s

कतार भिसा सेन्टरलाई अनुमति

होम कार्की

परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टर (क्यूबीसी) स्थापना गर्न अनुमति दिएको छ । सेन्टरबाट कतारमा काम गर्न जाने नेपाली कामदारको औंठा छाप, बायोमेट्रिक, स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाको काम हुनेछ ।

अब यी प्रक्रिया नेपालमा पूरा भएपछि मात्रै नेपाली कामदार कतार जान पाउनेछन् ।  कतारले ‘भिसा सेन्टरबाट सेवा दिएबापतको शुल्क रोजगारदाताले व्यहोर्ने र नेपाली कामदारले कुनै शुल्क तिर्न नपर्ने’ पत्र पठाएपछि अनुमति दिइएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । कतारले गत नोभेम्बर महिनादेखि नै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने तयारी गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा सेन्टरलाई श्रम सम्झौताको एउटा अंग बनाउनुपर्ने र नेपाली कामदारले कुनै बहानामा शुल्क बुझाउनुनपर्ने ग्यारेन्टी खोजेपछि लम्बिएको हो ।

‘शुल्क तथा लागत रोजगारदाताले नै व्यहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्थाको प्रत्याभूति हुन आवश्यक छ । यी व्यवस्थाको सुनिश्चित हुने गरी भिसा सेन्टरसम्बन्धी आवश्यक निर्णय प्रचलित कानुनबमोजिम साधिकार निकाय (परराष्ट्र) बाट नै हुन उपयुक्त हने,’ भन्दै वैशाख २९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निर्णय गरेका थिए । कूटनीतिक निकायले विश्वस्त दिलाएपछि पराराष्ट्रले अनुमति दिइएको जनाएको छ । ‘कतारले एक पैसा कामदारको खल्तीबाट हाल्नुपर्दैन भन्ने पत्र पठाइसकेको छ ।

हामीले कूटनीतिक निकायलाई विश्वासमा लिनुपर्छ,’ परराष्ट्रको एक अधिकारीले भने । सेन्टरको औपचारिक उद्घाटन बुधबार हुँदै छ । यसको कार्यालय चक्रपथमा स्थापना गरिएको छ । कतारले प्रमुख रूपमा कामदार आपूर्ति गर्ने श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानमा भिसा सेन्टर स्थापना गरी सेवा दिन थालेको छ । ती देशमा खोलिएको भिसा सेन्टरको व्यवस्थापन गर्ने ठेक्का पाएको निजीस्तरको सेवा प्रदायकबाट कामदारसँग लाउन्ज फी भने लिइरहेका छन् । कतार भिसा सेन्टरकै वेबसाइटमा उल्लेख भएअनुसार बायोमेट्र्रिक भिसा शुल्क १३७ डलर कामदारले तिर्नु नपर्ने उल्लेख छ ।

तर ‘लाउन्ज’ शुल्क भने स्थानीयस्तरमा सेन्टर सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीले लिने उल्लेख छ । लाउन्ज फीबापत भारतमा २५ सय भारु, बंगलादेशमा २९ सय टाका, श्रीलंकामा ६ हजार एलकेआर, पाकिस्तानको इस्लामवादमा ४८ सय ४० र कराचीमा ४७ सय १५ पाकिस्तानी रुपैयाँ लिइने गरेको छ । भिसा सेन्टरको व्यवस्थापन गर्नका लागि सिंगापुरमा दर्ता भएको ‘बायोमेट सर्भिस’ ले ठेक्का पाएको हो । बायोमेटले नेपालको जिम्मेवारी मल्टिभर्स प्रालिलाई दिएको छ । कतारले भिसा सेन्टरलाई काठमाडौंस्थित कतारी दूतावासको अंग बनाएको छैन ।

कतारले भिसा सेन्टरबाट कतार जान खोज्ने कामदारलाई नै बढी फाइदा पुग्ने दाबी गरेको छ । ‘रोजगारदाताले गरेको अफर स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्नेमा कामदार निर्णय लिन स्वतन्त्र हुन्छ । कामदारले कतारी श्रम कानुनबमोजिम तयार भएको गुणस्तर करारपत्र हातमै पाउने सुविधा छ । करारपत्र श्रम विभागमा प्रवेश भइसकेको हुँदा म्यानपावर वा तेस्रो पक्षले परिवर्तन गर्न सक्तैन,’ कतारले भनेको छ, ‘कुनै पक्षबाट कामदारमाथि हुने सम्भावित शोषणको अन्त्य हुनेछ ।’ कामदारले भिसा शुल्क र सेवा शुल्क बुझाउन नपर्ने, रोजगारदाताबाटै स्वास्थ्य परीक्षण शुल्क, बायोमेट्रिक, विद्युतीय करारपत्र हस्ताक्षर र समय बुकिङको शुल्क सबै व्यहोर्ने कतारको लिखित भनाइ छ । गन्तव्य देशमा मेडिकल फेल भएर फर्किनुपर्ने अवस्थाबाट कामदार मुक्त हुने, एकैद्वारबाट भिसासम्बन्धी सबै प्रक्रिया पूरा हुने र कामदार कतार पुगेकै दिनबाट कानुनी हैसियतमा प्रमाणित करारपत्र बोकेर काम गर्न पाइने कतारी पक्षको भनाइ छ ।

Published on: 29 May 2019 | Kantipur

Back to list

;