा कतारको नियम कानुन बर्खिलाप हुनेगरी सभा, सम्मेलन र भेटघाटका कार्यक्रमहरू, सर्वसाधारण प्रवेश गर्न निषेध गरिएका कृषि फारम र श्रमिक क्याम्पहरूमा घुसपैठ गर्ने व्यक्तिहरूलाई फिर्ता पठाई कतारमा नेपालीहरूको समस्या कम गर्ने उद्देश्यले नागरिकलाई यहाँबाट निष्कासन गर्न यस दूतावासबाट कतारी परराष्ट्र मन्त्रालयमा पत्र लेखी पठाएको ब्यहोरा साँचो हो', १२ गते असार पराराष्ट्रलाई बुझाएको स्पष्टीकरणमा भनेकी छन् ।

योभन्दा पनि अर्को हर्कत उदेकलाग्दो छ । उनले दिएको टेलिभिजन अन्तर्वार्तामा चित्त नबुझाएर प्रतिक्रिया जनाउने एउटा होटलमा कार्यरत नीर फुयाललाई कामबाट निकाल्न कम्पनीको म्यानेजरलाई दूतावासमै बोलाएर निर्देशन दिइन् । 'फुयालबाट भोलि तपाईंको व्यवस्थापनलाई समस्या आउन सक्छ । उनलाई एक्जिट दिनुस्', राजदूतको भनाइ उद्धृत गर्दै पौडेलले भने, 'तर त्यसमा कम्पनी म्यानेजर सहमत भएनन् ।'  शर्माले चरित्रहत्या गरेर लेखेकाले फुयालको विषयमा जानकारी लिनमात्रै बोलाएको बताए । राजदूतले जनप्रगतिशील मञ्चका संरक्षक शनिकुमार वली, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष रवि रोषीका स्पोन्सर दिने कम्पनीलाई बोलाएर स्पोन्सर रद्द गर्न दबाब दिएकी थिइन् । यसबारे एमाओवादीकै नेता बाबुराम भट्टराईसमक्ष राजदूतले रद्द गर्न दबाब नदिई सोधपुछ मात्रै गरेको जवाफ दिएकी थिइन् । उनीबाटै राम्रोसँग छानबिन नगरी एक वर्षअघि नेपाली व्यवसायी सरोज पुडासैनीलाई पनि डिपोर्ट गर्न पत्र पठाएको थियो । त्यसमा पनि राजदूत विवादमा छन् ।

कतारमा नेपाली कामदारको सवाल उठाउँदै आएको यस पंक्तिकारलाई पक्राउ गरेर पठाउन गर्नुसम्मको कसरत गरेकी थिइन् । 'तिमी महामहिम हो । तिम्रो पावर देखाइदिनुपर्छ' भनेर उक्साउने राजदूतका पति देवीप्रसाद ढकालले भनेजसरी काम गर्थिन् । यस पंक्तिकारको फोटो दिएर दूतावासको सेन्ट्रीमा बसेको सुरक्षाकर्मीलाई पक्राउन लगाउने, आवत-जावतमा निगरानी राख्ने, आईडी नम्बर दिलाउने स्पोन्सरलाई दबाब दिनेसम्मको काम गर्न राजदूत पछाडि परिनन् । यसमा परराष्ट्रबाट हस्तक्षेप गरेपछि राजदूत दम्पती पछाडि हटे । यस्ता व्यवहारबाट उनी जोगिँदै आएकी थिइन्, तर कूटनीतिक मर्यादा विपरीत बाहिर गई 'कतारलाई खुल्ला जेल' भनेर अभिव्यक्ति दिएपछि उनको कूटनीतिक क्षमतामा गम्भीर प्रश्नचिन्ह खडा भएको थियो । यो अभिव्यक्तिलाई कतार सरकारले निकै गम्भीर रूपमा लिई गत अपि्रलबाटै छानबिन सुरु गर्‍यो । अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो विदेश नीतिलाई सफल रूपमा अगाडि बढाइरहेको र अन्तर्राष्ट्रिय सरकार प्रमुखहरूको बाक्लो आउजाउ गर्ने कतारमा राजदूतको यो अज्ञानता निकै महँगो पर्‍यो । 'मित्रराष्ट्र कतार र कतारी जनताप्रतिको भावनामा ठेस पुगेको अनुभव भएको भए त्यसप्रति क्षमा गरिदिनुहुन', जून २४ मा कतारको परराष्ट्र मन्त्रालयमा दिएको स्पष्टीकरणमा भनेकी छन्, 'यसबाट हाम्रा दुई देश बीचको अत्यन्त सौहार्दपूर्ण सम्बन्धलाई मजबुत र प्रगाढ बनाउन यो घटनाले मलाई सदैव मार्गदर्शन गर्नेछ ।' यसै सेरोफेरोमा आफू निरन्तर विवादमा आएपछि आफू र कतारमा काम गर्ने कामदारको विषयमा लेखिएका समाचारका कटिङसहित कतार सरकारलाई कान्तिपुरले गलत समाचार लेखिरहेको भन्दै पत्रिकाविरुद्ध नै जून २७ मा एउटा औपचारिक पत्र पनि लेख्न भ्याएकी छन् ।

कतारमा पेरिसडाँडा कृतिबाट भएका गैरकूटनीटिक हर्कतले नेपाली आफ्नै राजदूतको असक्षमताको सिकारमा छन् । यसको असर यहाँ काम गर्ने कामदारले भोग्नुपर्‍यो । दूतावासको सामान्य प्रशासनसमेत चलाउन कठिनाइ ब्यहोर्ने शर्मालाई परराष्ट्र मन्त्रालयबाट कारबाही नभएपछि कतार सरकार आफैले छानबिन गरेर 'दुई देश बीचको सम्बन्धलाई असर पार्न नदिन' भन्दै फिर्ता बोलाउन औपचारिक पत्र नै दिनुपर्‍यो ।

Published on: 24 September 2013 | Kantipur

Back to list

;