s

राजदूत शर्मालाई फिर्ता बोलाउने एमाओवादी निर्णय

एमाओवादी कोटामा डेढ वर्षअघि कतारको राजदूत भएकी मायाकुमारी शर्मालाई उक्त पार्टीले नै फिर्ता बोलाउने भएको छ। शर्मा विवादमा परेपछि पार्टीले उनलाई राजीनामा गराएर फिर्ता बोलाउने निर्णय गरेको हो। नेपाल सरकारले उनलाई फिर्ता नबोलाए कतार सरकारले नै फिर्ता पठाउने भएपछि एमाओवादीले फिर्ता बोलाउने निर्णय शुक्रबार गरेको हो।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको एमाओवादी बैठकले उक्त निर्णय गरेपछि उनलाई फिर्ता बोलाउन सरकारलाई पनि बाटो खुलेको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शर्मालाई फोन गरेर राजीनामा दिन निर्देशन दिएका छन्।

एमाओवादी नेता पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘विवादमा परेकाले शर्मालाई फिर्ता बोलाउने निर्णय केन्द्रीय कार्यालयले गरेको हो। उनको स्थानमा कसलाई पठाउने भन्ने निर्णय सरकारसँग सल्लाह गरेर गरिनेछ।’ कृषि विकास बैंकमा अधिकृत रहेकी शर्मालाई पार्टी कोटाबाट राजदूत बनाउने निर्णय एमाओवादीले गरेको थियो। उनलाई बाबुराम भट्टराई नेतृत्वको सरकारले राजदूतमा नियुक्त गरेको थियो।

कूटनीतिक मर्यादा उल्लंघन गर्दै शर्माले एक टेलिभिजन अन्तर्वार्तामा कतारलाई ‘खुला जेल’ भनेकी थिइन्। त्यही कारण उनी विवादमा आएकी हुन्।

माओवादी कोटामा नियुक्त भएका अन्य दुई राजदूत पनि विवादमा परेका छन्। बेल्जियमका राजदूत राममणि पोखरेल र दक्षिण कोरियाका राजदूत कमानसिंह लामाको कार्यशैली र क्षमताबारे पनि उजुरी परेका छन्। त्यहाँ रहेका नेपालीले पनि उनीहरूको कार्यक्षमताको विषयमा प्रश्न उठाउँदै आएका छन्।

Published on: 21 September 2013 | Annapurna Post

Back to list

;