s

कतारमा शौचालय नहुँदा कामदार पीडित

होम कार्की

शनिश्चरे-१, झापाका ३९ वर्षीय कुल्लुराम तामाङ त्यतिखेर चित खाए, जतिखेर दिसा लाग्दा शौचालय भेटिएन । वैदेशिक रोजगारका लागि कतार आएपछि तामाङलाई उकिर भन्ने ठाउँमा राखिएको थियो । बस्ने ओछ्यान थिएन । पकाउने ग्यास थिएन । सुत्न जसोतसो मिलाए । खाना पकाउन काठलाई काटकुट पारे । जब शौचको बेला आए, त्यतिखेर आत्तिए ।

'साथीभाइले सोध्दा खुल्ला चौर देखाइदिए,' उनले भने, 'खाल्डो खन्ने शौच गर्ने र अनि पुरिदिने ।'

इराक, अफगानिस्तान, साउदी अबरमा १० वर्ष बिताइसकेका तामाङले यस्तो हविगत भोग्नुपर्ला भन्ने सोचेका थिएनन् । 'यो अति हो,' उनले भने, 'कम्पनीले यतिसम्म हेलचक्र्याइँ गर्लान् भन्ने लागेको थिएन ।'

उनी काठमाडौंस्थित धर्म ओभरसिजबाट कारपेन्टरका लागि आएका थिए । उनी यहाँ क्यु म्याक्स कन्ट्राक्टिङ कम्पनीमा काम गर्छन् । कतारको श्रम कानुनअनुसार कामदारलाई स्वस्थ बस्ने व्यवस्था, सफा खानेपानी र सफा भान्साको व्यवस्था गर्नुपर्छ । एउटा कोठामा चार जनालाई भन्दा बढी कामदार राख्न पाइँदैन ।

कम्पनीले श्रम कानुनलाई उल्लंघन गरेको भन्दै कम्पनीलाई कारबाही गर्न र आफूहरूलाई तुरुन्त स्वदेश पठाउन नेपाली दूतावास आइपुगेका छन् । 'कतारमा खुला दिसा-पिसाब गर्नु भनेको अपराध हो । यस्तो गर्नेलाई कडा कारबाही गरी लामो समयसम्म जेल हालिदिन्छ,' उनले भने, 'खुलारूपमा पिसाबसमेत गर्न नपाइने मुलुकमा हामीलाई शौच गर्न बाध्य बनाइयो ।'

उनीजस्तै अरू सञ्जित शर्मा बडाल, केशबर शर्मा, धनुषाका केबल दास र संखुवासभाका गोपाल कार्की आफ्नो बदोबस्तीका सामान बोकेर दूतावास आएका हुन् । 'बस्ने क्याम्प छैन । जहाँ काम गर्ने हो त्यहीं सुत्छौं,' अर्का पीडित शर्माले भने, 'मुदिरलाई भन्दा उल्टै राति आएर धम्क्याउँछ ।'

धर्म ओभरसिजबाट गत ३० सेटेम्बरमा आएका उनीहरूले धर्म म्यानपावरलाई समेत कारबाही गर्न माग गरेका छन् । 'माटो बोक्ने, ताबुक बोक्ने र भिल्ला बनाउनेमा काम गर्छु,' केशवर शर्माले भने, 'बिनासेफ्टी -सुरक्षा) काममा लगाउँछ । हेल्मेट, पन्जा छैन ।'

एक हजार दुई सय रियालमा काम गर्न आएका उनीहरूले भनेअनुसार तलब पाएको छैन । 'र्फकन चाहन्छौं,' दूतावाससमक्ष उनीको माग छ ।

दूतावासमा कम्पनीका प्रतिनिधि आएर कामदारका लागि क्याम्प बनाइदिएको दाबी गरेका थिए । कामदारले क्याम्प नभएको बताउँदै आफूहरूले भोगेको जीवनयापनको भिडियो दूतावासलाई देखाएका थिए । दूतावासले यो गम्भीर भएको भन्दै दूतावासका जनसम्र्पक अधिकृतसहित ती पीडित कामदारलाई कतारको श्रम विभागमा पठाएको छ । श्रम विभागमा कामदारको अवस्था बुझेर कम्पनीका मालिकलाई बोलाई तुरुन्तै स्वदेश पठाउन आदेश दिएको पीडितले बताए ।

Published on: 28 October 2013 | Kantipur

Back to list

;