s

कतारमा कामदार सरकारी स्तरमै पठाइने

चन्द्रशेखर अधिकारी

कतारमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदा 'बिचौलिया प्रथा' अन्त्य गरी सरकारीस्तरमै कोटा तोकेर कामदार पठाउने प्रणाली लागू गर्न गृहकार्य थालिने भएको छ ।

नेपाल र कतारका उच्च अधिकारीबीचको छलफलमा सरकारीस्तरमै कामदार पठाउने तयारी अघि बढाउन दुवै सहमत भएका हुन् । कतारका श्रम तथा समाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बिन साहिफ अल खुलाइफी र नेपाली अधिकारीबीचको छलफलमा सरकारीस्तरमा कोटा निर्धारण गरी कामदार पठाउने प्रणाली थाल्ने सहमति भएको हो ।

सरकारी स्तरमा सम्भव नभए निजी क्षेत्रबाटै निःशुल्क नेपाली कामदार पठाउन दुईपक्षीय प्रणाली विकास गर्ने विकल्पसमेत दुई देशबीच छलफल भएको जानकारी वार्तामा सहभागी एक अधिकारीले दिए । ती अधिकारीका अनुसार नेपाल भ्रमणमा रहेका कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा. अल खुलाइफीले प्रधानमन्त्रीसँगको भेटका क्रममा कामदारले बुझाउँदै आएको शुल्क र कतारमा रहेका कामदारको अवस्था सुधारको विषयमा छलफल भएको थियो ।

'कतारमा आउने कामदारले कत्ति पनि शुल्क बुझाउनु पर्दैन,' भन्दै कतारी मन्त्रीले नेपाली कामदारले किन शुल्क बुझाउन बाध्य भइरहेका हुन् भन्नेबारे छानबिन गरी तत्काल बिनाशुल्क कतार आउने अवस्था सिर्जना गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले यसमा जनशक्ति पठाउने मुलुकको पनि भूमिका महत्त्वपूर्ण रहने भन्दै यसका लागि नेपाल सरकारले चासो नदिए गाह्रो पर्नेसमेत बताए । प्रधानमन्त्री कोइरालाले ग्रामीण भेकका सोझा गरिब युवालाई यसरी ठगेर लैजाने बिचौलियालाई रोक्न दुवै सरकारले मिलेर काम गर्नुपर्ने भन्दै कतार सरकारले यस्ता विषयमा ध्यान दिन कतारी मन्त्रीलाई आग्रह गरेका थिए ।

मन्त्री अल खुलाइफीले सीधा रूपमा दुई सरकारबीच सहकार्य र समन्वय गरेर यस्तो कार्य रोक्न सकिने बताएका थिए । भेटमा सँगै रहेका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङतर्फ देखाउँदै प्रधानमन्त्रीले भने, 'तपाईंले यो क्षेत्र बुझ्नुभएको छ । यस्तो बेथिति रोक्ने तयारी अघि बढाउनुहोस् ।' प्रधानमन्त्रीले जसरी दक्षिण कोरियामा नेपाली कामदार जाने गरेका छन् त्यहीअनुरूपको प्रणाली बसाउनसमेत उनले निर्देशन दिएका छन् ।

कतारी मन्त्रीले नेपालमा असल र जेहेनदार जनशक्ति भएको उल्लेख गर्दै त्यस्ता कामदारलाई कतारले सधैं स्वागत गर्ने समेत बताएका थिए ।

प्रधानमन्त्रीले नेपाल-कतार सम्बन्ध, कतारले गरेको आर्थिक उन्नति र नेपालको आर्थिक सामाजिक विकासका सम्बन्धमा छलफल गर्दै नेपालको पर्यटन, जलस्रोत र कृषिमा लगानी गर्न कतारी मन्त्रीलाई आग्रह गरे । शान्तिको बाटोमा अघि बढेको नेपालले विकास प्रक्रियासमेत अघि बढाएको हुँदा यसमा निश्चिन्त भएर आउन उनले आग्रह गरेका हुन् ।

विश्वको सबभन्दा उच्च प्रतिव्यक्ति आय भएको कतारले आयोजना गर्न लागेको सन् २०२२ को विश्वकप फुटबल खेलका लागि समेत अहिलेको भन्दा थप जनशक्ति आवश्यक पर्ने भन्दै यो वर्ष मात्र पनि एक लाख ५० हजार नेपाली जनशक्ति आवश्यक भएको बताए । प्रधानमन्त्रीले नेपालीहरू जान तयारै छन्, तर उनीहरूको सेवा सुविधामा कतारले ख्याल गरिदिनुपर्ने बताए । उनले सन् २०२२ को विश्वकपको सफलताको शुभकामना पनि दिए ।

कतारले नेपाली श्रमिकलाई रोजगारी दिएको प्रसंग उठाउँदै उनले श्रमिकका लागि स्वास्थोपचार र बिमामा कतार सरकारले अवलम्बन गरेको नीतिको प्रशंसा गरे । यसले अरू मुलुकलाई पनि यी सुविधा दिन प्रेरित गर्ने प्रधानमन्त्रीको धारणा थियो । कतारी मन्त्रीले सोमबार राष्ट्रपति रामवरण यादवलाई पनि भेट गरेका थिए । राष्ट्रपतिको कतार भ्रमणका बेला भएको छलफल र त्यसपछिको अवस्थाबारे कुरा भएको थियो ।

मंगलबार र्फकने कतारी मन्त्री सोमबार भेट सकेलगत्तै धुलिखेल पुगेका थिए । उनी होटेल द्वारिकाको रिसोर्टमा पुगेर केहीबेर आराम गरेका थिए ।

Published on: 7 April 2015 | Kantipur

Back to list

;