s

कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा

गोपाल साउद

सरकारी बेवास्ताले गैरकानुनी हैसियतमा काम गर्न बाध्य

विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नेपाली कामदार गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् । कतारस्थित नेपाली राजदूतावासले उद्धारमा चासो नदिँदा चार महिनादेखि अलपत्र कामदार कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् ।
 
नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दूतावास रहेको दोहाबाट गाडीमार्फत तीन घन्टाको दूरीमा छ । तर, हालसम्म दूतावासबाट अलपत्र कामदार भेट्न कोही पनि पुगेका छैनन् । तीन साताअघि उनीहरूले दूतावासमै पुगेर आफूहरूको उद्धारका लागि आग्रहसमेत गरेका थिए । तर, अहिलेसम्म पनि कुनै सुनुवाइ नभएको गुनासो उनीहरूको छ ।
 
‘काम नपाएपछि हामीसँग घर जानुको विकल्प थिएन,’ कतारमा अलपत्र परेका रामेछाप सुनापति गाउँपालिका गुन्सी भदौरेका सहदेव गौतमले भने, ‘तर, दूतावासले आफैँ टिकट काटेर घर जानू भन्ने जवाफ दिएपछि खर्च अभावमा घर फर्किन पाएका छैनौँ ।’ गौतम राप्ति प्लेसमेन्टका एजेन्ट जिल्लाकै दोरम्बा गाउँपालिका रिस्ठेका खुपेन्द्र ढुंगेलमार्फत कतार गएका थिए । ‘म्यानपावरमा जाँदा त्यहाँका मान्छेले एजेन्टलाई गएर भन्नू भन्ने जवाफ दिए, गौतमका जेठान केदार चौलागाईंले भने, ‘ढुंगेललाई भन्दा उल्टै धम्की दिन्छन् ।’
 
उनीहरूमा कतारबाट फर्किनुपरे पनि रकम फिर्ता भने नपाउने हो कि भन्ने भय छ । ‘आजाद भिसा’मार्फत आकर्षक तलब पाउने आशामा कतार पुगेका उनीहरूले म्यानपावरमा प्रतिव्यक्ति १ लाख ६५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म बुझाएका थिए । उनीहरूले आइएमईमार्फत म्यानपावरलाई रकम बुझाएको भौचरसमेत सुरक्षित राखेका छन् । बाहिर निस्किँदा पुलिसले समात्ने डरले उनीहरू दुईवटा साँघुरा कोठामा कष्टकर दिन बिताउन बाध्य छन् ।
 
कतारमा ८ जना कामदार अलपत्र परेको दूतावासमार्फत जानकारी प्राप्त भएको विभागका निवर्तमान प्रवक्ता मोहन अधिकारीले बताए । उनले छानबिन प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए । ‘पछिल्लो समय बुझ्दा काममा गएको भन्ने छ,’ उनले भने, ‘कम्पनी नै फरक पारेर श्रम स्वीकृति लिएर गएको शंका लागेको छ, त्यसको छानबिन गर्दै छौँ । पीडितको उद्धारका लागि निवेदन आएको खण्डमा बढीमा १५ दिनभित्र उद्धार गर्छौँ ।’
 
एक हजार रियालसम्म कमिसन
 
कतारको अलओफरामा अलपत्र परेका ६२ जना नेपाली कामदारमध्ये अधिकांशले अहिले विभिन्न कम्पनीमा अवैध रूपमा काम गरिरहेका छन् । इलाइट पेपर रिसाइलिङ  (कार्टुन बनाउने कम्पनी)मा काम लगाइदिने भन्दै कतार पुर्‍याइएका उनीहरूले त्यहाँ  काम पाएनन् ।
 
काम नपाएपछि बाध्य भएर घरबाटै पैसा मगाएर ३ सयदेखि १ हजार रियालसम्म कमिसन दिएर काममा जानुपरेको नयाँ पत्रिकासँग सम्पर्कमा आएका काभ्रेको तिमाल गाउँपालिका मेत्सेका सञ्जीव सिँजाली मगरले बताए । कतारमा रहेका म्यानपावरका एजेन्टले कामका लागि विभिन्न कम्पनीको सम्पर्कमा पुर्‍याउने गरे पनि पछिल्लो समय एजेन्टहरूसमेत सम्पर्कविहीन भएको उनले बताए ।
 
कतारमा रहेका म्यानपावर एजेन्ट चितवनका कृष्णबहादुर लामा सम्पर्कविहीन भएका छन् भने अर्का एजेन्ट आशिष दाहाल नेपाल फर्किएका छन् । कतारमा रहेका एजेन्टले त्यहाँस्थित कम्पनीलाई कमिसन दिन नसक्दा काममा लगाउन नसकेको बताइएको छ ।
 
अलपत्र अधिकांश कामदार स्थानीय दलालहरूमार्फत कमिसन बुझाएर काममा लागेका छन् भने बाँकी केहीले पनि काममा जान पासपोर्टलगायतका ‘डकुमेन्ट’ बुझाइसकेका छन् ।
 
केही अझै उद्धारको पर्खाइमा
 
भोजपुर छिनामखुका प्रकाश पोखरेल गएको २९ कात्तिकमा कतार उडेका थिए । मिडल अर्बिट ओभरसिजमा काम गर्ने निर्मल हुमागाईंको सम्पर्कबाट उनी ‘आजाद भिसा’मार्फत कतार पुगेका हुन् । १ लाख ७५ हजार रुपैयाँ बुझाएका उनलाई खाने तथा बस्ने सुविधासहित न्यूनतम मासिक ३० हजार रुपैयाँ तलब हुने बताइएको थियो । उनलाई इलाइट पेपर रिसाइक्लिङ कम्पनीमा काम लगाइदिने भन्दै म्यानपावरले सम्झौतासमेत गरेको छ ।
 
तर, कतारमा म्यानपावरका एजेन्ट आशिष दाहाल र कृष्ण लामाले उनलाई १५ दिन मुग्लिना भन्ने स्थानमा विनाकाम राखे । पछि कम्पनीमा कोठा नभएको भन्दै ‘पार्ट टाइम’ काम गर्न उनलाई अर्को कम्पनीमा पठाइयो । केहीपछि मैझारस्थित अलअली कम्पनीमा पुर्‍याइएका उनीलगायत केहीलाई करिब डेढ महिना काममा लगाइए पनि विनातलब निकालेको पोखरेलले बताए । २० दिन कुर्दा पनि तलब नपाएपछि आफूहरूलाई अलओफरा भन्ने स्थानमा ल्याएर एजेन्ट बेपत्ता भएको उनको भनाइ छ ।
 
‘आजाद भिसा’ भन्ने नै छैन
 
भुवनप्रसाद आचार्य
महानिर्देशक 
वैदेशिक रोजगार विभाग
 
‘आजाद भिसा’का नाममा विदेशमा गएर स्वतन्त्र रूपमा चाहेको काम गर्न पाउने भन्दै प्रलोभनमा पारेर ठगी भइरहेको सुन्नमा आएको छ । त्यसरी ठगी भइरहेको भन्ने कतारस्थित नेपाली राजदूतावासमार्फत जानकारी आएको छ । तर, कतारका लागि ‘आजाद भिसा’ भन्ने नै छैन । यहाँबाट श्रम स्वीकृति दिँदा पनि त्यस्तो नाममा श्रम स्वीकृति दिने गरिएको छैन । अलपत्र कामदार उद्धारका लागि सम्बन्धित देशको दूतावाससँग समन्वय गर्नुपर्ने हुन्छ । म्यानपावर जिम्मेवार नभएको अवस्थामा अलपत्र कामदारको उद्धार नगर्ने भन्ने हुँदैन । विभागले सम्बन्धित म्यानपावरको धरौटी रकमबाटै भए पनि तत्काल उद्धारको काम अगाडि बढाउँछ । उद्धारकार्यपश्चात् पीडितलाई क्षतिपूर्ति दिने र म्यानपावरलाई कारबाहीको दायरामा ल्याउने काम हुन्छ ।
 
Published on: 25 March 2018 | Naya Patrika

Back to list

;