s

कतारमा १२ वर्षदेखि कोमामा, उद्धार गर्न परिवारको आग्रह

 
- पर्वत पोर्तेल, भद्रपुर (झापा)
  समयदेखि कतारको अस्पतालमा कोमामा रहेका झापा भद्रपुरका ३४ वर्षीय श्रीबहादुर नेम्वाङको उद्धार गरिदिन परिवारजनले सरकारसँग आग्रह गरेका छन् । उनी बिदेसिएको करिब १५ वर्ष भइसकेको छ । गएदेखि एकपटक पनि फर्किन पाएनन् । गएको तीन वर्षपछि सडक दुर्घटनामा परे । त्यसयता हालसम्म कोमामै छन् । तत्कालीन महेशपुर १ का नेम्वाङ स्थानीय एजेन्ट धनराज थेवेमार्फत कतार पुगेका थिए । 
 
अल्फोरस्थित सानपोक कम्पनीमा उनले काम थाले । ‘हामीसँग कहिलेकाहीं भेट्दा काम नराम्रो छ भन्थ्यो,’ त्यसबेला कतारमै कार्यरत छिमेकी साजन लिम्बूले भने, ‘पछि भेटघाट पनि भएन, एक्कासि दुर्घटनाको कुरा सुनेर छक्क पर्‍याैं ।’ उनको उद्धारका लागि परिवारले गर्दै आएको प्रयत्न सफल हुन सकेको छैन । ‘उताबाट ल्याउन १०/१५ लाख खर्च हुन्छ रे,’ श्रीबहादुरकी काकाकी छोरी मायाले भनिन् ।
 
 विपन्नताकै कारण उनलाई उद्धार गर्न परिवारले साहस नगरेको हो । सरकारले पनि ध्यान दिएको छैन । ‘एकपटक दाजुको मुख हेर्न पाए हुन्थ्यो,’ बहिनी भावनाले भनिन् । प्रयासहरू निरर्थक हुँदै जाँदा परिवारले पनि माया मार्दै गएको छ । ‘यहाँ ल्याएर कसरी पाल्ने भन्ने चिन्ता पनि छ,’ भावनाले भनिन् । परिवारले उनलाई विदेश पठाउँदा सयकडा ६ रुपैयाँमा झिकेको डेढ लाख ऋण बढेर चार लाख पुगिसक्यो, तिर्न सकेका छैनन् । विदेश गएपछि एकपटक मात्रै पैसा पठाएको भाइ मन्दिरले बताए । ‘बुबा बिरामी भएर ३२ हजार रुपैयाँ पठाएको जस्तो लाग्छ,’ उनले भने । 
 
उनी दुर्घटनामा परेको खबर सुनेपछि चिन्तामा रहेका आमाबाबु दुवै बिते । लेबनान गएकी दिदी मानसिक र शारीरिक यातना पाएर उतैबाट पागल भएर फर्किइन् । नेम्वाङ परिवार ०३० को दशकमै चरम गरिबीबाट बच्न पाँचथरबाट झापा झरेको थियो । महेशपुर र पृथ्वीनगर क्षेत्रमा झोडा फाँडेर बस्ती बसाउनेमध्ये श्रीबहादुरका बाबु पनि पर्छन् । गाउँमा भएको घरजग्गा प्रयोगहीन छ । बिक्री गर्न खोज्दा भएको छैन । मानसिक सन्तुलन गुमाएकी दिदी र भाइ मन्दिर भावनाकै घरमा आश्रित छन् ।
 
Published on: 15 February 2016 | Kantipur

Back to list

;