s

कतार सरकारद्वारा कामदारलाई करोडौं क्षतिपूर्ति दिने घोषणा

कतारले सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाल लगायतका भौतिक संरचना निर्माणमा कार्यरत नेपालीसहित विदेशी कामदारलाई क्षतिपूर्ति दिने भएको छ ।
 
विश्वकपका लागि रंगशाला बनाउने काममा नेपाल, बंगलादेश लगायतका देशबाट गएका हजारौं कामदार संलग्न रहेका छन् । यी कामदारहरु ठूलो रकम तिरेर त्यहाँ पुग्दा र शोषणमा परेको भन्दै पश्चिमा मुलुकका मानवअधिकारवादी संस्थाहरुले आवाज उठाएपछि कतारले विदेशी कामदारलाई क्षतिपूर्ति दिने घोषणा गरेको हो ।
 
कतार वल्र्डकप आयोजक समितिले विदेशी कामदारले करिव ५० लाख डलर (झण्डै ५२ करोड रुपैयाँ) क्षतिपूर्तिस्वरुप पाउने घोषणा गरेको विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीलाई उद्धृत गर्दै एपीले जनाएको छ । आगामी दुई वर्षभित्र करिव १ अर्ब २० करोड कतारी रियाल अर्थात् झण्डै ५२ करोड डलर आप्रवासी कामदारलाई क्षतिपूर्ति स्वरुप दिइने कतारले जनाएको छ ।
 
खासगरी कामदार कतार आउने क्रममा म्यानपावर कम्पनीलाई तिरेको रकम फिर्ता गर्ने मनसायले आयोजकले यस्तो कदम चालेको बताइएको छ । विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले भने, ‘आफ्नो परिवारको हातमुख जोड्न देश छाडेर आएका कामदारहरु पीडित भएका छन्, उनीहरुलाई हामी क्षतिपूर्ति दिन्छौं ।’
 
आयोजक कमिटी र ठेकेदारले कामदारलाई क्षतिपूर्ति दिने प्रकृया थाल्न सहमति गरेको उनले बताए । यसरी क्षतिपूर्ति पाउनेमा ठूलो संख्या नेपाली कामदारको हुनेछ । विश्वकप आयोजनाका लागि भौतिक संरचना निर्माणमा सबैभन्दा धेरै नेपाली कामदारहरुको प्रयोग भइरहेको जनाइएको छ ।
 
Published on: 4 April 2018 | Madhyanha

Back to list

;