s

कतारको नाकाबन्दीले रेमिट्यान्स घट्यो

करिव ८ महिनाअघि कतारमा साउदी अरब लगायतका छिमेकीहरूले लगाएको आर्थिक नाकाबन्दीको असर नेपाली अर्थतन्त्रमा पनि देखिन थालेको छ । कतार जाने नेपाली कामदारको संख्यामा कमी नआए पनि नेपाल आउने रेमिट्यान्स घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कतारमा काम गरीरहेका कामदारहरुले पनि महंगीको मार खप्नु परेको बताएका छन् ।
 
नेपालको कूल राष्ट्रिय उत्पादन जीडीपीमा वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकम (रेमिट्यान्स)को हिस्सा ३३ प्रतिशत रहेको छ । गत वर्ष ६ खर्ब ९५ अर्ब रूपैयाँ रेमिट्यान्स मार्फत नेपाल आएको थियो । हाल कतारमा झण्डै साढे ४ लाख नेपाली वैधानिक रुपमा काम गरिहरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्सका रुपमा ३ खर्ब २२ अर्ब रूपैयाँ मात्र नेपाल आएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले कम  भएको राष्ट्र बैंकले जनाएको छ ।
 
राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार गत वर्ष २०७३÷०७४ को ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा कतार जाने नेपालीको संख्या झण्डै १३ हजारले घटेको छ । गत वर्ष ६ महिनाको अवधिमा ६३ हजार नेपाली कामदार रोजगारीका लागि कतार गएकोमा यो वर्षको सोही अवधिमा ५० हजारभन्दा केही बढी  नेपालीहरु रोजगारीका लागि कतार गएका छन् । यो अवधिमा मलेसिया जाने नेपालीको संख्या करिब ६० हजार रहेको छ । निर्देशक थापाका अनुसार अघिल्ला आर्थिक वर्षसम्म कतारबाट आउने रेमिट्यान्स कूल रेमिट्यान्सको २२ प्रतिशतसम्म हुने गरेकोमा हाल घटेर १५ प्रतिशतमा सीमित भएको छ । केही महिना अघिसम्म मलेसियन रिंगिटमा आएको गिरावट र यमनसँगको लडाइका कारण साउदी अरबमा विगत केही समय यता देखिएको अन्योलले कतार नेपाली कामदारहरूको पहिलो रोजाइको गन्तव्य रहेको थियो ।
 
गत वर्षको जुन ६ तारेखदेखि साउदी अरब, इजिष्ट, बहराइन, यूएई, लिविया, माल्दिभ्स र यमनले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसँगै कतारमा काम गर्ने आप्रवासी कामदारको रोजगारी प्रभावित भएको हो । गत असोज अन्तिम हप्ता कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिव १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको थियो । कतारमा  सबैभन्दा धेरै भारतीय र त्यसपछि नेपाली कामदार रहेका छन् । २०४२÷४३ सालदेखि नै नेपाली कामदार रोजगारीका लागि कतार जान थालेका हुन् ।
 
Published on: 25 February 2018 | Madhyanha

Back to list

;