s

क्वालालम्पुर विमानस्थलमा दिनहुँजसो लुटिन्छन्

रमेश खतिवडा

मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलका लागि निस्किए। विमानस्थलको दुई तलामुनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए। त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको दुई तलामाथि जान लिफ्ट चढ्नुपर्छ। काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे सवारीको सहारा लिनुपर्छ।

प्लास्टिकमा प्याकिङ गरिएको र बाहिरपट्टि डोरीले बाँधिएको लगेजसहित उनी ट्याक्सीबाट झरेलगत्तै दुई य्ुवक त्यहाँ आइपुगे। तिाीहरूले आफूहरू विमानस्थलको कर्मचारी रहेको परिचय दिँदै यात्रुको सहयोगका लागि बसेको बताए। उनीहरूले कुन एयरलाइन्सबाट कता जान लागेको भनेर सोधेपछि थापाले नेपाल एयरलाइन्सबाट काठमाडौं जान लागेको भन्दै सीधा जवाफ दिए। आफूसँग पासपोर्ट मागेपछि उनको मनमा चिसो पस्यो। छलिएर लिफ्टतर्फ अघि बढ्दा ती युवकहरूले थापाको पिछा गरे। लिफ्टमा तीनजना मात्र भए। थापासँग पैसा माग्न थालियो। अन्ततः उनी यस्तो परिबन्धमा परे, ५० मलेसियन रिंगेट नदिई ती युवकहरूबाट छुटकारा पाउनै सकेनन्। उनी हतारहतार एयरलाइन्सको काउन्टरतर्फ हानिए। उनले त्यस घटनाबारे कसैलाई केही सुनाएनन्। जहाज चढेर चुपचाप नेपालतिर लागे। ‘प्रहरीलाई खबर गर्न थालियो भने अनेक केसको लफडामा परिन्छ र जहाज छुट्यो भने अर्को फसाद पर्छ भनेर कसैलाई भनिन्,’ थापाले भने।

मलेसियाको क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा लुटिने थापा एक्ला नेपाली हैनन्। रोजगारीबाट छुट्टीमा घर फर्किने क्रममा धेरै नेपाली विमानस्थलको सो भागमा दैनिकजसो लुटिन्छन्। लुटिनेमा नेपालीसँगै बंगाली र अरबिकहरू पनि पर्ने गरेका छन्। मलेसियाका लागि नेपाली राजदुत कुमारराज खरेलका अनुसार सावधानी नअपनाउँदा घर फर्किने नेपालीहरू बिमानस्थलमा लुटिने गरेका हुन्। ‘रेल र बस स्टेसनबाट माथि काउन्टर तर्फ जान लिफ्ट चढ्नुपर्छ,’ खरेलले नागरिकसँग भने, ‘काउन्टर नपुग्नजेलसम्मको क्षेत्रमा बढी लुटपाट हुँदो रहेछ।’ उनका अनुसार नेपाली कामदार त्यो क्षेत्रमा लुटिने घटनाबारे मलेसियाको गृह मन्त्रालय, अध्यागमन विभाग र विमानस्थलका सुरक्षा अधिकारीसँग दूतावासले पटकपटक ध्यानाकर्षण गराएपछि केही साताअघि मलेसियाली सरकारले दूतावासलाई इमेल गरेर त्यसरी लुटपाटमा संलग्न केहीलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी गराएको थियो।

राजदूत खरेलले पछिल्लो समय लुटिएकोबारे दूतावासमा जानकारी नआएको बताए। ‘तैपनि विमानस्थलको त्यो क्षेत्र संवेदनशिल रहेकाले सतर्क हुन जरुरी छ भनेर नेपाली कामदारलाई सूचना गरेका छौं,’ उनले भने। नेपाली दूतावासका प्रथम सचिव विनोद मुखियाका अनुसार घर फर्किंदा नेपालीले विमानस्थलको प्रस्थान क्षेत्रमा बढी सजगता अपनाउनुपर्छ। ‘हामी विमानस्थलका कर्मचारी हौं भन्दै गाडीबाट झरेपछि एयरलाइन्सको काउन्टर र अध्यागमनसम्म पुग्न सहयोग गरिदिने बहानामा पैसा माग्छन्, नदिए लुट्छन्,’ मुखियाले भने, ‘विमानस्थलको काउन्टर, अध्यागमन र विमान चढ्ने ठाउँसम्म पुग्न कसैको सहयोग नचाहिने भएकाले सतर्क हुनुपर्छ।’ नेपाली लुटिएकोबारे दूतावासले मलेसियाली सरकारसँग कूटनीतिक चासो राखेसँगै अहिले नेपालीहरू लुटपाटमा पर्ने घटनामा कमी आएको मुखियाको भनाइ छ।

विमानस्थलमा अल्मलिन्छन नेपाली

घर फर्कंदा विमानस्थल झरेलगतै आफ्नो कागजात माग्न जोकोही आए पनि नदिन र काउन्टर नपुगुन्जेल आफ्नो पछि लाग्ने जोकोहीको वास्ता नगर्न दूतावासका अधिकारीहरूको सुझाव छ। विमानस्थल पुगेपछि नेपाली कामदार अध्यागमन पार गर्ने र विमान चढ्ने गेटसम्म पुग्नसमेत अल्मलिन्छन्। ‘मलेसियाको विमानस्थल आफैंमा ठूलो हुनुका साथै खुला पनि छ,’ मुखिया भन्छन्, ‘आफू चढ्ने विमानको काउन्टरबाट बोर्डिङ पास लिएर अगाडि बढेपछि जुनसुकै खुला स्थानबाट गए पनि अगाडि पुगेपछि अध्यागमनको डेस्क आइपुग्छ।’

अध्यागमन पार गरेपछि रेल चढेर विमान चढ्ने स्थान पुग्न सकिन्छ। त्यहाँ ड्युटी फ्री क्षेत्र छ। रेलबाट ओर्लिएपछि एयरलाइन्सले काउन्टरबाट दिएको बोर्डिङ पासमा लेखिदिएको विमान चढ्न जाने गेट नम्बर याद गर्नुपर्ने र भित्तामा टाँसिएका उक्त गेट नम्बर जाने संकेत बोर्ड याद गर्दै जानुपर्ने दूतावासका अधिकारीहरू बताउँछन्। मलेसियाको क्वालालम्पुर विमानस्थलबाट ओर्लंदा समेत आफ्नो लगेज झार्ने क्षेत्रमा नेपाली ठगिने गरेका छन्। विमानले आफ्नो लगेज पु¥याएको क्षेत्रमा लगेज झिकेर सुरक्षित राखिदिएको बाहनामा यात्रुबाट रकम असुल्नेहरूसमेत भेटिने गरेको नेपाली दूतावासले जनाएको छ। दूतावासले विमानबाट ओर्लिएलगतै आफ्नो लगेज कति नम्बर क्षेत्रमा पुग्यो भनेर हेर्न विमानस्थल भित्र सूचना दिने एलईडी मोनिटर हेर्न सुझाव दिने गरेको छ। नेपालीलाई आइपर्ने समस्याबारे दूतावासले साप्ताहिक रूपमा फेसबुक लाइभमार्फत सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने गरेको मुखियाले जानकारी दिए।

Published on: 19 February 2019 । Nagarik

Back to list

;