s

कतारले रोक्यो कामदार, साउदी जाने पनि फर्काइए

यूएईमा दुई नेपाली संक्रमित

जर्मनी, फ्रान्स र स्पेनको अनअराइभल भिसा बन्द

होम कार्की

काठमाडौँ — धनुषाका रितेश मण्डल सोमबार बिहान ८ बजे कतार जान त्रिभुवन विमानस्थल पुगेका थिए । सात वर्षदेखि कतारमा काम गर्दै आइरहेका उनी एकमहिने बिदा सकेर फर्कंदै थिए । तर उनलाई कतार एयरवेजले ‘चेक इन’ दिएन ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश जान सोमबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाली । नोवल कोरोना भाइरस संक्रमणको जोखिमका कारण कतार र साउदी अरबले नेपाललगायत विभिन्न १४ देशका कामदारलाई आफ्नो देश आउन रोक लगाएपछि हजारौं श्रमिक प्रभावित भएका छन् । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

टिकट काउन्टरले हमाद विमानस्थल ट्रान्जिट भएर अन्य मुलुकमा जाने यात्रुको ‘चेक इन’ गरे पनि कतारमै प्रवेश गर्नेलाई भने होल्ड गरिरहेको थियो । नेपालस्थित कतार एयरवेजले दोहाबाट ‘चेक इन’ गर्ने कि नगर्ने भन्दै आदेश पर्खिरहेको थियो । अन्तत: हेडक्वाटरबाट आदेश आयो, ‘अर्को सूचना जारी नभएसम्म कतारमा प्रवेश गर्ने कुनै यात्रुलाई चेक इन नगर्नू ।’ झन्डै आधा सिट खाली गरेर ११:२५ बजे कतार एयरवेज दोहा उड्यो । मण्डल भने उड्न पाएनन् ।

‘मेरो कम्पनीसँग सम्पर्क हुन सकेको छैन, तोकिएको दिन ड्युटीमा हाजिर हुन पाइएन भने जागिर क्यान्सिल हुन्छ, अब के हुन्छ थाहा छैन,’ मण्डलले खिन्नता व्यक्त गरे, ‘सायद कम्पनीले परिस्थिति बुझिदेला कि ? मेरो कमजोरीले उड्न नपाएको होइन ।’ कतारको सूचना कार्यालयले आइतबार राति मात्रै नेपालसहित १५ देशबाट भिजिट, अनअराइभल र कामको भिसामा आउने सबै यात्रुलाई अर्को सूचना नभएसम्म कतार प्रवेशमा रोक लगाएको विज्ञप्ति जारी गरेको थियो । सोमबार बिहान २:१० मा त्रिभुवन विमानस्थलबाट उडेको विमानले पनि कतार जाने यात्रु बोकेको थियो । त्यसपछि दिउँसो ११:२५ बजे र राति ७:४५ बजे उडेको कतार एयरवेजले कतार प्रवेश गर्ने यात्रु बोकेन । राति १० बजेको नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले पनि यात्रु बोकेनन् । सोमबार मात्रै कतार जाने ५ सय जना विमानस्थलबाट फर्काइएका थिए ।

कतारले आइतबार दोहाको मध्यबजारमा रहेको हाइपरमार्केटमा आएका तीन जना आप्रवासी कामदार कोभिड–१९ बाट संक्रमित भएको पुष्टि भएपछि नेपालसहित १४ देशबाट कामदार आउने प्रक्रियालाई स्थगन गरेको छ । दोहास्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेश गर्न रोक लगाएको जनाएको छ । कतार एयरवेजले यसअघि इटालीका लागि सबै उडान बन्द गरिसकेको छ ।

दूतावासले कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थाबाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्न र एकापसमा टेलिफोन वा इमेलमार्फत् मात्रै सम्पर्क गर्न अनुरोध गरेको छ । ‘दूतावासबाट प्रवाह हुने सम्बन्धमा समेत आवश्यक जानकारी लिनुपरेमा भौतिक रूपमा दूतावास आइराख्नुनपर्ने व्यवस्था मिलाइएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा छ ।

कतारले हाइपरमार्केट अस्थायी रूपमा बन्द गराएको छ । ती व्यक्तिको नजिक भएका झन्डै ३ सय जनाको स्वास्थ्य जाँच गरिएको छ । कतारमा संक्रमितको संख्या सोमबारसम्म १८ पुगेको छ । कतारमा झन्डै चार लाख नेपाली छन् ।

साउदी जाने पनि फर्काइए
नेपालीको प्रमुख गन्तव्य रहेको साउदी अरबमा जाने कामदार सोमबार त्रिभुवन विमानस्थलबाट उड्न पाएनन् । फ्लाई दुबई र एयर अरेबियामार्फत् साउदी जाने यात्रुलाई काठमाडौंमा रोकिएको हो । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले झन्डै दुई जनालाई फ्लाई दुबईले फिर्ता गरेको बताए । ‘हामीलाई विमानस्थलभित्र जान दिइएको छैन, दुई घण्टादेखि बाहिर बसिरहेका छौं,’ एयर अरेबियाबाट साउदी जान त्रिभुवन विमानस्थलमा भेटिएका शत्रुघ्न पासवानले कान्तिपुरसँग भने, ‘अब के गर्ने भनेर चिन्तित भएका छौं ।’

यूएईको स्वास्थ्य तथा सुरक्षा मन्त्रालयका अनुसार ५९ जनामा संक्रमण भेटिएको छ । जसमा दुई नेपालीसमेत छन् । सोमबार मात्रै नेपाली कामदारमा संक्रमण देखिएको हो । उनीहरूलाई क्वारेन्टाइनमा राखेर उपचार गरिएको छ ।

साउदीको पूर्वी क्षेत्रको महत्त्वपूर्ण व्यापारिक सहर दम्मामनजिकै कतिफको आवतजावत बन्द गरिएको छ । उक्त क्षेत्रबाट बाहिर गएका बासिन्दालाई भने सहरभित्र आउन दिइएको छ । सो क्षेत्रमा सरकारी कार्यालय, निजी संस्थाहरू, यातायात तथा क्याटरिङलगायतका सेवा बन्द गरिएका छन् । कतिफमा झन्डै एक हजार नेपाली कार्यरत छन् । साउदीमा सोमबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १५ नाघेको छ । हालसम्म नेपालीलाई कोरोनाको संक्रमण देखिएको छैन ।

रियादस्थित नेपाली दूतावासले कतिफ क्षेत्र र वरपर रहेका नेपालीले कोरोना रोगको संक्रमणबाट बच्न सम्भव सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको छ । संक्रमण नियन्त्रणमा अपनाइने सावधानीका क्रममा साउदी सरकारले सोमबारबाटै यूएई, कुवेत, बहराइन, लेबनान, सिरिया, दक्षिण कोरिया, इटाली र इराकको आवागमन बन्द गरेको छ । आवागमन बन्द भएका कारण नेपाली दूतावासले यूएई ट्रान्जिट हुँदै नेपाल पठाउनका लागि सोमबार सबेरै विमानस्थल लगिएका तीन जना नेपाली महिलालाई दूतावासमै फिर्ता ल्याएको छ ।

दूतावासले बिदामा नेपाल जाने, नेपालबाट परिवारका सदस्य ल्याउने वा अन्य यात्रा तय गर्दा सम्पूर्ण कुरालाई विचार गरी यथेष्ट सूचनाका आधारमा मात्र गर्न अनुरोध गरेको छ ।

थप तीन देशका नागरिकलाई अनअराइभल भिसामा रोक

नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रूपमा फैलिँदै गएपछि सरकारले थप तीन देशका नागरिकलाई दिँदै आएको ‘अनअराइभल भिसा’ दिन बन्द गरेको छ । जर्मनी, फ्रान्स र स्पेनका नागरिकलाई प्रवेश बिन्दुमा दिइँदै आएको भिसा मंगलबार (मार्च १०) देखि बन्द गरिएको हो ।

अध्यागमन विभागका अनुसार ती देशका नागरिकलाई अर्को निर्णय नभएसम्मका लागि भिसा दिन रोक लगाइएको छ । छिमेकी देश चीन तथा उसको विशेष प्रशासनिक क्षेत्र हङकङ, जापान, दक्षिण कोरिया, इरान र इटालीका नागरिकलाई फागुन १९ देखि नै अनअराइभल भिसा दिन रोक लगाइसकेको छ ।

अनअराइभल भिसामा रोक लगाएसँगै ती देशका नागरिकले नेपालको भिसा लिन कोभिड–१९ मुक्त स्वास्थ्य जाँचसहितको प्रमाणसँगै आवेदन दिनुपर्नेछ । विदेशस्थित नेपालका दूतावास तथा कूटनीतिक नियोगले त्यस्ता आवेदनकर्तालाई औचित्य र आवश्यकताका आधारमा भिसा दिन सक्नेछन् ।

पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले पर्यटनसँग समन्वयबिनै गृहले निर्णय गर्दा पहिल्यै निर्धारित भ्रमणमा आउन लागेका धेरै व्यक्ति प्रभावित भएको बताए । ‘निश्चित मिति तोकेर रोक लगाउनुपर्नेमा तत्कालै भिसा रोक्दा धेरै जना अप्ठेरोमा परेका छन्,’ उनले भने ।

नेपालले अत्यावश्यकीय बाहेकका काममा आफ्ना नागरिकलाई विदेश नजान भनेको छ । विदेशी नागरिकलाई पनि औचित्य र आवश्यकता हेरेर मात्रै भिसा जारी गर्न अध्यागमन विभागले परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक नियोगहरूलाई पत्राचार गरिसकेको छ । इराक, सुडान, नाइजेरिया, सिरियालगायत १२ देश र शरणार्थीले नेपालको प्रवेश बिन्दुबाट ‘अनअराइभल भिसा’ सुविधा पाउँदैनन् । उनीहरूले नेपाल भ्रमण गर्नुअघि आफ्नो देश वा नजिकमा रहेका कूटनीतिक नियोग तथा दूतावासमार्फत् भिसा लिनुपर्ने व्यवस्था छ ।

Published on: 10 March 2020 | Kantipur

Link

Back to list

;