s

कतारको नेपाली दूतावासभित्रै कुटपिट गर्ने समूहलाई कारबाही भएन

काठमाडौँ — कतारस्थित नेपाली दूतावास परिसरभित्र नेपाली समुदायका अगुवामाथि हातपातमा प्रत्यक्ष संलग्न रहेको रामबहादुर हमालको टोलीमाथि कारबाही प्रक्रिया अझै अगाडि बढेको छैन ।

गैरआवासीय नेपाली संघ कतारको महाधिवेशनको तयारीको लागि दूतावासभित्र साउन ८ गते सर्वदलीय बैठक बसिरहेका बेला हमालको नेतृत्वमा गएको टोलीले जनप्रगतिशील मञ्चका अध्यक्ष बृद्धिप्रसाद भण्डारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभात त्रिपाठी र एनआरएनएका तत्कालीन आईसीसी सदस्य शनिकुमार ओलीमाथि कुटपिट भएको थियो । कुटपिटबाट भण्डारीको कानको जाली फुटेको बताइएको छ ।

जनप्रगतिशलीका अध्यक्ष भण्डारीले एनआरएन कतारका तत्कालीन अध्यक्ष मुक्तदा मुसलमान, आईसिसी सदस्य नरेश श्रेष्ठ र अब्दुल रहमानको योजना अनुसार हमालको टोली दूतावासभित्र प्रवेश गरी आफूहरुमाथि योजनाबद्ध रुपमा कुटपिट गरेको उजुरी नेपाली दूतावासमा दिएका छन् । हमालको टोलीले यसअघि पनि पटक पटक नेपाली समुदायको अगुवाहरुलाई पिट्ने, धम्की दिने कार्य गर्दै आइरहेका थिए ।

कतारको प्रहरी स्टेसनमा भाषा अनुवादकको पदमा कार्यरत एक नेपालीको आडमा हमालको टोलीले नेपाली समुदायका अगुवाहरुमाथि अनावश्यक दवाव दिँदै आइरहेका छन् । ‘दूतावासभित्र छलफल भइरहेका बेला तत्कालीन अध्यक्ष मुक्तदा मुसलमानले हमाल टोलीलाई भित्रै प्रवेश गर्न अनुमति दिए । हामीमाथि कुटपिट हुन थालेपछि नरेश श्रेष्ठले दूतावासको सिसी क्यमेरा बन्द गर्न लगाए,’ भण्डारीले भने, ‘कानको जाली फुट्ने गरी योजनाबद्ध रुपमा कुटपिट हुँदा पनि दूतावासले कारबाही गरेन । यसमा राजदूतले निष्पक्ष रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नु भएन । यसमा हामीलाई दु:ख लागेको छ ।’

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले दूतावासभित्र कुटपिट गर्नेहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउन परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् ।

‘एनआरएनका तत्कालीन अध्यक्ष मुक्तदा मुसलमान र नरेश श्रेष्ठ आफैं घटनामा संलग्न भएको सिसी फुटेजमा देखिँदैन । राम हमाल कुटपिटमा संलग्न भएको देखिन्छ,’ उनले भने, ‘दूतावासभित्रै घटना भएकोले यसमा नेपालको कानुन आकर्षित हुने देखिन्छ । यसको लागि आवश्यक निर्देशन दिन परराष्ट्रलाई पत्र पठाइएको छ । उता (सिंहदरबार)बाट आवश्यक निर्देशन आइसकेको छैन ।’

Published on: 8 August 2023 | Kantipur

Link

Back to list

;