s

राजदूत नियुक्ति सुल्झाउन परराष्ट्रमन्त्रीको आग्रह

 परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्तिमा प्रधानमन्त्री सुशील कोइरालासँग  कुराकानी गरी सहमति जुटाउन आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले बुधबार बसेको पार्टी पदाधिकारी बैठकमा अध्यक्ष ओलीलाई राजदूत नियुक्तिको समाधान खोज्न आग्रह गरेका हुन्। अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल तथा आमन्त्रित सदस्यसमेत गरी १८ जना उपस्थित रहेको बैठकमा पाण्डेले कांग्रेसका कारण परराष्ट्रका सहसचिव (करिअर डिप्लोमेट्स) लाई समेत राजदूत नियुक्त गरेर पठाउन नसकिएको गुनासो गरेका थिए। उनले हाल राजदूत रिक्त रहेका १६ दूतावासमध्ये छवटामा परराष्ट्रका कर्मचारीलाई पठाउने आफ्नो प्रयास कांग्रेसका कारण रोकिएको बताए। 

'वरिष्ठता र कार्यक्षमताका आधारमा निर्माण गरिएको मापदण्डअनुसार मैले परराष्ट्रका छजना सहसचिवको नाम मन्त्रिपरिषदमा लगेको थिएँ। तर, कांग्रेसले मापदण्डका आधारमा छनोट गरिएको करिअर डिप्लोमेट्सको नाममा समेत किचलो झिक्यो र नियुक्ति प्रक्रिया रोकियो,' बैठकमा परराष्ट्रमन्त्री पाण्डेको भनाइ उद्वृत गर्दै एमालेका एक पदाधिकारीले नागरिकसँग भने, 'राजनीतिक नियुक्ति त परको कुरा, परराष्ट्रका कर्मचारीलाई समेत राजदूत नियुक्त गर्न सकिएन। अब अध्यक्ष (ओली) ज्यूले प्रधानमन्त्रीसँग छलफल गरी सहमति जुटाउनुपर्यो ।

विगतमा राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाबाट ५० प्रतिशत र राजनीतिक भागबन्डामा ५० प्रतिशत समेट्ने सहमति भएको थियो। हाल ३२ वटा देशमा नेपालको दूतावास तथा नियोग रहेकोमा १० ठाउँमा राजदूतका रूपमा करिअर डिप्लोमेट्स कार्यरत छन्। अब १० राजनीतिक र ६ करिअर डिप्लोमेट्सलाई राजदूत नियुक्त गर्न लागिएको हो। राजनीतिक कोटामा आउने नाममा दलहरूबीच सहमति जुटाउन लामो समय लाग्ने भएपछि मन्त्री पाण्डेले परराष्ट्रका छ सहसचिवलाई मात्रै भए पनि राजदूत नियुक्त गरी पठाउने प्रक्रिया अघि बढाएका थिए। 

वरिष्ठता र कार्यक्षमताका आधारमा मन्त्री पाण्डेले परराष्ट्रका सहसचिवहरू दीपक धिताल, अर्जुनकान्त मैनाली, कालीप्रसाद पोखरेल, अम्बिका लुइँटेल, खगनाथ अधिकारी र अमृत राई छनोट गरेका थिए। 'कांग्रेसले करिअर डिप्लोमेट्सको नाम पठाउँदा जुनियरलाई पनि समावेश गर्नुपर्छ भनेर अड्को थापेपछि राजदूत नियुक्ति प्रक्रिया रोकिएको हो,' मन्त्री पाण्डेले एमाले पदाधीकारी बैठकमा भने। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्रोतका अनुसार मन्त्री पाण्डेले छनोट गरेकामध्ये धेरै एमालेनिकट रहेकाले कांग्रेसनिकट सहसचिवलाई समेट्न कांग्रेस मन्त्रीहरूले दबाब दिँदै आएका छन्। कांग्रेसले सिफारिस गरेको नाम मन्त्री पाण्डेले सूचीमा राख्न अस्वीकार गरेपछि मन्त्रिपरिषद बैठकमा पटक–पटक छलफल भए पनि सहमति जुट्न नसकेको स्रोत बताउँछ। 'मन्त्रिपरिषद बैठकमा परराष्ट्रका सहसचिवलाई राजदूत नियुक्ति गर्ने विषयमा पटक–पटक छलफल भएको छ। वरिष्ठ र कनिष्ठ, एमाले र कांग्रेसनिकटजस्ता कुराले सहमति जुट्न सकेको छैन,' स्रोतले भन्यो। 

अहिले भारत, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, थाइल्यान्ड, जेनेभा (स्विट्जरल्यान्ड), क्यानडा, जर्मनी, इजिप्ट, कतार, कुवेत, श्रीलंका, ब्राजिलस्थित नेपाली दूतावास राजदूतविहीन छन्। फ्रान्सका लगि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको कार्यावधि सकिएपछि अहिले दुई महिनाका लागि समय थप गरिएको छ। बहराइन र ओमानस्थित दूतावासको समेत स्तरोन्नोति गर्नुपर्ने भएकाले सरकारले अहिले एकसाथ १६ स्थानमा राजदूत नियुक्ति गर्नुपर्छ। भारतस्थित नेपाली दूतावास राजदूतविहीन बनेको तीन वर्ष पुग्न लागेको छ। 

बुधबारको एमाले पदाधिकारी बैठकमा मन्त्री पाण्डे आमन्त्रित सदस्यका रूपमा सहभागी थिए। बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राजेन्द्र पाण्डे पनि आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए। राजदूत नियुक्ति नहुँदा कुटनीतिक समुदायमा नेपालको उपस्थिति कमजोर बन्दै गएको मन्त्री पाण्डेको भनाइ थियो। 

प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने प्रधानमन्त्रीका कारण राजदूत नियुक्ति प्रक्रिया नरोकिएको बताए। 'प्रधानमन्त्रीका कारण राजदूत नियुक्ति हुन नसकेको भन्ने भनाइ गलत हो। राजदूत नियुक्तिको ग्राभिटीप्रति प्रधानमन्त्री सचेत हुनुहुन्छ,' उनले भने।

Published on: 14 August 2014 | Nagarik 

Back to list

;