s

कतारमा ज्यान जोगाउने अन्तिम मौका कुर्दै अनिल

रञ्जन भण्डारी

औरही नगरपालिका– १ का २० वर्षीय अनिल चौधरी एक वर्षदेखि कतारमा मृत्यु र जीवनको अन्तिम मौका कुरेर बसिरहेका छन् । कतारको तल्लो अदालतले उनलाई एक कतारी नागरिकको हत्या अभियोगमा फाँसीको फैसला सुनाएको छ । तर, अदालतले अन्तिम मौका दिँदै चौधरीलाई सन् २०१८ को मे २५ भित्र पुनरावेदन गर्न समय दिएको छ ।

तर, रकम अभावमा छोराले पुनरावेदन गर्नसमेत नसकेको उनका बुबा श्याम चौधरीले बताए । दोहास्थित नेपाली राजदूतावासले कन्सुलर सेवा विभागलाई विभिन्न मितिमा उक्त मुद्दासम्बन्धी पत्रहरूसमेत पठाएको छ ।
 
सर्वोच्च अदालतमा पुनरावेदन गर्न परराष्ट्र मन्त्रालयलाई आवश्यक रकम जुटाउन पहल गरिदिन कन्सुलर सेवा विभागले आग्रह गरेको छ । सो आग्रहमा पहल गर्दै परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई यही १४ वैशाखमा पत्र काटेको छ । फैसलाविरुद्ध पुनरावेदन गर्न अनुमानित कतारी ३० हजार रियाल लाग्ने चौधरीले बताए ।
 
अनिल अस्वीकार गर्छन् अभियोग
 
तीन वर्षअघि परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले वैदेशिक रोजगारीमा गएका अनिल कतारको एन खालिद र अवु हमुरको बीचमा पर्ने सब्जी मार्केटमा कार्यरत थिए । त्यहीँ भएको एउटा घटनामा एक कतारी नागरिकको मृत्यु भएको थियो । मृतकसँग फोनमा भएको कुराकानी र चौधरीका कपडामा लत्पतिएको रगतका आधारमा उक्त व्यक्तिको हत्या चौधरीले गरेको ठहर अदालतले गरेको छ । तर, चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।
 
कमजोर आर्थिक अवस्था
 
आफ्नो घडेरी र घरसमेत नभएका अनिलका बुबा औरही बजारमा ठेला गाडामा सामान्य व्यसाय गरेर जिविकोपार्जन गर्छन् । चौधरी परिवारलाई दैनिक दुई छाकटार्नसमेत धौ धौ छ । यस्तो अवस्थामा एक मात्र छोरालाई मृत्यु दण्डको फैसला गरेको सुन्दा उनीहरूको परिवारमा ठूलो पीडा थपिएको छ । एक मात्र सन्तानलाई मृत्युको मुखबाट बचाउन बुबा श्यम चौधरीले सकेसम्मको प्रयास गरिरहेका छन् । चिनेजानेका विभिन्न नेता तथा सरकारी अधिकारीसँग उनले छोराको जीवन रक्षाको पहल गरिदिन आग्रह गर्दै आएका छन् ।
 
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोजसिंह कुशवाहाले अनिल चौधरीलाई मृत्यु दण्ड दिनेसम्बन्धी फैसलाको विषयमा जानकारी पाएको बताए । उनले अनिल निर्दोष भए बचाउन प्रयास गर्ने आश्वासन दिए ।
 
Published on: 1 May 2018 | Naya Patrika

Back to list

;