s

राहतको आसमा जीवन कष्टकर

प्रकाश बराल

'दुई वर्षअघि दसैंको मुखमा पैसा आउला भन्दा श्रीमान्को हत्या भयो, लास आउन पनि ६ महिना लाग्यो, उनले पाउनुपर्ने तलब पाइएन, आस देखाएको राहत पनि आएन' बागलुङ छिस्ती ७ की विष्णुमाया परियारले यस्तै गुनासो गर्दै राहतको पर्खाइ गरेको दुई वर्ष बित्यो । 

ड्युटीमा रहँदा साउदी अरबको तामेमी कम्पनीमा कार्यरत परियारलाई ०६६ असोज १८ गते अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेको थियो ।

परियारको मृत्युपछि श्रीमती र छोराछोरीले रातहका लागि धाउँदा हैरानी खेप्नुपरेको गुनासो गरेका छन् । तीन छोरी र दुई छोरासँगै श्रीमती विष्णुमायाको परिवार अहिले निराश छन् । जग्गा जमिन नभएकाले दैनिक ज्याला मजदुरीमा जानुपर्ने भए पनि विष्णुमाया काम गर्न नसक्ने कमजोर भएकी छन् । हत्याको ६ महिनासम्म साउदीबाट शव नआएकाले उनी कमजोर भएकी थिइन् । अहिले पनि उनी शारीरिक रूपमा कमजोर भएपछि दैनिक मजदुरी गर्न सक्दिनन् ।

छोराछोरीलाई स्थानीय सरकारी विद्यालयमा पढाए पनि अहिले खर्च अभावमा कापीकलम जुटाइदिन नसक्ने अवस्था आएको उनले गुनासो गरिन् । 'श्रीमान्ले काम गरेको झन्डै एक वर्षअघिदेखिको तलब पनि पाउनुपर्ने छ,' परियारले भनिन्, 'जति धाए पनि केही पाउन सकिएन ।' उनका अनुसार राहत रकमसमेत गरी ५ लाखभन्दा बढी पाउनुपर्ने भए पनि नपाएपछि घर खर्च चलाउन समस्या भएको हो ।

आवश्यक कागजात बनाएर दूतावासमा पठाएको कुनै सुनुवाइ नभएको उनले गुनासो गरिन् । पटकपटक काठमाडौं जाने आउने गर्दा खर्चले धान्न गाह्रो भएको परियारले बताइन् । सधैं जाने आउने र रित्तो हात र्फकनुपर्दा समय र खर्चको बर्वाद भयो ।

परियारको हत्याको ४५ दिनसम्म पनि शव नआएपछि भाञ्जा सुरज साउदी जाँदा उनी पनि बस दुर्घटनामा परेर मृत्यु भएको हो । खोजी गर्न गएका सुरज र कविराजको अघिल्लो वर्षको चैत १ गते सँगै शव नेपाल आइपुगेको थियो । राहत खोज्न सहयोग गर्नेकै मृत्युले उनीहरू झनै मर्माहत भए । मृतकका दुई दाइमध्ये एकको लडेर तथा अर्काको क्षयरोगले यसअघि मृत्यु भइसकेको छ । आफन्त सबै गुमाएपछि पाँच बालबालिकासहित विष्णुमायाको परिवारमा बिचल्ली भएको हो ।

विद्यालयमा पढ्ने खर्च अभावमा बालबालिकाले फलेबाससम्म गएर छिमेकीका सामान बोक्ने काम गर्न थालेका छन् । 'छिमेकीको खाद्यान्न, अन्य निर्माण सामग्री बोकेर कमाएको पैसाले पढाइ खर्च जोहो गरेका छौं,' छोरी कविताले भनिन् । 'फलेवास पुगेर ल्याएको भारीबापतको ज्याला र मेलापातको कमाइले घर खर्च गरेका छौं,' कविताले भनिन्, 'विद्यालय पोसाक, कापी किताब किन्न र दुई छाक खान पनि समस्या छ ।'

Published on: 7 September 2011 | Kantipur

Back to list

;