s

कतारमा आममाफी पाएका ४३ नेपाली स्वदेश आइपुगे

होम कार्की

काठमाडौँ — कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश आइपुगेका छन् । कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल झरेका हुन् ।

कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ ।

दिउँसो साढे १२ बजेतिर आइपुगेको क्युआर ३२३४ नम्बरको सोही उडानमा २० नेपालीको शव पनि ल्याइएको छ । कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव ल्याइएको हो । ६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए । १० जनाको परिवारको सहमतिमा कतारमै अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ ।

शुक्रबार शव ल्याइएकामा बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जीपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल छन् ।

त्यस्तै मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइएको छ । यी सबै शव सम्बन्धित परिवारको घरमै पुर्‍याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

Published on: 19 June 2020 | Kantipur

Link

Back to list

;