s

कतारले भन्यो- साउदीमा रहेका गोठाला आधारभूत अधिकारबाट वञ्चित

होम कार्की
 
कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ । 
 
कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको समितिका अध्यक्ष डा. अलिविन समैखा अल मर्रीले बताए । साउदीले जुन ५ गतेबाट कतारसँग कूटनीतिक सम्बन्ध विच्छेदसँगै नाकाबन्दी गरेपछि कतारी नागरिकलाई साउदी जान रोक लगाएको छ । साउदीमा भएका कतारीहरू आफ्नो मुलुक फर्किसकेका छन् । ‘साउदीको कूटनीतिक विच्छेद र नाकाबन्दीपछि साउदीमा रहेका धेरै आप्रवासी कामदार अलपत्र छन्,’ बुधबार कतारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरूलाई कतारमा आउन नदिइएको छैन ।’
 
कतारमा ऊँट र बाख्रा पालन तथा खेतीपाती गर्न ठाउँ निकै कम छ । कतारी नागरिकको साउदीमा खेतीपाती, ऊँट, भेडाबाख्राको गोठ छ जसमा कतार पुगेका कामदारलाई उनीहरूले साउदीमा लिएर जाने गरेका छन् । साउदीले गत साता साउदी र कतारको सीमा आसपास भएका कामदार र ऊँटलाई भने डिपोर्ट गरिदिएको थियो । बोर्डरबाट निकै टाढा र भरुभूमिका भित्री भागहरूमा कार्यरत कामदार भने बिचल्लीमा छन् । ती कामदारलाई खानाको समेत अभाव भएको मुर्रीले जनाए ।
 
साउदीको अल होफुफबाट कतार आएका अर्जुन राईले धेरै नेपाली साउदी मरुभूमिमा अलपत्र परेको बताए । ‘मलाई त मेरो मालिकले साउदी नागरिकको साथ मागेर उद्धार गरे,’ उनले भने, ‘अरू साथी भरुभूमिमा थिए । उनीहरूको पछिल्लो अवस्था थाहा पाउन सकेको छैन ।’ कतारको साहनिया क्षेत्रमा कार्यरत रामशरण कार्कीले आफ्नो सम्पर्कमा रहेका नेपालीहरू साउदीबाट फर्किसकेको बताए । ‘यहाँबाट जति साथी लगिएका थिए, उनीहरू आएका छन्,’ उनले भने ।
 
ती क्षेत्रमा कार्यरत नेपालीको दूतावाससमक्ष सम्पर्क हुन सकेको छैन । कतार र साउदीस्थित नेपाली दूतावासले साउदीको मरुभूमिमा अलपत्र परेका गोठाला र किसान सम्र्पकमा नआएको जनाएको छ । ‘अहिलेसम्म अलपत्र परेर समस्या परेको भनेर सम्पर्कमा कोही आएको छैन,’ साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज 
शर्माले भने । 
 
Published on: 30 June 2017 | Kantipur

Back to list

;