s

कतारस्थित राजदूतलाई हटाउने एमाओवादी निर्णय

सुन्दर खनाल

एमाओवादीले आफ्नो सिफारिसमा कतारका लागि राजदूत बनाएकी मायाकुमारी शर्मालाई राजीनामा गराउने भएको छ । कतार सरकारले विवादास्पद राजदूत शर्मालाई फिर्ता बोलाउन औपचारिक रूपमै चेतावनी दिएको पर्सिपल्ट शुक्रबार पार्टी हेडक्वार्टरको विशेष बैठकले यो निर्णय गरेको हो । 'हामीले उहाँलाई राजीनामा दिएर आउन लिखित निर्देशन दिने निर्णय गरेका हौं,' पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।

शर्मा डेढ वर्षअघि दलीय भागबन्डामा माओवादीको सिफारिसबाट कतारका लागि राजदूत नियुक्त भएकी थिइन् । कृषि विकास बैंककी पूर्वकर्मचारी शर्माले दोहास्थित नेपाली दूतावासको जिम्मेवारी सम्हालेदेखि नै विवादास्पद कार्यशैली देखाउँदै आएकी हुन् । केही महिनाअघि सार्वजनिक सञ्चार माध्यमबाट 'कतार नेपाली कामदारका लागि खुला जेल' भएको अभिव्यक्ति दिएपछि उनी विवादमा परेकी हुन् । त्यतिबेलै काठमाडौंस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसमक्ष औपचारिक रूपमा आपत्ति जनाएको थियो ।

कतारी परराष्ट्र मन्त्रालयले शर्मासँग उक्त अभिव्यक्तिका साथै एक नेपाली सञ्चार टोलीको 'अनधिकृत' कतार प्रवेशबारे स्पष्टीकरण सोधेको थियो । उक्त प्रकरण सेलाउन नपाउँदै शर्माले आफूविरुद्ध लेखेको भन्दै एक नेपाली पत्रकारलाई कतारबाट निकाला गर्नसमेत त्यहाँको परराष्ट्र मन्त्रालयलाई पत्र लेखिन् । त्यसको चर्को विरोध भएपछि परराष्ट्र मन्त्रालयले उनीसँग लिखित स्पष्टीकरण सोधेको थियो । पछिल्लो पटक शर्माले कान्तिपुर मिडिया ग्रुप र दोहाबाट निस्कने कान्तिपुर प्रवास साप्ताहिकमाथि अनेक लाञ्छना लगाउँदै छानबिन र कारबाही गर्न कतार सरकारलाई लेखेकी थिइन् ।

शर्माको कार्यशैलीबाट कतारमा बस्ने नेपाली तथा दूतावासकै कर्मचारीहरू पनि असन्तुष्ट थिए । नेपाली कामदारहरूका धेरैखाले समस्या भइरहने कतारमा उनको कामकारबाही चित्तबुझ्दो नभएर हैरान हुनुपरेको परराष्ट्रका अधिकारीहरू बताउँछन् । 

एमाओवादी नेता बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा पार्टीको 'बफादार विद्वान्' का रूपमा शर्मालाई राजदूत सिफारिस गरेका थिए । त्यतिबेला उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ थिए । शर्माको कार्यशैली नसुधि्रएका कारण राष्ट्रकै छविमा आँच आउने खतरा बढेकोबारे एमाओवादी नेताहरू र परराष्ट्रबीच अनौपचारिक संवाद भइरहेको थियो ।

कतारस्थित दूतावासका कर्मचारीहरूले शर्मालाई सहयोग गर्न छाडेको कुराले पनि मन्त्रालय दबाबमा थियो। यसैबीच नेपालका लागि कतारी राजदूत अहमद जसेम अल हमरले मंगलबार परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेलाई भेटेर कतार सरकारका तर्फबाट शर्माविरुद्ध गुनासो पोख्दै पत्र नै थमाएका थिए । पत्रमा राजदूत शर्माको कार्यशैलीबाट नेपाल-कतार सम्बन्ध प्रभावित हुन नदिन नेपाल सरकारलाई सचेत गराइएको थियो । सोही दिन बेलुकी राजदूत हमर, परराष्ट्र सचिव अर्जुनबहादुर थापालगायत अधिकारीहरूबीच रात्रिभोजसहितको अनौपचारिक बैठक भएको थियो ।

एमाओवादीले राजीनामा गराउने निर्णय गरी शर्मालाई फिर्ता बोलाउने सरकारको पछिल्लो समयको पहललाई नै सघाउ पुर्‍याएको हो । शर्माले राजीनामा गरे त्यो अन्य राजीनामासरहै हुनेछ । 'पार्टीले राजीनामा गराउनु अलग कुरा हो । राजीनामा गरेपछि ठाउँ खाली हुन्छ । अर्को नियुक्तिका लागि नियमानुसारकै प्रक्रियामा जानुपर्छ,' अधिकारीहरू भन्छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले यस विषयमा आफूले केही 'शेयर' गर्न नसक्ने बताए । 'सरकारबाट हुने औपचारिक निर्णयबारे मात्र हामीले जानकारी दिन सक्छौं,' उनले भने । नेपालको कूटनीतिक इतिहासमा आफ्नो सिफारिसमा नियुक्त भएका राजदूतलाई सम्बद्ध पार्टीले राजीनामा गराउने निर्णय गरेको यो पहिलो घटना हो ।

Published on: 21 September 2013 | Kantipur

Back to list

;