s

कतारमा एकै गाउँका ५ सय

वीरेन्द्र केसी

बाँगी गाविसबाट वैदेशिक रोजगारीका लागि कतार जाने ५ सय जनाभन्दा बढी छन् । बाँगी–कतार सम्पर्क समाजले कतारमा श्रम गर्नेको संख्या ५ सयभन्दा बढी रहेको जनाएको छ ।

मुलकबाटै वैदेशिक रोजगारीमा खाडी मुलुक जानेको संख्या धेरै छ । दिन प्रतिदिन बिदेसिनेको लर्को बढ्दो छ । सदरमुकाम नजिकैको बाँगी गाविसबाट धेरै जसोको गन्तव्य भनेको कतार हो । यसबाहेक अन्य मुलुकमा जाने पनि उत्तिकै छन् । एउटै घरबाट ४/५ जनासम्म खाडी पसेका छन् । ‘स्वदेशमै राम्रो रोजगार छैन,’ रण बीसीले भने, ‘परिवार पाल्न, छोराछोरी पढाउन र घरखर्च चलाउन १० वर्ष भो कतारमै छु । अरू उपाय भएन ।’ देशको अस्थिर राजनीतिले विकास, उद्योगधन्दा र रोजगारीका अवसर नभएको उनको तर्क छ । बाँगी कतार सम्पर्क समाजका अनुसार कतारमा यहाँका ५ सयभन्दा बढी युवा रहेका छन् ।

एसएलसीसम्मको अध्ययनपछि वैदेशिक रोजगारी आकर्षणमा छ । त्यसमा पनि पहिलो रोजाइमा कतार हो । यहाँ महिनामै १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको अनुमान छ । एकजनाले सरदर महिनामा २० हजार रुपैयाँ कमाउँछन् । रेमिट्यान्सले सिंगो गाउँको मुहार फेरिएको छ । विदेशको कमाइबाट घरगोठ जस्तापाताले छाइएका छन् । छोराछोरीले सदरमुकामका महँगा स्कुलमा पढेका छन् । धेरैजसोले सहरमा घर घडेरीसमेत किनेका छन् । 

सुरुमा प्युडाँडाका माधव भुसाल कतार गएको स्थानीय बताउँछन् । त्यसबेला उनले छिमेकी साथीभाइलाई भिसा पठाइदिन थाले । कतार गएकाले आफ्नो दाजुभाइ, इष्टमित्र, छिमेकी, नातेदारलाई भिसा पठाएपछि एउटै देशमा जान सजिलो भयो । हिजोआज विदेश गएकाले पठाएको रेमिट्यान्स घरखर्च, पढाइ, घरघडेरी, लत्ताकपडा र विलासिताका वस्तुमा खर्च हुने गरेको छ । गाउँका धेरैजना कतारमा भएकाले एक्लो महसुस नहुने रोजगारीमा रहेका रामप्रसाद पराजुलीले बताए । ‘कतारमा नेपाली कामदार धेरै छन्,’ उनले भने, ‘त्यसमा पनि बाँगीका सबैभन्दा धेरै छन् ।’ रेमिट्यान्सले सबैको जीवनशैली बदलिएको छ । घरखर्च धान्न ऋण भएका परिवारसमेत कतारको कमाइले धनी भएका छन् । भारतमा नोकरी गर्नेहरू पनि कतारमा धेरै तलब पाइने भएपछि उतै जान थालेका हुन् । आठ/दस वर्ष कतारमा कमाइ गरेर स्वदेशमै पेसा र व्यावसाय गरेर बस्ने युवा पनि छन् । 

युवा बिदेसिन लागेपछि गाउँका खेतबारी बाँझिदै गएका छन् । कतारमा रहेका धेरैले परिवारलाई सदरमुकाममा बसाल्न थालेपछि गाउँमा सुनसान छ । काम गर्ने जनशक्तिको कमी भएको छ । बाँगीका पीताम्बर भुसाल वैदेशिक रोजगारीले जीवनस्तर बदलिएजस्तो देखिए पनि दीर्घकालीन रूपमा फलदायी नहुने बताउँछन् । 

‘देशमा रोजगारी र अवसर नपाइने देखेर एलएलसीपछि विदेश जाने लहर चलेको छ,’ उनले भने, ‘तत्कालको गाँस, बास व्यवस्थापन भए पनि वैदेशिक रोजगारले परनिर्भरता बढाउँदो छ ।’ राज्यले दक्ष जनशक्तिलाई स्वदेशमै राख्न उनले सुझाए । 

यहाँका युवाले बाँगी–कतार सम्पर्क समाज गठन गरेर चन्दा संकलन गरी गाउँको विकासमा पनि सघाएका छन् । प्युडाँडाका पराजुलीले अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानअन्तर्गत सिद्ध मावि भण्डारमा १० वटा कम्प्युटर, प्रिन्टर हस्तान्तरण गरेको बताए ।

Published on: 7 January 2017 | Kantipur

Back to list

;