s

कतारमा आईएलओ

होम कार्की

नेपालीसहित आप्रवासी कामदारका उजुरी लिन पाउने गरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यालय कतारमा आइतबार स्थापना भएको छ । आप्रवासी कामदारको बाहुल्य रहेको खाडीका ६ देशमध्ये कतारमा मात्रै आईएलओको कार्यालय सञ्चालन भएको हो ।

चार वर्षपछि विश्वकप खेलाउन गइरहेको कतार र आईएलओबीच गत अक्टोबरमा भएको प्राविधिक सहकार्य गर्ने सम्झौताअनुसार कार्यालय खोलिएको हो । आफ्नो देशमा आईएलओको कार्यालय खोल्न दिई कामदारका आधारभूत अधिकारको प्रत्याभूति गर्ने प्रतिबद्धता जनाएपछि कतारविरुद्धको उजुरीलाई आईएलओले बन्द गरेको थियो ।
 
आईएलओको उपस्थितिले कामदारका अधिकारको प्रत्याभूति गराउन थप सहयोग पुग्ने जनाउँदै कार्यालय स्थापनाको कतार सरकारले स्वागत गरेको छ । ‘कामदारको हितका लागि अन्तर्राष्ट्रिय प्रणालीलाई कतारले पूर्ण रूपमा पालना गर्ने विषय अब शंकाको घेरामा रहेन,’ प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री इसा विन साद अल जफैल अल नुएमीले भने, ‘आप्रावसी कामदारको अधिकारको प्रत्याभूति र उत्थानका लागि कतार नयाँ सहयात्री बनेको छ ।’
 
उनले अरब क्षेत्रमै कामदारको अधिकारको पक्षमा कतार अग्रणी स्थानमा उभिएको बताए । ‘हामी खाडी क्षेत्रभर मात्रै होइन, विश्वभरि सन्देश फैलाउने गरी कामदारको हितका लागि आधुनिक श्रम व्यवस्थालाई अपनाउन गइरहेका छौं । आईएलओको प्रविधिक विशेषज्ञताले गुणात्मक मापदण्डलाई लागू गर्न हामीलाई ठूलो सहयोग मिल्छ,’ उनले भने, ‘कतार आईएलओसँग मिलेर कामदारको आधारभूत अधिकार र सिद्धान्तलाई कार्यक्षेत्रमा कार्यान्वयन गर्ने विषयमा प्रतिबद्धता जनाउँछ ।’
 
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का उपमहानिर्देशक मुसा उमारोले कामदारको अधिकार रक्षा गर्न कतारले आफ्नो बचनमा पक्का रहेको प्रमाणित गरेको बताए ।
 
Published on: 30 April 2018 | Kantipur

Back to list

;