s

कतारमा नेपाली कामदारको हत्या

होम कार्की

बागलुङ, लेखनी गाविसका २८ वर्षीय बुद्धिबहादुर पुनको यहाँ हत्या भएको छ । गत जुलाई २८ गतेबाट हराइरहेका उनको शव मृत अवस्थामा कतारको उकिरमा फेला परेको छ । एक महिनाअघि पनि सनैयामा हत्या गरिएर फालिएको अवस्थामा खोटाङका तीर्थबहादुर खड्काको शव फेला परेको थियो ।  

पुनका यहाँ कार्यरत फुपाजु गुरुप्रसाद थापाका अनुसार उनलाई हत्या गरेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको हो । उनी स्वदेश फिर्ने तयारी गरेको अघिल्लो दिनदेखि बेपत्ता थिए । 'बिगि्रएको गाडी राख्ने ठाउँमा फालिएको अवस्थामा प्रहरीले सेटेम्बर १५ मा फेला पारेको हो,' उनले भने, 'निधार र कपालको आधारमा शवको पहिचान भयो ।'

नेपाली दूतावासका द्वितीय सचिव जयबहादुर राईले घटना छानबिन भइरहेको जानकारी आएको बताए । 'बुद्ध र खड्काको विषयमा छानबिन भइरहेको बुझिएको छ,' उनले भने । बुद्ध दुई वर्षदेखि यहाँ टाइसर कम्पनीको सुरक्षा गार्ड थिए । उनी कम्पनीको पोसाक लगाएको अवस्थामै मृत फेला परेका हुन् । 'उनी घर जानुअघि साथीभाइसँग भेट्दै हिँडिरहेका थिए । साथीहरूसँग ढुकुटी खेल्ने भएकाले पैसा पनि उठाइरहेका थिए,' उनले भने, 'यो पैसाका लागि नै हत्या भएको हुन सक्छ ।' 

बुद्ध कतार छाडेर परिवारका साथ हङकङ जाने तयारीमा थिए । उनका बाबुआमा र श्रीमति पनि हङकङमा बस्छन् । उनको शव सरकारी अस्पतालमा राखिएको छ । 'हामीले प्रहरीलाई छिट्टै वास्तविकता ल्याउन आग्रह  गरेका छौं,' उनले भने, 'यसबारे दूतावासलाई जानकारी दिइसकेको छ ।

यसैबीच खोटाङ मातिम-६ का पर्शुराम खड्काको भदौ ३० टेलिभिजन हेर्दाहेर्दै एक्कासि हृदयाघात भई निधन भएको छ  । उनी सनैयामा नै अल  सान्पोक कम्पनीको वर्कसपमा मेकानिकल हेल्पर मा कार्यरत थिए ।  विवाह गरेर डेढ महिनाअघि आएका उनी कम्पनीको काम सकेर कोठामा टीभी हेरिरहेका थिए ।

त्यस्तै, सुनसरीका विनोद धामीको हृदयाघातबाट सेटेम्बार ९ मा ज्यान गएको छ । काम सकेर कोठामा आएको केही मिनेटमै उनको मृत्यु भएको हो । उनका साथी प्रकाश बस्नेतका अनुसार धामीलाई उपचारका लागि अस्पताल समेत लैजना भ्याइएको थिएन । 'उनी पेन्ट क्लिङ पसलमा क्यासियर थिए । खाना खान आउँदा यस्तो भएको हो,' उनले भने । २८ वषर्ीय धामीको घरमा आमा, पत्नी र एक छोरी छन् । 'सबै उसको भरमा थिए, अहिले घरमा बिजोग भएको छ,' बस्नेतले भने ।

त्यस्तै, इदको बिदापछि आइतबार आत्महत्या गरेका पदमपोखरी-१ का किताबसिंह स्याङतानको शव गएको छैन । दुई महिना अगाडि आएका उनले मेडिकल फेल भएको तनावमा आत्महत्या गरेको हुन सक्ने उनका साथी दर्शन न्यौपानेले बताए ।

'हामी अपरेटरको काम गर्न सँगै आएका थियौं । पहिलोपटक उमेर  नपुगेको भन्दै अपरेटर दिएन । त्यसपछि अर्कोमा आए पनि अपरेट नदिएर लेबरको काम  गरे । दुई महिना बसेर फेरि फर्केका थिए,' पदमपोखरीकै न्यौपानेले भने, 'फेरि दुई महिनाअघि आएपछि मेडिकलमा दुईपटक फेल भएका थिए । तेस्रोपटक मेडिकल गरेर रिजल्ट पर्खिबसेका थिए ।' २० वषर्ीय स्याङतानको छिट्टै शव लैजान समस्या भएको उनले बताए ।

Published on: 20 September 2012 | Kantipur

Back to list

;