s

कतारको बहुचर्चित हमाद कम्पनीमा १२ सय कामदार अलपत्र

कतारी राजपरिवारको लगानी रहेको भनिएको त्यहाँको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत १ हजार २ सय कामदार काम र तलबविहीन भइ अलपत्र परेका छन् । त्यसमा नेपाली कामदारको संख्या ४ सय २७ रहेको बताइएको छ ।
 
कतारको महत्वपूर्ण भौतिक संरचना निर्माणको ठेक्का लिने उक्त कम्पनीले कामदारलाई ७ महिनाको तलब दिन नसकेपछि आप्रवासी कामदारलाई दैनिक खाना खानसमेत समस्या परेको बताइएको छ । कम्पनीको व्यवस्थापन कामदारसित सम्पर्कविहीन रहेको छ । कतारले कामदारको मासिक तलब उनीहरुको बैंक खातामा पठाउने प्रबन्ध गरेको सार्वजनिक भएको बेला यतिधेरै संख्यामा कामदार समस्यामा परेको समाचार बाहिर आएको हो ।
 
उक्त कम्पनीमा मासिक ९ सय देखि एक हजार रियालसम्म तलब पाउने नेपाली रहेका छन् । तलब नपाई अलपत्र कामदारहरुलाई कतारको सनैया र अल्खोरस्थित क्याम्पमा राखिएको छ । पीडित कामदारले तलब दिलाइ दिनका लागि स्थानीय लेबर कोटसहित नेपाली दूतावास, कतार राष्ट्रिय मानव अधिकार समिति र अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालयमामा उजुरी दिएका छन् ।
 
लेवर कोर्टले पटक–पटक गरी साढे एक महिनाको समय दिँदा पनि समस्याको समाधान नभएको बताइएको छ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार कतारको श्रम मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गर्ने पहल भइरहेको छ ।
 
Published on: 24 April 2018 | Madhyanha

Back to list

;