s

कतारमा नेपाली कामदारका समस्या

होम कार्की
 
कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले कामदारको समस्या सात दिनभित्र समाधान गर्ने संयन्त्र बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कतारका प्रशासनिक विकास तथा सामाजिक मन्त्री इशा विन साद अल जुवैल अल–नुएमीले यस्तो संयन्त्रले कामदारलाई छिटो न्याय प्रदान गर्ने बताए । कतारमा नेपाली कामदारले भोगिरहेका समस्याबारे छलफल गर्न पुगेका नेपाली राजदूत रमेशप्रसाद कोइरालासमक्ष मन्त्री जुवैलले भने, ‘कामदारको विवाद समाधान गर्न कानुन पनि बनिसकेको छ । यो संयन्त्र बनेपछि कामदार अदालत जानुपर्ने अवस्था आउँदैन ।’ 
 
नेपाली कामदारका समस्या समाधान गर्न कतारको श्रम मन्त्रालय र दूतावासबीच तीन महिनाअघि एक समन्वय समिति बनेको थियो । छलफलमा श्रममन्त्री जुवैल र राजदूत कोइरालाले समितिको तीन महिनाको काम समीक्षा गरेका थिए । समितिमा श्रम विभागका प्रतिनिधि र श्रम काउन्सिलर छन् । ‘कामदार अदालत गएर मुद्दा खेप्नुपर्दा महिनौं पर्खनुपर्ने अवस्था छ । कतिपयलाई बस्न र खानसमेत समस्या छ । छिट्टै समाधान गर्ने संयन्त्र आए धेरै राहत हुन्छ,’ राजदूत कोइरालाले भने । 
 
दोहोरो करारपत्र बोकेर काम गर्न बाध्य हुनुपर्ने अवस्था हटाउन श्रमद्वारा प्रमाणित मागपत्र दूतावासले हेर्न मिल्ने व्यवस्था गर्न लागिएको श्रममन्त्री जुवैलले जानकारी दिए । ‘यो व्यवस्था परीक्षणका क्रममा रहेको हामीलाई जानकारी दिइएको छ । यो लागू भए हाम्रा कामदारले दोहोरो करारपत्र बोक्नुपर्ने बाध्यता हट्नेछ,’ उनले भने, ‘अहिले कामदारसँग सक्कली करारपत्र साथमा हुँदैन । समस्या परेर दूतावास आएपछि मात्रै हामीलाई जानकारी हुन्छ । यो व्यवस्थापछि कुन कम्पनीले कति तलबमा नेपाली कामदार ल्याउँदैछ भन्ने सूचना दूतावाससँग रहनेछ ।’ भेटमा नेपाली दूतावासले श्रममन्त्रीलाई नेपाली कामदारले तलब नपाएका, घर फिर्न नसकेका, आवासलगायत समस्या अवगत गराएको थियो ।
 
युएईमा अलपत्र १६ को उद्धार 
 
पर्यटक भिसामा रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर अलपत्र १६ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईएमओ) र गैरआवासीय नेपाली संघ, यूएईले टिकट उपलब्ध गराएपछि नेपाली दूतावासले उनीहरूलाई नेपाल पठाएको हो । उद्धार गरिएकालाई १० दिन दूतावासको सेल्टरमा राखिएको थियो । उनीहरू पान्डोरा इन्र्कोपोरेसनका सञ्चालक ईश्वरी भण्डारी र कार्यकारी निर्देशक केशव थापा, दलालहरू क्रमश: मकवानपुरका दिनेश लामा मोक्तान, धादिङका रामेश कामर (रमेश कुँवर) मार्फत यूएई पुगेको दूतावासले जनाएको छ । दूतावासले पीडकलाई कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरेको छ ।
 
अलपत्र पर्नेमा मकवानपुरका सुनील राउत, भीमबहादुर बमजन, नवराज लामा, सुन्दर तामाङ, दीपेन्द्र साम्देन, सुकुराम थिङ, सिमोन बमजन, बागलुङका इन्द्रबहादुर थापा, राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्यानका कमल बुढाथोकी, तनहुँका ज्ञानबहादुर तामाङ, गोरखाका चन्द्रबहादुर गुरुङ, बाँकेका तुलसीप्रसाद शर्मा र सिन्धुपाल्चोकका फुर्वा तामाङ छन् । उनीहरूले पान्डोराका सञ्चालकलाई ३ लाख रुपैयाँसम्म बुझाएर राम्रो काम पाउने आशामा यूएई पुगेका थिए । यूएईमा उनीहरूले काम नपाउनुका साथै खान र बस्नसमेत नपाएपछि शरणका लागि नेपाली दूतावास पुगेका थिए । वैदेशिक रोजगार ऐनका अनुसार श्रम स्वीकृतिबिना नेपालीलाई कामका लागि विदेश पठाए त्यो कार्य मानव तस्करी हो ।
 
Published on: 14 October 2017 | Kantipur

Back to list

;