s

कतारसँग बिप्पा गर्न कसरत

रेवती सापकोटा
 
काठमाडौं: कतारसँग द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) गराउन एमाओवादी उपाध्यक्ष रहेका पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहल गरेका छन् । कतार प्रतिव्यक्ति आयका आधारमा विश्वकै धनी मुलुक मानिन्छ ।
 
हाल नयाँ शक्ति नेपालका संयोजक रहेका बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेका श्रेष्ठले भारतसँग बिप्पा गर्नु गलत भएको भन्दै विरोध गरेका थिए । भट्टराईले भारतसँग बिप्पा गर्दा मोहन वैद्यले आफ्नै पार्टीका नेताविरुद्ध कालो झन्डा प्रदर्शन गर्न लगाएका थिए । त्यतिबेला वैद्य र भट्टराई एमाओवादीमै थिए । अहिले भट्टराई नयाँ शक्तिका संयोजक छन् भने वैद्य नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष छन् ।
 
कतारले पठाएको बिप्पाको मस्यौदामाथि सरकारमा छलफल गराई द्विपक्षीय सम्झौता गर्ने चरणमा प्रवेश गराउने आश्वासन श्रेष्ठले कतारी सरकारी अधिकारीलाई दिएका छन् । एमाओवादी अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका श्रेष्ठले कतार सरकारलाई नेपालमा लगानी र व्यापारका लागि अपिल गरेपछि कतारका सहायक परराष्ट्रमन्त्री सुल्तान विनसाद अल मुराइखीले बिप्पाको मस्यौदा नेपालसमक्ष पठाएका हुन् ।
 
‘हामीले नेपालमा लगानी र व्यापारका लागि अपिल गर्‌यौं । उहाँले सरकार र निजी कम्पनीले लगानी र व्यापार थाल्नुभन्दा पहिले लगानीको सुरक्षा खोज्ने भएकाले लगानी सुरक्षा गर्ने सम्झौता गरौं भन्नुभयो । उहाँले लगानीको सुरक्षाका लागि मस्यौदा प्रस्ताव पठाउनुहुन्छ । हामी त्यसलाई सरकारमा छलफल गरेर सम्झौताको चरणमा पुर्‌याउन पहल गर्छौं', श्रेष्ठले दोहाबाट अन्नपूर्णसँग भने । कतारबाट श्रेष्ठ आइतबार नै स्वदेश फर्केका छन् ।
 
केही समयअघि परराष्ट्रसचिव शंकरदास बैरागी नेतृत्वको प्रतिनिधिमण्डलसँग कतारका सरकारी अधिकारीको दोहामा भएको छलफलमा पनि नेपालमा कतारको लगानी भित्र्याउनेबारेमा छलफल भएको थियो । कतारसँग भएका सम्झौता पुनरावलोकन गर्ने र नयाँ सम्झौताका बारेमा मस्यौदा बनाएर अगाडि बढाउने समझदारी परराष्ट्रसचिव स्तरको बैठकमा भएको थियो ।
 
सहायकमन्त्री मुराइखीले दक्षिणपूर्वी एसियाका महानिर्देशकसहितका कर्मचारीलाई राखेका थिए भने श्रेष्ठले दोहास्थित नेपाली कार्यावाहक राजदूत मणिरत्न शर्मालाई छलफलमा सहभागी गराएका थिए ।
 
बिप्पा मस्यौदा कतारको विदेश मन्त्रालयले दोहास्थित नेपाली दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालयमा पठाउने समझदारी भएको छ ।
 
श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन र पूर्वाधारमा लगानीको सम्भावना रहेको र कृषिजन्य उत्पादन, फूल उत्पादन र पानी प्रशोधन गरी कतारमा व्यापार गर्न सकिने जानकारी सहायकमन्त्री मुराइखीलाई गराएका थिए ।
 
‘कतार र नेपालको बीचमा लगानी र व्यापार प्रवद्र्धनका बारेमा छलफल गरियो', भेटमा सहभागी एमाओवादी अन्तर्राष्ट्रिय विभागका सचिव युवराज चौलागाईंले भने, ‘दुवै पक्षका लागि लाभदायक व्यापार र लगानीमा मिलेर काम गर्न सहायकमन्त्रीले प्रस्ताव राख्नुभयो । हामीले सहमति जनायौं ।' उनका अनुसार सहायकमन्त्री मुराइखीले लगानीका लागि नेपालका सडकसहित पूर्वाधारका बारेमा जिज्ञासा राखेका थिए । ‘कतार र नेपालबीच संयुक्त सम्झौता भएपछि कतारका कम्पनीलाई नेपालमा गएर लगानी गर्न सजिलो हुन्छ', सहायकमन्त्री मुराइखीको भनाइ उद्धृत गर्दै चौलागाईंले भने ।
 
नेपाली जनप्रगतिशील मञ्च कतारको सम्मेलनमा भाग लिन गएको श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलसमक्ष कतारका श्रम, सामान्य प्रशासन तथा समाज कल्याणमन्त्री इस्सा बिन साद अल लाइमी जुफली र परराष्ट्र सहायकमन्त्री मुराइखी दुवैले नेपाली श्रमिकका समस्या जटिल नरहेको, पश्चिमा राष्ट्रकेन्द्रित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जटिल बनाएको, नेपाली श्रमिकका मुद्दामा आफूहरू जुनसुकै बेला छलफल गरी समाधान गर्न तयार रहेको जनाउ दिएका थिए ।
 
नेपालले दलाललाई नियन्त्रण गर्न र आफूहरूका तर्फबाट रोजगारदाता कम्पनीको निगरानी राखेमा नेपाली श्रमिकका समस्या समाधान हुनेमा दुवै मन्त्री आशावादी देखिएको चौलागाईंले बताए ।
 
‘समस्या हाम्रो मात्रै होइन, तपाईंहरूको पनि हो । दुवै मिलेर समाधान गरौं', मन्त्रीद्वयको भनाइ उद्धृत गर्दै चौलागाईंले भने, ‘अरू देशमा श्रमिक डिमान्ड दुई दिनमा स्वीकृत हुन्छ । नेपालमा तीन महिना लाग्छ । तपाईंहरूका मिडिल म्यान समस्या हुन् । हाम्रा केही रोजगारदाता कम्पनीमा समस्या हुनसक्छ । तिनको निगरानी राख्न हामी तयार छौं ।'
 
नेपाली श्रमिकलाई साधन बनाएर पश्चिमा शक्ति राष्ट्रले राजनीतीकरण गरेको भन्दै दुवै मन्त्रीले चित्त दुखाएका थिए । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि पूर्वाधार निर्माणमा सहभागी रहेका नेपाली श्रमिकलाई साधन बनाएर पश्चिमा शक्ति राष्ट्रले श्रमशोषण र मानवअधिकारको मुद्दा उठाएको कतारका मन्त्रीको भनाइ थियो । ‘ श्रम शोषण भएनभएको र मानवअधिकार उल्लंघन भएनभएको बारेमा तपाईंहरूले पनि सार्वजनिक रूपमा बोलिदिनुभए हुन्छ नि', कतारी मन्त्रीले भनेका थिए, ‘कतार र नेपालबीच कुनै समस्या छैन । हामी मित्र हौं । मित्रलाई हाम्रो ढोका सधैं खुला हुन्छ ।'
 
Published on: 18 April 2016 | Annapurna Post

Back to list

;