s

कतारमा ‘फास्ट ट्र्याक’ बाट श्रमिक आपूर्ति

कान्तिपुर संवाददाता 

काठमाडौँ — कतारले ‘फास्ट ट्र्याक’ बाट नेपालसहित विदेशी श्रमिक आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मामिला मन्त्रालयका अनुसार अब विदेशी श्रमिक ल्याउन अनलाइनबाट सिधै आवेदन दिन सकिनेछ । त्यसका लागि मन्त्रालयले सरकारी पोर्टल ‘हुकुमी’ लाई अपडेट गरेको छ ।

रोजगारदाता कम्पनीहरूले विदेशी श्रमिक ल्याउन श्रम मन्त्रालयबाट कोटाको अनुमति लिनुपर्छ । मन्त्रालयद्वारा जारी सूचनाअनुसार आवेदन दिएको छिनभरमै भिसाको अनुमति जारी हुनेछ । यसअघि कतारका रोजगारदाता कम्पनीलाई कोटा र भिसा पाउन निकै समय लाग्ने गरेको थियो । ‘छिटो र छरितो हिसाबले सेवा दिने गरी श्रम मन्त्रालयले आफ्नो प्रणालीलाई सुधार गरेको छ । यसले श्रम कानुनलाई पालना गर्ने कम्पनीलाई आफ्नो कामलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ,’ मन्त्रालयले भनेको छ ।

८ महिनापछि विश्वकप फुटबल आयोजना गर्न गइरहेको कतारले श्रम बजारलाई थप लचक बनाउनेतर्फ पाइला चालेको रूपमा यसलाई अर्थ्याइएको छ । श्रमिक भर्ना प्रक्रियामा रहेको झन्झटकै कारण विश्वकप फुटबलसम्म सम्बन्धित जनशक्ति ल्याउन नसकिने देखेपछि श्रम मन्त्रालयले श्रमिक भर्ना प्रक्रियालाई छरितो बनाउने योजना अगाडि सारेको हो । यसका लागि नयाँ कार्यविधि बनाउनुका साथै स्मार्ट विद्युतीय सेवामा पनि सुधार गरिएको मन्त्रालयको भनाइ छ । नेपालस्थित वैदेशिक रोजगार व्यवसायी संघले कतारले छिटो श्रमिक आपूर्ति गर्न कतार भिसा सेन्टरको सेवालाई पनि चुस्त बनाउन जरुरी रहेको जनाएको छ । ‘कतारले भिसा र कोटा प्रणालीमा मात्रै सुधार गरेर हुँदैन । भिसा सेन्टरमा पनि सुधार गर्नुपर्छ,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, ‘श्रमिकको माग बढी छ । भिसा सेन्टरमा आवेदन दिएको २ महिनापछि मात्रै श्रमिकले पालो पाउँछन् ।’

कतार जाने श्रमिकले औंठा छाप, बायोमेट्रिक, स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाका लागि अनिवार्य भिसा सेन्टरमा जानुपर्छ । भिसा सेन्टरको व्यवस्थापन गर्न सिंगापुरमा दर्ता भएको ‘बायोमेट सर्भिस’ ले ठेक्का पाएको हो । बायोमेटले नेपालको जिम्मेवारी मल्टिभर्स प्रालिलाई दिएको छ । कतारले भिसा सेन्टरलाई काठमाडौंस्थित कतारी दूतावासको अंग बनाएको भने छैन ।

भिसा सेन्टरले दैनिक ५ सय जनालाई मात्रै सेवा दिइरहेको छ । समयमा नै पालो पाउन म्यानपावर व्यवसायीले अनाश्यक शुल्क बुझाउनुपर्ने बाध्यता रहेको आरोप लगाउँदै आएका छन् । कोरोना महामारीको दोस्रो लहरयता कतारमा मासिक ५ हजार जना नेपाली रोजगारीका लागि गइरहेका छन् ।

Published on: 18 February 2022 | Kantipur

Link

Back to list

;