s

कतारबाट आउने रेमिट्यान्स उच्च, नेपाली कामदार १७२ मुलुकमा

नेपालमा यस आर्थिक वर्षको पहिलो चार महिनामा कतारबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च देखिएको छ।साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ४ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। जसमा खाडी मुलुकहरुबाट आएकाे रेमिट्यान्सको हिस्सा ५०. ३ प्रतिशत छ।

जसमा कतारको हिस्सा १७. ७ प्रतिशत छ। अर्थात कतारबाट यस अवधिमा ५३ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ। कतारपछि भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्समा भारतको हिस्सा १४. २ प्रतिशत छ।

भारतपछि यूएईबाट आउने रेमिट्यान्स उच्च छ। यूएईबाट चार महिनामा ४० अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। साउदी अरबबाट ३८ अर्ब १५ करोड, मलेसियाबाट २९ अर्ब ६६ करोड, अमेरिकाबाट २५ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपालमा धेरै रेमिट्यान्स पठाउने मुलुकहरुमा जापान, कुवेत, बहराइन र कोरिया ‘टपटेन’भित्रै परेका छन्। जापानबाट चार महिनामा २२ अर्ब ८७ करोड, कुवेतबाट ११ अर्ब ५२ करोड, बहराइनबाट ८ अर्ब ७९ करोड र कोरियाबाट ६ अर्ब १५ करोड रेमिट्यान्स भित्रिएको छ।

अमेरिकाबाट नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने औसत खर्च सबैभन्दा उच्च देखिएको छ। अमेरिकाबाट २ सय डलरसम्म रेमिट्यान्स पठाउँदा पठाइएको रकममा औसत ५. ४ प्रतिशत लागत लाग्ने गरेको छ।

त्यस्तै सोही रकम मलेसियाबाट पठाउँदा औसतमा ३. ४ प्रतिशत, यूएईबाट ४, कतारबाट ४. ३ प्रतिशत र साउदी अरेबियाबाट ४. ६ प्रतिशत लागत लाग्ने गरेको विश्व बैंकको रिपोर्टलाई उदृत गर्दै राष्ट्र बैंकले जनाएको छ।

तर ५ सयसम्म अमेरिकी डलर पठाउँदा लाग्ने लागत सोभन्दा केही कमी हुने गरेको छ। अमेरिकाबाट ५ सय डलरसम्म रेमिट्यान्स पठाउँदा सो रकमको औसत ३. ९ प्रतिशत लागत लाग्ने गरेको छ।

तथ्यांकअनुसार अनुसार हाल संस्थागत रुपमा वैदेशिक रोजगारका लागि ११० देशहरु खुल्ला गरिएको छ। भने ८ देशसँग द्विपक्षीय श्रम सम्झौता भएको छ।

व्यक्तिगत स्वीकृतिमा भने १७२ मुलुकमा नेपालीहरु कामका लागि गएको पाइएको राष्ट्र बैंकले जनाएको छ। तथ्यांकअनुसार रोजगारीका लागि जाने नेपालीमध्ये खाडी मुलुकहरुमा मात्रै ७५ प्रतिशत छन्।

चार महिनामा विदेश जाने नेपाली कामदारको सबैभन्दा ठूलो हिस्सा भने यूएईमा छ। चार महिनामा यूएईमा २६ हजार १०२ नेपाली कामदार पुगेका छन्।

त्यस्तै साउदी अरेबियामा १५ हजार ५९३, कतारमा १२ हजार २७४, मलेसियामा ९ हजार ९९३ र कुवेतमा ३ हजार ८५० नेपाली पुगेका छन्।गत आर्थिक वर्ष कतारमा जाने नेपाली सबैभन्दा उच्च थिए। सो आवमा ७५ हजार नेपाली कामदार कतार पुगेका छन्।

Published on: 28 January 2020 | Setopati

Link

Back to list

;