s

कतार समस्याप्रति सरकारी बेवास्ता

रुद्र खड्का
 
छिमेकी मुलुकहरूले नाकाबन्दी लगाएको तीन साता बित्नै लाग्दा पनि नेपाल सरकारले कतारको समस्याप्रति बेवास्ता गरिरहेको गुनासो बढेको छ। 
 
खाडी मुलुकमध्ये पहिलो गन्तव्यको रूपमा रहेको कतारमा ठूलो संख्याका नेपाली रहँदारहँदै पनि नेपाल सरकारले बेवास्ता गर्दै जाने हो भने रोजगारीका लागि कतार पुगेका कामदार समस्यामा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको हो।
 
कतिपय अर्थविदले कतारको समस्या तुरुन्त समाधान हुने खालको नभएकाले सरकारले कतारमा कामदार पठाउन बन्द गर्नुपर्ने बताउन थालेका छन्। अर्थविदहरूले अघिल्लो वर्ष छिमेकी मुलुक भारतले नाकाबन्दी लगाउँदा नेपालको अर्थतन्त्र धराशयी भए जस्तै कतारको हालत पनि त्यस्तै हुन सक्ने आँकलन गरिरहेका छन्। कतारस्थित मिसनमा लामो समय उपप्रमुखको जिम्मेवारी पूरा गरिसकेका जयबहादुर राई कतार संकटलाई सामान्य आँखाले हेर्न नहुुने बताउँछन्।
 
छिमेकी मुलुकले नाकाबन्दी लगाएका कारण धेरैले कतारमा देखिएको समस्याले गम्भीर रुप लिन सक्ने अुनमान गरे पनि सरकारी अधिकारी भने समस्या 'आत्तिहाल्नु' पर्ने खालको नभएको दाबी गर्छन्। हाल श्रम विज्ञको रूपमा कार्यरत राई कतारमा ठूलो संख्यामा नेपाली कार्यरत रहेकाले आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर योजना बनाउन ढिलो गर्न नहुने बताउँछन्। 'अहिले अरुका कुरा सुनेर दृष्टिकोण बनाउने बेला होइन,' राईले भने, 'कतार संकटको भित्री कारण खोतलेर नागरिकलाई सुरक्षित राख्न ढिलाइ गर्नु हुँदैन।'
 
अर्का श्रमविज्ञ सोम लुइँटेल कतार समस्यालाई सामान्य रूपमा लिँदै जाँदा एकैचोटि आउने समस्या समाधान गर्न नेपालको सामर्थ्य के कस्तो छ भन्नेबारे सोच्नुपर्ने बताउँछन्। 'कतारमा रहेकाहरूले समस्यालाई सामान्य रूपमा व्याख्या गर्ने गरे पनि समस्या परिहाल्यो भने त्यसलाई समाधान गर्ने सामर्थ्य कस्तो अवस्थामा छ भनेर सरकारले अहिलेदेखि नै सोच्नु आवश्यक छ,' उनले भने। औपचारिक रूपमा नाकाबन्दीपछि रोजगारीका लागि कतार पुगेका कुनै पनि नागरिक समस्यामा परेको खबर प्राप्त नभए पनि त्यहाँ कार्यरत अधिकांश कामदार मनोवैज्ञानिक त्रासमा रहेको पाइएको छ।
 
'अहिलेसम्म कोही पनि नेपाली समस्यामा परेको खबर प्राप्त भएको छैन,' अबुधाबीस्थित एक भवनको काममा जुटेका बाराका मोहम्मद आरिफले फोनमा नागरिकसँग भने, 'तर अधिकांश आप्रवासी जुनसुकै बेला समस्यामा पर्न सक्ने भन्दै मनोवैज्ञनिक त्रासमा छन्।' रोजगारीका लागि कतार पुगेका केही व्यक्तिले घर फर्कन खोजे पनि कतारी अधिकारी र नेपाली नियोगमा कार्यरत कर्मचारीले आत्तिनुपर्ने अवस्था नभएको बताउँदा धेरैले घर फर्कने आँट नगरेको उनले बताए।
 
प्रचुर मात्रामा प्राकृतिक ग्यास बिक्री गरेर विश्वमै सर्वाधिक धनी राष्ट्र बने पनि खाद्यान्न उत्पादनका दृष्टिकोणले कतार परनिर्भर छ। कतारमा बसोबास गर्ने करिब २६ लाख जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने मुख्य नाका साउदी अरेबियाको हो।
 
यतिखेर साउदी अरेबियाको नेतृत्वमा कतारमाथि नाकाबन्दी गरिरहेको हो। सन् २०२२ मा कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न गइरहेका कारण रोजगारीका लागि कतारमा ठूलो संख्याका कामदार पुगेका छन्। हालसम्म रोजगारीका लागि करिब साढे १२ लाख नेपाली कतार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। जसमध्ये यतिखेर करिब चार लाख कतारमा रहेको अनुमान छ। वैदेशिक रोजगार विभागले रोजगारीमा विदेश जानेको रेकर्ड राख्ने तर फर्कंनेको विवरण नराख्ने गरेका कारण एकिन तथ्यांकको टुंगो लाग्न नसकेको हो। नेपाली युवायुवतीका लागि कतार खाडी मुलुकमा पहिलो हो भने मलेसियापछि दोस्रो हो।  हालसम्म मलेसिया जान भने करिब साढे १३ लाखले श्रम स्वीकृति लिएका छन्।
 
कतिपय अर्थविदले कतारको समस्या तुरुन्त समाधान हुने खालको नभएकाले सरकारले कतारमा कामदार पठाउन बन्द गर्नुपर्ने समेत बताउन थालेका छन्। तर, सरकारी अधिकारी कतारमा कामदार पठाउन रोक लगाउने या नलगाउने भन्नेमा निष्कर्षमा पुग्न सकेका छैनन्।
 
कामदारलाई श्रम स्वीकृति जारी गर्ने विभागको काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डे कतारस्थित नियोगबाट आत्तिनुपर्ने अवस्था नरहेको खबर प्राप्त भइरहेकाले श्रम स्वीकृति प्रदान गर्ने क्रम जारी रहेको बताउँछन्। 'कतारमा ठूलो समस्या सिर्जना भयो भने करिब चार लाख व्यक्तिलाई उद्धार गर्न गाह्रो पर्ने सम्भावना देखिए पनि उताबाट (कतार) आत्तिनुपर्ने अवस्था छैन भन्ने खबर पाएकाले श्रम स्वीकृति दिने काम जारी राखेका हौं,' उनले भने।
 
पाण्डेका अनुसार कतारमा समस्या सिर्जना भएपछि रोजगारीका लागि उक्त मुलुक जानेको संख्या भने ४० प्रतिशतले घटेको छ। कतारमा समस्या आउनुअघि दैनिक तीनदेखि चार सय कामदार जाने गरेकोमा तीन सातायता दैनिक दुईदेखि तीन सयका दरले जाने गरेको उनले बताए।
 
आइतबार दुई सय ५४ जनाले कतारका लागि अन्तिम स्वीकृति लिए। सोही दिन पूर्वस्वीकृति भने दुई हजार एक सय ५० ले लिए। चार छिमेकी मुलुकले जुन ५ मा लगाएको कतारमाथिको नाकाबन्दीलाई यतिखेर ११ मुलुकले समर्थन गरिसकेका छन्। टर्की र इरानले खुलेर कतारको समर्थन गर्नुको साथै आवश्यक खाद्यान्न आपूर्तिमा सहयोग गरिरहेका छन्।
 
विभागको टोली कतार जाने
कतार समस्या जारी रहेपछि विभागका अधिकारी वास्तविकता जान्न कतार जाने भएको छ। आउने शनिबार जाने टोलीको नेतृत्व पाण्डेले गर्नेछन्। 'मेरो टोलीमा अर्थ मन्त्रालय र कतारस्थित दूतावासका कर्मचारी रहनेछन्,' उनले भने। कतार जाने कामदारलाई श्रम स्वीकृति जारी राख्ने या बन्द गर्ने लगायत कतारमा रहेका नेपालीको उद्धार आवश्यक भए/नभएबारे पनि उक्त टोलीले अध्ययन गर्ने बताइएको छ।
 
Published on: 26 June 2017 | Nagarik

Back to list

;