s

कतारमा नक्कली डिमाण्ड बनाउने ३ पक्राउ

नेपालमा वैदेशिक रोजगारको नक्कली डिमाण्ड बन्ने विषयमा चर्चा परिचर्चा भईरहेको बेला कतारको अपराध अनुसन्धान विभाग (सिआईडी)ले नक्कली डिमाण्ड बनाएर विभिन्न देशमा बेच्ने एक गिरोहलाई पक्राउ गरेको छ ।
 
आकर्षक रोजगारीमा बिदेश पठाउने भन्दै नेपालमा नक्कली भिषा र डिमाण्ड लेटर बनाएर ठगी गर्ने गिरोहलाई प्रहरी पटक पटक पक्राउ गर्ने गरेको बेला वैदेशिक रोजगारको मुल थलोमै नक्कली डिमाण्ड बन्ने गरेको खुलासा भएको हो । कतारमै नक्कली भिषा बनाउने गिरोह पक्राउ परेको घटनाले रोजगारीका लागि त्यहाँ जाने कामदारसँगै उनीहरुलाई पठाउने म्यानपावर व्यवसायी उक्त नक्कली डिमाण्डको शिकार हुने गरेको देखिएको छ ।
 
केही दिन अघि आफुले काम गरिरहेको कम्पनीको दुरुपयोग गरी नक्कली लेटरप्याड र छाप बनाई नक्कली कम्पनी खोलेर भिसा व्यापार गर्ने तीन अभियुक्तलाई कतारको अपराध अनुसन्धान विभाग (सिआईडी)ले पक्राउ गरेको छ । केही अन्य व्यक्तिको सहयोगमा ती व्यक्तिले आफु काम गर्ने कम्पनीको नाममा नक्कली भिसा बेच्ने गरेको शंका सहित एक महिलाको उजुरी आएपछि छानवीन गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।
 
अनुसन्धानको क्रममा हुँदै नभएको कम्पनी खोलेर ती व्यक्तिले भिसा बेच्ने गरेको खुल्न आएको बताइएको छ । उनीहरू मध्ये एक एसियन नागरिक छन् । तर उनी कुन देशका हुन् थाहा हुन सकेको छैन, समाचारमा पक्राउ परेका व्यक्तिको राष्टियता खुलाइएको छैन । उनीहरुबाट ११ वटा कम्पनीको स्ट्याम्प, कम्पनीको कागजपत्र र केही क्रेडिट कार्ड मेत बरामद गरिएको प्रहरीको भनाई छ । ११ वटा कम्पनीको नाममा उनीहरुले कति विदेशीलाई नक्कली डिमाण्ड बेचे भन्ने विषयमा अनुसन्धान भई रहेको बताइएको छ । ती विदेश नागरिक पक्राउ गरे पछि कतारी प्रहरीले दुई अरबी नागरिकलाई पनि पक्राउ गरेको छ । तर उनीहरुको पनि राष्टियता खुलाईएको छैन् ।
 
अनुसन्धानका क्रममा भएको सोधपुछमा अभियुक्तहरुले गल्ति स्वीकार गरेको र उनीहरुलाई थप कानुनी प्रक्रियाको लागि हिरासतमा राखिएको बताइएको छ । आफ्नो सुरक्षाका लागि स्थानीय तथा आप्रवासी नागरिकहरूले शंकास्पद क्रियाकलापको सम्बन्धित कार्यालयमा उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ ।
 
Published on: 8 April 2018 | Madhyanha

Back to list

;