s

कतारमा रहेका र जानेहरु सजग हुनुपर्ने

कतार जाने कामदार आगामी महिनादेखि थप सचेत हुनुपर्ने भएको छ । त्यहाँको नगरपालिका तथा वातावरण मन्त्रालयले आगामी फेबु्रअरी १ तारिखबाट सार्वजनिक सरसफाई सम्बन्धी नयाँ कानून लागू गर्ने भएपछि विशेष गरी कामदारहरु नयाँ नियमप्रति सचेत हुनुपर्ने अवस्था आएको हो । नियम उल्लंघन गर्नेलाई ३ सयदेखि ६ हजारसम्म  र कम्पनीलाई २५ हजार रियालसम्म जरिवाना गर्ने सार्वजनिक गरिएको छ ।
 
अर्को महिनादेखि नगरपालिका निरीक्षक लगायत अन्य कर्मचारीहरुले देशभर निरीक्षण शुरू गर्ने र नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने मन्त्रालय अन्तर्गतको सरसफाई विभागले जनाएको छ । उक्त मन्त्रालयका अनुसार फुटपाथ, सडक वा अन्य सार्वजनिक स्थलमा कागज तथा अन्य फोहोर, खाली बोतल फालेमा वा थुकेमा ५ सय रियाल, फोहोर, फोहोरको झोला, छोडिएको खानेकुरा, कागज घर अगाडि वा सार्वजनिक स्थानमा फालेमा ३ सय रियाल, सडक वा सार्वजनिक स्थानतर्फ देखाएर कार्पेट, लुगा धोएमा वा सुकाएमा ५ सय रियाल जरिवाना हुने छ ।
 
त्यस्तै, सार्वजनिक स्थान वा  सडकमा रुखको फोहोर वा बगैंचाको फोहोर फालेमा ५ सय रियाल, प्रयोग गरिएको पानी रोडमा फालेमा ३ सय रियाल, पशुको फोहोर जथाभावी फालेमा ५ सय रियाल जरिवाना हुनेछ ।
 
बिग्रिएको सवारी वा त्यसको पाटपुर्जा रोड, फुटपाथ, गल्ली वा सार्वजनिक पार्किङस्थल ढाक्नेगरी राखेमा एक हजार रियाल, व्यवसायिक पसल अगाडि राखिएको डस्टविन भन्दा अन्यत्र फोहोर फालेमा ५ सय रियाल, सार्वजनिक स्थान, समुन्द्री किनारमा वा खुला क्षेत्रमा खानाको फोहोर छोडेमा वा फालेमा पनि ५ सय रियाल जरीवाना हुनेछ ।
 
सवारीमा लोड गरी राखिएको सामान राम्रोसँग नछोपेमा वा त्यहाँबाट सामान खसालेमा २ हजार, खाल्डो वा नकसिएको पाइपबाट आफ्नो घरको ढल छोडेमा १ हजार, तोकिएको स्थानमा भन्दा अन्यत्र सवारी वा मेसिन धोएमा ३ सय रियाल, गुडिरहेको सवारीबाट सार्वजनिक सडकमा केही सामान झारेमा ३ हजार रियाल र निर्माणाधीन क्षेत्रबाट निस्किने फोहोर जथाभावी फालेमा, छोडेमा वा गाडेमा ६ हजार रियाल जरीवाना हुनेछ ।
 
Published on: 25 January 2018 | Madhyanha

Back to list

;