s

कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो

होम कार्की
 
कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ ।
 
कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र (भिसा) नवीकरण गरेको छैन । पीडितहरूले तलबसहित स्वदेश पठाइदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् । पीडितले स्वदेश पठाइदिन वा अर्को कम्पनीमा काम गर्नका लागि ‘रिलिज’ दिलाइदिन नेपाली दूतावासलाई अनुरोध गरेको छ ।
 
कम्पनीले उनीहरूलाई कतारका विभिन्न मन्त्रालय, प्रहरी, सेना, अदालत, बन्दरगाह, बैंक, निजी क्षेत्रका ठूला कार्यालयलगायत क्षेत्रमा सफाइ मजदुर र कार्यालय सहयोगीका रूपमा काम गर्न पठाउने गरेको थियो । सरकारी निकायमा काम गर्ने भए पनि कम्पनी धराशायीमा गएको वा तलब दिन नसक्नुको स्पष्ट कारणबारे कामदारलाई जानकारी दिएको छैन । ‘कम्पनीमा सुरुदेखि नै समस्या आइरहेको थियो । अधिकांश कामदारको भिसा पनि नवीकरण गर्न सकेको छैन,’ ५ वर्षदेखि काम गर्दै आएकी इलामकी रेणु कार्कीले कान्तिपुरलाई भनिन्, ‘अगस्टदेखि त तलब दिएको छैन । काम पनि दिएको छैन ।’ 
 
काम र तलब नहुँदा पीडित कामदार समस्यामा पर्न थालेका छन् । ‘पुरुष साथीहरू श्रम विभागमा उजुरी हालेको छ । महिला साथीहरू सीधैं दफना अदालतमा उजुरी हालेको छ,’ कार्कीले भनिन्, ‘न्याय दिलाइदिनका लागि हामी नेपाली दूतावास र कतार मानव अधिकार समितिमा पनि पुगिसकेका छौं ।’ पुरुष र महिला कामदारलाई अलगअलग स्थानमा राखिएको छ । महिला कामदारलाई कतारको अबुहम्मर, अलकिसा र एनखालिदस्थित क्याम्म राखिएको छ । नेपाली महिला कामदार राखिएको एउटा क्याम्पमा बिजुली नै काटिदिएको छ । ‘हाम्रो सम्पर्कमा कम्पनीका जिम्मेवार व्यक्ति छैनन् । क्याम्पमा बत्ती छैन । गर्मीमा एसीबिना बस्नुपरेको छ । दिनमा दुई घण्टा जेनेटर चलाइदिन्छ,’ उनले भनिन्, ‘धेरैजसो साथीहरूले घर फिर्न राखेको पैसाबाट नै खानाका लागि आफैं जोहो गरिरहेका छन् । पैसा नहुनेहरूलाई आफन्त, साथीभाइ सहयोग मिलिरहेको छ ।’ 
 
पीडित कामदारले ठूलो समस्या आउनुअघि नै उद्धार गर्न दूतावाससमक्ष अनुरोध गरेका छन् । कतारको श्रम विभागले कम्पनीका सञ्चालक/प्रतिनिधिलाई उपस्थित हुन बोलाउँदा पनि पुगेका छैनन् । दूतावासले आफ्नो सम्पर्कमा आएका कामदारलाई श्रम विभाग पठाएको छ । टिकट जुटाउन सक्ने केही कामदार भने स्वदेश फिर्न थालेका छन् । भिसाको म्याद नभएका कामदार खोज तथा अनुसन्धान केन्द्र (डिपोर्टटेसन सेन्टर) बाट नेपाल आएका छन् । ‘कम्पनी पहिलेको जस्तो अवस्थामा आउने स्थिति देखिएन । त्यहाँ रिलिज लिएर काम गर्न अवस्था पनि देखिनँ,’ नेपाल आइपुगेकी सञ्जु सुन्दासले भनिन्, ‘भिसा नभएकाहरू केहीले आफ्नै खर्चमा सीआईडीमार्फत नेपाल फर्किएका छन् र फर्किने सुरमा छन् । ‘मलाई टिकट सहयोग भएपछि स्वदेश फिर्न सफल भएँ ।’ 
 
आफ्नै खर्चमा फर्किनेहरू आफूले पाउनुपर्ने बाँकी तलब, पाउनुपर्ने अन्य सबै सुविधालाई त्यागेर फर्किएका हुन् । न्यायका लागि कतारको अदालत धाएर अदालतले पीडितको पक्षमा फैसला दिए पनि कम्पनीले फैसला कार्यान्वयन गर्ने क्षमता नभएको भन्दै पीडित कामदारले अर्को कम्पनीमा काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताउँछन् । नेपाली दूतावासका श्रम काउन्सिलर गिरिजा शर्माले पीडितको हितका लागि दूतावासले सक्दो कोसिस गरिरहेको बताइन् । ‘कामदारले समस्या लिएर आउनेबित्तिकै कम्पनीसँग कुराकानी भइरहेको थियो । त्यतिखेर कामदारको समस्या समाधान गर्नका लागि कम्पनी सकारात्मक देखिए पनि हाल सम्पर्कविहीन छन्,’ उनले भनिन्, ‘दूतावासले श्रम विभागसँग समन्वय गर्ने काम भइरहेको छ ।’
 
Published on: 16 October 2017 | Kantipur

Back to list

;