s

कतारमा दुई युवक बिचल्लीमा

रोजगारीका लागि कतार पुगेका दुई युवा काम नपाउँदा बिचल्लीमा परेका छन् । खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले घर फर्किनसमेत दिएको छैन । 
 
उनीहरू काठमाडौंस्थित ‘प्रोग्रेसिप म्यानपावर’ मार्फत प्रतिव्यक्ति ७५ हजारका दरले रकम बुझाएर कतार पुगेका थिए । टायल मेसिनका लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेसनल कम्पनी पुगेका राईद्वयले खाना खाने रकमसमेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले रोकेको बताए । ‘हाललाई काम नभए पनि केही दिनपछि पुन: काम सुरु हुने भन्दै फर्किन दिएको छैन,’ धनकुमारले बताए ।
 
कम्पनीले काम नगरी बसेको दिनको तलब र खाने–बस्ने सुविधा नदिने जनाएको छ । अहिले बसेको र खाएको रकम काम सुरु भएपछि पाउने तलबबाट कटाउने जनाएको पीडितको गुनासो छ । ऋण लिएर कतार गएका उनीहरूले स्वदेश फर्काइदिन सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन् ।
 
सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्दै आएको दिक्तेलस्थित केन्द्रमा फोन गरी तत्काल नेपाल फर्काउन पहल गरिदिन अनुरोध गरेको परामर्शकर्ता अम्बिका दाहालले बताइन् । अरुण र धनकुमारसँगै उक्त कम्पनी पुगेका नवलपरासीका भमबहादुर मगर, उदयपुरका दीपबहादुर माझी र कैलाली टीकापुरका नन्दसिंह साउदसमेत बिचल्लीमा परेका छन् । रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपिसमेत कामदारहरूसँग नभएको उनीहरूले बताएका छन् ।
 
उद्घार पहलका लागि पिपुल्स फोरमसँगको समन्वयमा सूचना केन्द्रले वैदेशिक रोजगार विभागमा निवेदन दिने परामर्शकर्ता दाहालको भनाइ छ । पिपुल्स फोरमले वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारामा परेकालाई नि:शुल्क कानुनी पैरवीको काम गर्छ ।
 
कामदार प्रोग्रेसिप म्यानपावरमार्फत कतार पुगेका थिए । समस्या समाधान गर्ने भन्दै कतार पुगेका कम्पनी निर्देशक श्याम श्रेष्ठले उल्टै कामदारको पैसा लिएर नेपाल फर्केको पीडितको गुनासो छ । खाना खाने रकमसमेत नभएपछि कम्पनीले खानाका लागि भनेर दिएको पैसा श्रेष्ठ आफंैले लिएर नेपाल फर्केको पीडितले जनाएका छन् ।
 
कामदारका लागि म्यानपावरका निर्देशक श्रेष्ठमार्फत रकम दिँदा उचित हुने ठानेर खानाका लागि ५ सय रियल उपलब्ध गराए पनि बदमासी गरेको कतारस्थित कम्पनीका मुदिर (मालिक) ले बताए । सूचना केन्द्रबाट मुदिरलाई टेलिफोन सम्पर्क गर्दा कामदारलाई खानाका लागि रकम दिएको भए पनि म्यानपावर कम्पनीका निर्देशकले बेइमानी गरेको बताएको परामर्शकर्ता दाहालले जनाइन् ।
 
Published on: 15 January 2018 | Kantipur

Back to list

;