s

कतारमा कामदारलाई आवासीय क्षेत्रमा बस्न नदिइने

होम कार्की

काठमाडौँ — कतार सरकारले कामदारलाई औद्योगिक क्षेत्रमै बसोबासको व्यवस्था मिलाउनुपर्ने भन्दै आवासीय क्षेत्रबाट हटाउने तयारी गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले चालेको यस्तो कदमले आफूहरूलाई मर्का पर्ने नेपाली कामदारले गुनासो गरेका छन् ।

सरकारले कामदारहरूलाई तोकिएको क्षेत्रमा नबसाएको भन्दै १८ सय ५५ कम्पनीलाई कारबाहीसमेत गरेको छ । यसअघि नै स्थानीय परिवारहरूको आवास क्षेत्र र कामदारलाई राख्ने क्षेत्र फरक–फरक तोकिएको थियो ।

त्यहाँको श्रम तथा सामाजिक मामिला मन्त्रालयले नगरपालिका तथा वातावरण मन्त्रालयसँग समन्वयमा कम्पनीलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा राजधानी दोहाआसपास कामदार राख्ने कम्पनीहरू छन् । यिनमा कामदार आपूर्ति गर्ने, क्लिनिङ कम्पनी र होटल, रेस्टुरेन्ट छन् ।

सरकारले दोहास्थित अल नज्मा, अल मन्सुरा, विन दिरहाम, द वोल्ड सलता, रिफा, वोल्ड घानिमलगायत क्षेत्रबाट कामदार हटाएको छ । ‘हामीलाई यहाँबाट हटाउन कम्पनीलाई एक हप्ताको समय दिइएको छ’, नज्मामा १० बर्षदेखि कार्यरत खोटाङका उमेश राईले कान्तिपुरसँग भने, ‘यहाँ बस्दा सजिलो थियो । हिँडेर नै डिउटी जान पाइन्थ्यो । पसलमा जान र साथीभाइ भेटघाट गर्न सजिलो थियो । अब कता लैजान्छ थाहा छैन ।’ 

कतारले कामदारलाई बस्नका लागि विशेष गरी औद्योगिक क्षेत्र (सनैया) छुट्ट्याएको छ । सनैया टाढा भएकाले कम्पनीले कामदारलाई ल्याउन–लैजान दोहाभित्रै आवासीय भबनलाई क्याम्प बनाएका थिए ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सहरी क्षेत्रमा परिवारबाहेक अन्यलाई वस्न नदिने नीति कडाइसाथ कार्यान्वयनमा ल्याएको छ । यसका लागि नगरपालिका तथा वातावरण मन्त्रालयले कामदारको आवाससम्बन्धी कानुनमा छुट्टै व्यवस्था नै गरेका छन् । ‘कोरोना भाइरस रोक्न कतारले चालिरहेको कदम निकै सकारात्मक छ । तर हामीलाई पनि उपयुक्त ठाउँमा सावधानीसहित राख्नुपर्छ । कामदार भन्दैमा सनैयातिर नै लखेट्ने कार्य उचित लागेन’, अलमुन्ताजमा क्षेत्रमा बस्दै आएका झापाका राजीव भट्टले भने, ‘हाम्रो कम्पनीले ३ वटा फ्ल्याट लिएको थियो । जसमा २० जना बस्दै आएका थियौं । सबै सुबिधा थियो । अब अन्यत्र पाइन्छ/पाइँदैन । फेरि हामीलाई डिउटी जान–आउन पनि गाह्रो हुने भयो ।’

कतिपय पुराना भुइँतले भवनबाट हटाइएका कामदार भने खुसी नै छन् । ‘हामी बसेको भवन निकै पुरानो हो । कचरा नै छ । कम्पनीलाई कयौंपटक अन्य ठाउँ लैजाऊ भन्दा सुनुवाइ भइरहेको थिएन । भाडाको लोभले हामीलाई असुरक्षित रूपमा राखेको थियो’, अल मन्सुरामा बस्दै आएका रूपन्देहीका शम्भु निरौलाले भने, ‘बाथरुम राम्रो छैन । साँघुरो कोठाभित्र १२ जनासम्म बस्नुपरेको थियो । अँध्यारो थियो । एसीको हावा पनि राम्रोसँग पास हुँदैनथ्यो ।’

कतारी निकायले अप्रिल २० देखि २९ सम्म ४ सय १७ वटा भवन निरीक्षण गरी कामदारलाई अन्य क्षेत्रमा सार्न लगाएको हो । श्रम मन्त्रालयले कामदारलाई उपयुक्त भवनमा राख्न निर्देशन दिँदै अवज्ञा गरे जरिवाना लगाउने तयारी गरेको छ ।

Published on: 4 May 2020 | Kantipur

Link

Back to list

;