s

कतारसँगको श्रम सम्झौता पुनरावलोकनका लागि वार्ता

श्रम सम्झौताको पुनरावलोकनका लागि कतारसँग वार्ता हुने भएको छ । यसका लागि सोमबार राति ५ सदस्यीय नेपाली टोली कतार जाँदैछ ।

ओमान र यूइईसँग पहिलो चरणमा श्रम सम्झौताका लागि वार्ता गरेको सरकारले कतारसँग सम्झौता पुनरावलोकनका लागिछलफल गर्न थालेको हो । सन् २००५मा कतारसँग नेपालले श्रम सम्झौता गरेको थियो । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रायका सहसचिव रामप्रसाद घिमिरे नेतृत्वको ५ सदस्यीय टोली कतार जान लागेको छ । टोलीले १३ वर्षअघि कतारसँग भएको श्रम सम्झौतामा समायानुकल परिमार्जनको प्रस्ताव गर्ने घिमिरेले बताए ।

‘सम्झौतापछि विश्वमा आप्रवासन क्षेत्रमा धेरै परिवर्तन भएका छन्, विदेशी श्रमिकलाई हेर्ने, व्यवहार गर्ने र सुरक्षा दिने विषयमा आमूल परिवर्तन भएको छ,’ घिमिरेले भने,’हामी कतारसँग यिनै विषयलाई ध्यानमा राखेर आफ्ना प्रस्ताव गर्छौं ।’उनकाअनुसार कामदारलाई लैजाँदा लाग्ने शुल्क रोजगारदाताले नै ब्यहोर्ने, श्रमिकको भौतिक तथा समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने लगायतका बीमा कतारसँग नेपाली चासोका विषयहरु राखिनेछ ।

कामदारको २४ घण्टे बीमा गर्ने, न्युनतम् पारिश्रमिकमा वृद्धि गर्ने लगायतका विषयलाई पनि नेपालले कतारसँग सम्झौतामा उल्लेख गर्न प्रस्ताव गरेको छ । यस्तै नेपालमा स्थापना गर्ने भनिएको भिसा सेन्टरबारे पनि औपचारिक रुपमा नै सरकारबाट जवाफ मागिने घिमिरेले बताए ।

कतारले एकै स्थानबाट भिसा प्रक्रिया पुरा गर्ने भन्दै भिसा सेन्टर खोल्न प्रस्ताव गरेको थियो । तर, श्रम मन्त्रालयले कुनै सरकारी स्तरमा त्यस्तो समझदारी नभएको भन्दै असहमति जाएको थियो । यसका नाममा मलेसियाले जस्तै कामदारमाथि अतिरिक्त आर्थिक भार थोपर्न खोजिएको आशंका सरकारलाई छ ।‘पछिल्लो समयमा कतारले पनि श्रम कानुनमा सुधार गरेको छ, हामीले पनि वैदेशिक रोजगारका क्षेत्रमा विभिन्न नीतिहरु परिवर्तन गरेका छौं,’ घिमिरेले भने,’यो वार्तामा कतारसँग हाम्रा एजेन्डा स्पष्टसँग राख्छौं ।’ बुधबार र बिहीबार दुई देशबीच वार्ता हुने तय छ ।दुई देशले आफ्ना विषयहरुबारे जानकारी गराउने गरी सम्झौताको मस्यौदा आदानप्रदान गरिसकेका छन् ।

Published on: 11 March 2019 । Onlinekhabar

Back to list

;