s

कतारको विकल्प के ?

रुद्र खड्का

नेपाली कामदारका लागि रोजगारीको दोस्रो गन्तव्य बनेको कतारमा देखिएको समस्या समाधान हुनुको साटो दिन प्रतिदिन जटिल बनिरहेको देखिन्छ। ठीक एक महिनाअघि छिमेकी मुलुकले नाकाबन्दी घोषणा गरेको कतार समस्या अन्त्य गर्न कुवेत, टर्कीजस्ता मुलुकले गरिरहेको प्रयासमा अहिलेसम्म समाधानको बिन्दु फेला पर्न सकेको छैन। 

नाकाबन्दी घोषणा गर्ने छिमेकी––साउदी अरेबिया, युएई, बहराइन र इजिप्ट––ले समस्या समाधानका लागि १३ बुँदे सर्त अघि सारेका छन् भने कतारले ती सर्त मान्न नसकिने प्रतिक्रिया जनाइसकेको छ। नाकाबन्दी घोषणा गरेका राष्ट्रहरूले पछिल्लो समयमा दिएको ४८ घन्टे अल्टिमेटम बुधबार सकिँदैछ। अल्टिमेटमको अवधिभित्र कतार ती सर्त मान्न तयार नभए सैनिक कारबाही हुन सक्ने अनुमान गर्नेहरु पनि छन्। 
 
नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराएर अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको कतारमा समस्या सिर्जना भएपछि बजारमा कतारको विकल्प के भन्ने प्रश्नगर्न थालिएको छ। र, कतारमा कार्यरत व्यक्तिका आफन्तले विकल्प खोज्नुपर्ने आवाज उठाउन थालेका छन्। छिमेकी मुलुकहरूको नाकाबन्दीपछि कतार त तनावमा छ नै,त्यसको असर नेपालसम्म परेको छ। सरकारी निकायलाई त्यति चासो नभए पनि कम्तिमा कतारमा कार्यरत व्यक्तिका आफन्त भने बेचैन छन्। रोजीरोटी जुटाउन सक्रियठूलो संख्याका युवा शक्ति कतारमा हुनुले खाडी संकटको असर नेपालसम्म आइपुगेको हो । 
 
अहिले देखिएको कतार समस्याको विकल्प के हुन सक्छ भन्ने एकिन गर्नु अघि एकपटक नेपाली युवा जनशक्तिर कतारको तथ्यगत विश्लेषण गरौं। वैदेशिक रोजगार विभागले कामका लागि बिदेसिने युवायुवतीलाई जारी गर्ने श्रम स्वीकृति लिने मुलुकमध्ये कतार अहिलेसम्म खाडी क्षेत्रमा पहिलो र समग्र गन्तव्य मुलुकमध्ये (एक सय सात देशमा) दोस्रो नम्बरमा छ।
 
विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर कतार जानेको संख्या साढे १२ लाख छ। जुन संख्या नेपाली कामदारको रोजगारीको पहिलो गन्तव्य रहेको मलेसियाभन्दा एक लाखले मात्रै कम हो। त्यस्तै नेपालले प्राप्तगर्ने रेमिटेन्समा पछिल्लो समयमा कतारको योगदान १०–१५ प्रतिशत रहँदै आएको  छ। साढे १२ लाख युवायुवतीले श्रम स्वीकृति लिएकोमा करिब चार लाख कतारमै कार्यरत रहेको सरकारी अधिकारीहरू बताउँछन्। हाल कतारमा रहेको आप्रवासीको संख्यामा नेपाल दोस्रो नम्बरमा रहेको बताइन्छ। कतारमा पहिलो नम्बरमा करिब सात लाख भारतीय नागरिक रहेको अनुमान छ। 
 
वैदेशिक रोजगारीको क्षेत्रमा व्याप्त विकृतिलाई केलाउने हो भने कतारमा तोकिएको पारिश्रमिक र फरक काम पाएको भन्दै गुनासो गर्नेको संख्या कमै देखिन्छ। जसको अर्थ हो–कतारका रोजगारदाता नेपाली कामदारप्रति अनुदार छैनन्। कतारी रोजगारदाताको सकारात्मक रवैयाले गर्दा नै ठूलो संख्याका नेपाली कतार पुगेको पुष्टि हुन्छ।
 
सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न गइरहेकाले अहिले कतारमा रोजगारी अवसर झनै बढेको छ। तर, यही बेला नाकाबन्दीको चेपुवामा परेपछि कतारको अर्थतन्त्र कसरी टिकिरहला धेरैलाई सोच्न बाध्य बनाइरहेको छ। प्राकृतिक ग्यास र इन्धन बिक्री गरेर मनग्ये आम्दानी गर्दै आइरहे पनि खाद्यान्नमा पहुँचको दृष्टिकोणले कतार छिमेकी मुलकमा निर्भर रहँदै आएको छ। यति मात्र नभई खाद्यान्न आयात गर्दा स्थलमार्ग समेत छिमेकी मुलुकको प्रयोग गर्नुपर्छ। कतारले प्रमुख रूपमा स्थलमार्ग प्रयोग गर्ने मुलुक साउदी अरेबिया नै यतिखेर नाकाबन्दीगर्ने राष्ट्रहरूको नेतृत्वकर्ता हो। 
 
नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराएर अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको कतारमा समस्या सिर्जना भएपछि बजारमा कतारको विकल्प के भन्ने प्रश्नगर्न थालिएको छ। र, कतारमा कार्यरत व्यक्तिका आफन्तले विकल्प खोज्नुपर्ने आवाज उठाउन थालेका छन्। 
 
कतिपय विश्लेषकहरू कतार समस्या तुरुन्त समाधान हुन सक्ने सम्भावना कम भएकाले कामदारलाई कसरी सुरक्षित राख्ने भन्नेबारे सरकारले समयमै तयारी गर्नुपर्ने बताउँछन्। सरकारी अधिकारीहरू भने छिमेकी मुलुकहरूले नाकाबन्दी लगाए पनि आत्तिहाल्नु पर्ने अवस्था सिर्जना नभएको दाबी गर्छन्। 
 
‘कतारमा रहेको नेपाली नियोगले दिइरहेको सूचनाकाअनुसार अहिलेसम्म समस्यागम्भीर खाले छैन भन्ने छ,’ वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयकाप्रमुख तेजराज पाण्डे भन्छन्, ‘बजारमा जे जस्ता हल्ला सुनिए पनि यथार्थमा समस्या छैन भन्ने सुनिएकाले अहिले पर्ख र हेरको अवस्थामा छौं।’ 
 
श्रमविज्ञ भने कतार समस्या घट्नुको साटो बढ्दै गएकाले सरकारले तुरुन्तै विकल्प निकाल्नुपर्ने ठान्छन्। कतिपय विज्ञ भने नेपाली युवायुवती लामो समयदेखि खाडी र मलेसियामा मात्र निर्भर रहँदै आएकाले ती मुलुकको साटो नयाँ गन्तव्य खोज्नुपर्ने अवसर अहिलेको समयलाई लिन्छन्।
 
विकल्पहरू
–नयाँ गन्तव्य खोज्नु पर्ने
–खाडी समस्याको गहिराइ पत्ता लगाउनुपर्ने
–कतार र खाडी मुलुकमा रहेका नेपाली नियोगले प्रदानगर्ने सूचनामा मात्र निर्भर नभई कामदार र सम्बन्धित संघ–संस्थासँग समन्वय गर्नुपर्ने 
–समस्याले विकराल रुप लिए कामदारलाई उद्धार गर्ने संयन्त्र कस्तो हुने भन्नेबारे यकिन हुनुपर्ने 
–कतारमा रहेका कामदारका परिवारलाई नियमित रूपमा यथार्थपरक सूचना उपलब्ध गराउनुपर्ने 
 
Published on: 5 July 2017 | Nagarik

Back to list

;