s

कतारमा कोरोनाबाट ६ हजार ९ सयभन्दा बढी नेपाली संक्रमित

होम कार्की

काठमाडौँ — कतारमा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको सख्या ६ हजार ९ सय ११ जना पुगेको छ । एक जना नेपालीको मृत्यु भएको छ । यो मे १९ सम्मको विवरण हो । कतारको जनस्वास्थ्य मन्त्रालयबाट कान्तिपुरलाई प्राप्त मे १९ सम्मको रिपोर्टअनुसार संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये नेपाली समुदाय दोश्रो नम्बरमा छ ।

सबैभन्दा बढी भारतीय कामदार ११ हजार १८ जना रहेका छन् । तेश्रोमा बंगलादेशी ५ हजार ५ सय ८९, चौथोमा पाकिस्तानी २ हजार ३ सय १०, पाँचौंमा फिलिपिनो एक हजार ५ सय ३६ र छैँटौं कतारी १५ सय ३६ जना रहेका छन् । बाँकी अन्य देशका नागरिक रहेका छन् ।

कुल संक्रमितमा पुरुष ३१ हजार ९ सय ७७ जना र महिला तीन हजार ६ सय ५४ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी १९ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये ४३ प्रतिशत न्यून तलबमा काम गर्ने कामदार छन् । जहाँ नेपालीको बाहुल्यता बढी छ । १३ प्रतिशत गैरकामदार, १२ प्रतिशत प्रशासनिक कर्मचारी, १२ प्रतिशत विद्यार्थी, ६/६ प्रतिशत सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, उच्च तहको कर्मचारी र ३ प्रतिशत विमानस्थलका कर्मचारी रहेका छन् ।

कतारले मैजर हेल्थ सेन्टर, रुवाडत अल खलिल हेल्थ सेन्टर, उमसलाल हेल्थ सेन्टर र अल गरफा हेल्थ सेन्टरबाट कोरोना परीक्षण भइरहेको जनाएको छ । 

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले उपचारमा कुनै विभेद नरहेको बताए । ‘कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्ना नागरिकसरह उपचार गरिरहेको छ । उपचारमा भेदभाव छैन भन्नेमा दूतावास विश्वस्त छ,’ उनले भने ।

राष्ट्रिय महामारी प्रतिरोधक समितिले कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढिरहेको जनाएको हो । ‘हामी महामारीको उच्च विन्दुमा प्रवेश गरेका छौं । बितेको हप्ताभन्दा हाल आएर दैनिक रुपमा केसहरु तीव्र गतिले बढिरहेको छ,’ समितिका अध्यक्ष अब्दुल्ला हतीफ अलखलले भने, ‘सामाजिक दूरीका अभावका कारण भाइरस बढेको हो ।’

अध्यक्ष अलखलले खाडी क्षेत्रमै कतारले स्वास्थ्य परीक्षण दर बढाएकोले कोरोनाबाट संक्रमित संख्या बढेको देखिएको बताए । ‘कतारमा खाडीमै संक्रमणदर तुलनात्मक रुपमा बढिरहेको छ । आक्रामक रुपका सम्र्पक व्यक्तिको पहिचान भइरहेको छ । कतारले संक्रमित व्यक्तिको जालोलाई बृहत् रुपमा अनुसन्धान गरिरहेको छ । सबैको परीक्षण भइरहेको छ । धेरै देशले यो गर्न सकेको छैन,’ उनले भने, ‘नयाँ पहिचानले धेरै केस देखिएको हो । शारीरिक र सामजिक दूरी कायम नहुँदा संक्रमितको संख्या बढिरहेको हो ।’

राष्ट्रिय महामारी प्रतिरोधक समितिका अनुसार अधिकांश बिरामीलाई कोरोनाका लक्षण नै देखिएको छैन । जसको कारणले भाइरस फैलिरहेको हो । पाल्पाका ३० वर्षीय युवकलाई ३५ दिनभित्र ४ पटक पोजिटिभ देखिँदा पनि कोरोनाको कुनै लक्षण नदेखिएको बताए । ‘मेरो सामान्य लक्षण नदेखेकोले उपचार गरेको छैन । सुगरप्रेसरको मात्रै औषधि खाइरहेको छ । मैले किन औषधि नदिएको भन्दा केही समस्या छैन । तातो पानी खा । त्यसले ठीक गर्छ भनिरहेको छ,’ उनले भने ।

कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहानसम्म ४० हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म कतारमा संक्रमण पुष्टि भएकाहरुमध्ये ७ हजार ८ सय ९३ जना निको भएका छन् ।

Published on: 23 May 2020 | Kantipur

Link

Back to list

;