s

‘कतार समस्या वार्ताबाटै समाधान होस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले खाडीमा पछिल्लो समय देखा परेको समस्याको समाधान शान्तिपूर्ण वार्ताबाट हुनुपर्ने बताएका छन् । छिमेकीहरूबाट आर्थिक नाकाबन्दी खेपिरहेको कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलसँग देउवाले यस्तो बताएको उनका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले बताए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा खाडीमा देखापरेको समस्या र त्यसको समाधानलगायत विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री देउवाले कतारमा रहेका झन्डै चार लाख नेपाली कामदारको सुरक्षा र हितबारे पनि चासो राखेका थिए । राजदूत हलले कतारको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै समाधानको पक्षमा कतार रहेको बताए । ‘कतारमा रहेका नेपाली लगायत कसैलाई पनि समस्या छैन । कतार सरकार नागरिकका लागि प्रतिबद्ध रहेर काम गरिरहेको छ,’ उनले भने । 

उपप्रधानमन्त्रीलाई भेटे आवासीय प्रतिनिधिले 

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक/प्रतिनिधि भलेरी जुलियन्डले भेट गरेकी छन् । राष्ट्रसंघीय उच्च स्रोतका अनुसार उनी द्वन्द्वकालीन मुद्दाहरूको विषयमा छलफल गर्न परराष्ट्र पुगेकी हुन् । उनले बेपत्ता नागरिक र पीडितलाई न्याय दिने विषयमा परराष्ट्रमन्त्रीसमक्ष चासो व्यक्त गरेको राष्ट्रसंघीय अधिकारीले बताए । उनले आफ्नो राजनीतिक मामिला उपमहासचिवको नेपाल भ्रमणबारे समेत छलफल गरेको बताइएको छ । पछिल्लो समय राष्ट्रसंघको गतिविधिलाई सरकारले नजिकबाट नियालिरहेको अवस्थामा यो भेटवार्ता भएको हो ।

परराष्ट्र मन्त्रालयले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भएको जानकारी दिएको छ । संविधान कार्यान्वयनका क्रममा दुई चरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको विषय सुनाउँदै तेस्रो चरण तथा प्रदेश र केन्द्रीय निर्वाचन पनि शान्तिपूर्ण तवरले सम्पन्न हुने उपप्रधानमन्त्री महराले उनलाई आश्वस्त तुल्याएका थिए । संयोजक जुलियन्डले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सुमधुर सम्बन्ध आगामी दिनमा अझ विस्तार भएर जाने बताउँदै नेपालमा सम्पन्न निर्वाचनप्रति खुसी व्यक्त गरेकी थिइन् ।

मदरसालाई साढे आठ लाख 
कतारको नासर अल अलि इन्टरप्राइजेजका अध्यक्ष नासर अली अल अलीले सिरहाको मदरसालाई ३० हजार रियाल (करिब ८ लाख ५० हजार रुपैयाँ) सहयोग गरेका छन् । 

अलीले मदरसाका प्रधानाध्यापक रजाक सम्सुल उलोमीलाई कतारमा रकम हस्तान्तरण गरे । उनले आफ्नो कम्पनीमा कार्यरत नेपाली कामदारबाट सिरहामा रहेको मदरसाको अवस्थाको विषयमा जानकारी पाएका थिए । अली मदरसा हेर्न सिरहा नै आउने जानकारी मदरसा व्यवस्थापन समितिका सदस्य इन्जिनियर मोहमद रेजाले दिए । यसअघि समेत अलीले मदरसालाई ९ लाख रुपैयाँ सहयोग गरेका थिए । 

Published on: 20 July 2017 | Kantipur

Back to list

;