s

कतारी सेल्टरमा पीडितको चाप

होम कार्की

कतारमा कम्पनीबाट तलब, खानेकुरा नदिई क्याम्पमा बस्नसमेत वञ्चित गरिएका एक महिलासहित ३२ जना एक महिनादेखि नेपाली दूतावासले स्थापना गरेको आपतकालीन सेल्टरमा छन् । कतारको एउटा टे्रडि्रङ एन्ड कन्ट्रक्टिङ कम्पनीमा कार्यरत नेपाली कामदार महिनौंसम्म तलब नपाएर भोकभोकै पार्न थालेपछि  दूतावासको सहरा लिन आएका थिए । उनीहरू टिकट अभावका कारण स्वदेश फिर्न सकेका छैनन् ।

'दूतावासको सेल्टरमा आइपुगेको ३५ दिन पुग्यो,' रुपन्देहीका सारजउदिन सामातले भने, 'एकदमै छिटो घर जान चाहन्छु ।' दूतावासले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट आएको रकमबाट पीडितलाई खाना खुवाएर राखेको छ ।

पीडितहरूले टिकट भए ९ महिनासम्मको तलब छोडेर भए पनि घर फिर्न चाहेको बताएका छन् । कम्पनीमा कार्यरत उनीहरूले आफूहरूलाई कहिले पिट्ने, धम्काउने र हप्तौंदेखि खाना नदिएर समस्यामा परेपछि शरणका लागि दूतावास आउनुपरेको बताए । 'कोठामा सुत्न पनि डर भयो । कति खेर पिट्छ भन्ने भयो,' गोरखाका रणबहादुर आलेले भने, 'तनाव थेग्न नसक्ने भएपछि सबै सामान बोकेर आएका हौं । अब हाम्रो एक मात्र भरोसा दूतावास हो ।'

दूतावासमा बस्नेमा जनकपुरका रामनाथ ठाकुर, सर्लाही मलंगवाका जयकिशोर  राई, नागेन्द्र राई, गणेश राई, धनकुटाका भुवनसिंह राई, खोटाङका लोकबहादुर खड्का, ताप्लेजुङका होमबहादुर गौतम, धनकुटाका गणेश विक, तेह्रथुमका राजु विश्वकर्मा, सिरहाका प्रताम राउत र सिराहका सूर्यनारायण यादवलगायत छन् ।

त्यस्तै गोरखाका आले, झापाका गोरे सुब्बा, तप्लेजुङका केशव थोकर, श्रीमान्सान्वा लिम्बु, झापाका नरेश राई, मोरङका पृथबहादुर लिम्बु, मुन्ना मल्लिक, कैलालीका हस्तवीर पुनमगर, सुनसरीका अमरबहादुर भुजेल, झापाका मंगल हेम्राम, सुनसरीका रमेश विक, महेन्द्रनगरका दीपेन्द्र राई दनुवार, पर्वतका हरिकुमार श्रेष्ठ, रोल्पाका तिलक बुढामगर, झापाका मीनबहादुर अधिकारी, दाङका विकास चौधरी, धनुषाका उपेन्द्र राय, बर्दियाका सञ्जय चौधरी, जनकपुरका मनोज मण्डल, सर्लाहीका देवेन्द्र पासवान र रुपन्देहीका सारजउदिन सामात छन् ।

जनकपुरका रामनाथ ठाकुरले गएको कात्तिकबाट घर जाने प्रक्रिया सफल नभएपछि बाध्य भएर दूतावास आउनुपरेको बताए । 'एक वर्षको तलब नभएपछि मुद्दा लडियो । अहिलेसम्म फैसला भएको छैन,' उनले भने, 'खानै नपाएपछि के गर्नु ?'

सेल्टर बस्ने अधिकांशसँग आईडी छैन । उनीहरूमध्ये सबै जना एउटै कम्पनीका छन् । त्यस कम्पनीका कपिल दूतावास आएर आईडी लगाउन कतारी निकायमा ४० हजार रियाल बुझाइसकेको दाबी गरेका छन् । 'हामीलाई क्याम्पमा पानी मात्रै पिएर बस्नुपर्ने स्थिति आयो,' रोल्पाका तिलक बुढामगरले भने, 'बकलामा कपिलले खाता पनि बन्द गरिदिएछन् ।'

उनीहरूले गएको जनवरीयता तलबसमेत पाएका छैनन् । 'मैलै ९ महिनायता तलब पाएको छैन,' १६ महिनाअघि कतार आएका धरानका रमेश विकले भने, 'तलब नपाएकाले आउन लागेको ऋणसमेत तिर्न सकेको छैन ।'

उनीहरू अधिकांशको कतार बस्ने अनुमति (आईडी) नलगाइदिँदा गैरकानुनी हैसियतमा छन् । आईडी कार्ड नहुँदा आफूहरूमध्ये अगस्टमा दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको उनीहरूले बताए । उनीहरू काठमाडौंस्थित स्काई-वे म्यानजेमेन्ट, टाइगर ओभरसिज र सान इन्टरनेसनललगायतबाट आएका हुन् । सप्लाईमार्फत विभिन्न कम्पनीका निर्माण क्षेत्रमा कार्यरत उनीहरूको तलब ६ सयदेखि ८ सय तोकिएको छ । 'मैले ९० हजार रुपैयाँ तिरेर आएको  थिएँ,' सामातले भने, 'कमाउन आएका मान्छे यता आफैं अलपत्र परियो । उता घरबाट पसलेले खाद्यान्य नदिएको खबर आउँछ, यता आफू अलपत्र परेको छु ।'

नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले पीडितलाई स्वदेश पठाउन सर्च एन्ड फलोअप डिपार्टमेन्ट (सीआईएफडी) सँग समन्वय गरिरहेको बताए । 'मैले सोमबार सीआईएडीका अधिकारीहरूसँग यसबारे छलफल गरिसकेको छु,' उनले भने, 'उनीहरूलाई पठाउन केही समय लाग्ने स्थिति छ ।'

Published on: 16 August 2013 | Kantipur

Back to list

;